काठमाडौ – समाजवादी पार्टीले संविधान जारी भएको दिन असोज ३ गते खुशीयालीको रूपमा दिपावली वा विरोधका रूपमा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी पनि नहुने निर्णय गरेको छ।
पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख प्रशान्त सिंहले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त दिन सातवटै प्रदेशका राजधानीमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तक्र्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ। समाजवादी पार्टीले नेतृत्व गरेको सरकारको भने असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको छ।
संविधान जारी भएको दिन असोज ३ मा संविधान दिवस मनाउने निर्णय गरिएको प्रदेश २ सरकारका आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले भने। उनले भने, ‘हामीले असोज ३ मा संविधान दिवसका रूपमा संघीयता दिवस मनाउने निर्णय गरेको छौं। संविधान दिवसमा सहभागी हुन सबैलाई आह्वान गर्छु।’ असोज ३ लाई संविधान दिवस मनाउने निर्णय गरे पनि संविधान संशोधनको अजेन्डा पार्टीले नछाडको उनले बताए। संविधानका केही सकारात्मक पक्ष पनि भएको बताउँदै उनले भने, ‘संविधानका केही सकारात्मक पक्ष पनि छन्। संविधानले संघीयता र गणतन्त्रको सुनिश्चिता गरेको छ।’ पोहर सालदेखि समाजवादी पार्टी संविधान दिवसको दिन मौन बस्ने निर्णय गरेको हो।
राष्ट्रिय जनता पार्टी नेपालले भने असोज ३ मा कालो दिन मनाउने भनी निर्णय गरिएको महासचिव केशव झाले जानकारी गराए। उनले भने, ‘हामीले अघिल्ला वर्षमा झैं यस वर्ष पनि संविधान जारी भएको भनिएको दिन असोज ३ गते कालो दिवसका रूपमा मनाउने निर्णय गरेको हौ’। संविधान संशोधन नभएसम्म ३मा कालो दिन मनाउने उनले घोषणा गरे। राजपाले सोमबार विज्ञप्ति निकाल्दै कालो दिवस मनाउन पार्टीका विभिन्न केन्द्रीय नेतालाई विभिन्न ठाउँमा खटाएको छ।
प्रकाशित: ३१ भाद्र २०७६ ०३:२३ मंगलबार