खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल निर्माणको क्रममा श्रम गरेका कामदारहरुले वर्षौ वित्दा पनि ज्याला नपाएको गुनासो गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोला (दोश्रो) पुल निर्माणकाक्रममा २०७२ सालमा श्रम गरेका कामदारले हालसम्म पारिश्रमिक नपाएको गुनासो गरेका हुन्। पुल निर्माणकाक्रममा मिस्त्री, गिटी कुट्ने, वालुवा ओसार्ने लगायतका मजदुरीका काम गरेका ३० जनाभन्दा बढी कामदारले तीन वर्ष वित्दा समेत पूर्ण पारिश्रमिक नपाएको बताएका छन्।
पुल सञ्चालनमा आइसक्दा पनि निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिले कामको ज्यालाको हिसाव किताव चुक्ता नगरेको साकेला गाउँपालिका–५ मात्तिमकी कामदार चन्द्रकला राईले बताइन्। ‘ठेकेदारले अझै दुई गाडी र ३२ टिन गिटी कुटेको पैसा पाएको छैन,’ राईले भनिन्, ‘श्रीमान भर्तमानले पनि मिस्त्री काम गरे वापतको तीन महिनाको ज्याला पाउन बाँकी छ।’
निर्माण कम्पनी गजुरमुखी÷हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिले पुल निर्माणको काम अलपत्र छाडेर ज्याला नै नदिइ हिँडेपछि आफ्नो श्रम शोषण भएको कामदारको भनाई छ। पुल निर्माणकाक्रममा तीन महिना गिटी र बालुवा ओसार्ने काम गरेवापतको पारिश्रमिक अझै नपाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका जगत राईले बताए। आफ्नै गाउँमा रोजगार पाउँदा उत्साहित हुँदै मिस्त्री, गिटी, ढुंगा र बालुवाको काम गरेका कामदारले पुल सञ्चालनमा आउँदासम्म पनि ज्याला नपाएको साकेला गाउँपालिका–५ मात्तिमका तिलबहादुर राईले असन्तुष्टी पोखे।
कामको दाम नपाएको बिरोधमा कामदारले भदौ ११ गतेको पुल उद्घाटनको कार्यक्रममा अवरोध नै गर्ने तयारी गरेका थिए। तर, स्थानीय जनप्रतिनिधिबाट पारिश्रमिक दिलाउने आश्वसन पाएपछि उनीहरु पछि हटेका थिए। ठेकेदारले पशलमा खाना, खाजा खाएको एक लाख ७० हजार बक्यौंता हालसम्म नपाएको निर्माणस्थलमा व्यवसाय गर्दैआएका मात्तिमका रामचन्द्र राईले बताए।
पुल निर्माणकाक्रममा लफ्याङ, मात्तिम लगायतका स्थानीयले गिटी कुट्ने, बालुवा ओसार्ने, मिस्त्री लगायतका काम गरेका थिए। कतिपय विद्यार्थी पनि विद्यालय छाडेर गिटी कुट्न साप्सु खोला पुगेका थिए। ठेकेदारकै कारण कतिपय कामदारले कुटेको गिटी टिनमा भर्ने र हिसाव गर्ने काम नभएको कामदारको गुनासो छ। म्याद गुज्रेको १५ महिना बित्दा समेत पहिलो निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको पहिलो प्रतिनिधिले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि २०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो।
बस्नेतले कामको जिम्मा लिए यताको पारिश्रमिक पाए पनि सोभन्दा अघिको पारिश्रमिक नपाएको कामदारको गुनासो छ। साकेला गाउँपालिकाका अध्यक्ष खड्काले पुल निर्माणकाक्रममा ज्याला पाउन बाँकी कामदारलाई ज्याला दिलाइने बताए। ‘ज्याला नपाएका वास्तविक कामदारलाई ठेकेदारबाट भुक्तानी दिलाउने छौँ,’ अध्यक्ष खड्काले भने, ‘तर, ठेकेदारबाट कसले कति पैसा पाए, कति पाउन बाँकी छ, त्यसको स्पष्ट हिसाव गरेर मात्र ज्याला दिलाइने छ। विना आधार पैसा दावी गरेर मात्र हुँदैन।’
१८ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल बैसाख १७ गते सम्झौता गरिएको पुल नेपाल सरकार स्थानीय पुर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड ३० लाख ३६ हजारको खर्चमा तयार भएको हो। दिक्तेल–खोटाङबजार सडक खण्ड अन्तरगत पर्ने साप्सु खोलामा २०७३ मंसिर २२ गते शिलान्यास गरिएको पुलको म्याद २०७४ साल कार्तिकमै गुज्रिएको थियो।
प्रकाशित: ३१ भाद्र २०७६ ११:२८ मंगलबार