५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

महानगरमा डेंगीको जोखिम बढ्दै

चितवन - भरतपुर महानगरमा डेंगीको संक्रमण संख्या बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा ६ हजार ९३ जना बिरामीले डेंगी परीक्षण गराएका छन्। जसमध्ये १ हजार ८ सय ५७ जनामा डेंगी संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।

संक्रमितमध्ये १ हजार ४ सय ९५ जना चितवनवासी रहेका छन्। नवलपरासीका २ सय ३ जना, मकवानपुरका ४१ र अरू जिल्लाका १ सय १८ जना रहेको तथ्यांक छ। चितवनका १ हजार ४ सय ९५ जना संक्रमितमध्ये १ हजार ३ सय ३३ जना भरतपुर महानगरपालिकाभित्रका बासिन्दा रहेका छन्। यसबाहेक रत्ननगर नगरपालिकाका ७३, खैरहनीका २०, राप्तीका ११, कालिकाका २१, माडीका २५ र इच्छाकामना गाउँपालिकाका १२ जना रहेको कन्ट्रोल निरीक्षक केसीले बताए। यो तथ्यांक डेंगीको संक्रमण सुरु भएको साउनदेखि भदौ २८ गतेसम्मको हो। जिल्लामा यस वर्ष साउन पहिलो सातादेखि नै डेंगी संक्रमण देखिएको थियो। तथ्यांकले भरतपुर महानगरपालिकामा डेंगीको जोखिम बढेको देखाउँछ।

भरतपुर महानगरका प्रमुख बजार क्षेत्र रहेका वडा नम्बर १, २, ३, ४, १०, ११ र १२ मा डेंगीको संक्रमण अत्यधिक रहेको पाइन्छ । डेंगीको संक्रमण चितवनमा देखिन थालेको दशक बढी भइसक्यो। त्यसैले डेंगी चितवनका लागि नौलो रोग भने होइन ।

 स्वास्थ्य कार्यालयका अनुसार ज्वरो आएर चितवनका अस्पताल आएका बिरामीमध्ये चारजनाको मृत्यु भएको छ। जसमा दुईमा स्क्रबटाइफस, एकमा स्क्रबटाइफस र डेंगी तथा एक जनामा डेंगीको संक्रमण भएको थियो।

नेपालमै पहिलो पटक सन् २००४ मा चितवनमा संक्रमित भेटिएका थिए । भरतपुरको पुरानो मेडिकल कलेज, शिक्षण अस्पतालमा उपचार गराउन आएका एकजना विदेशीलाई डेंगी संक्रमण पुष्टि भएको थियो । त्यसपछि सन् २०१० मा डेंगी महामारीकै रूपमा देखापरेको देखिन्छ। त्यसपछिको संक्रमण हेर्दा प्रत्येक तीन÷तीन वर्षमा महामारी बनेर फैलिइरहेको छ ।

२०१३ र २०१६ मा पनि चितवनमा डेंगी महामारी फैलिएको थियो। चितवनका अस्पतालमा उपचार गराएका बिरामीमध्ये सन् २०१० मा ७ सय ३९ जना, २०१३ मा ३ सय ७१ जना र २०१६ मा ६ सय ८७ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालयका कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए। डेंगीले महामारीको रूप लिएका ती वर्षको तुलनामा यस वर्ष यसको संक्रमणको तथ्यांक उक्लिएको छ। ती वर्षको तुलनामा डेंगी नियन्त्रणमा आउन पनि गाह्रो भएको छ । डेंगी फैलिने मुख्य र उपयुक्त समय अझै बाँकी रहेकाले यसको जोखिम थप बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी बताउँछन्।
 
यसअघि जिल्ला स्वास्थ्य कार्यालय हुँदा डेंगी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिन्थ्यो। जनस्वास्थ्य कार्यालय खारेज भएपछि अस्तित्वमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको भूमिका कटौती भएको छ । हरेक स्थानीय तहमा स्वास्थ्य शाखा स्थापना भए पनि शाखाबाट डेंगी जोखिम कम गर्न पहिले नै नियन्त्रणका अभियान सञ्चालन भएका थिएनन्। स्वास्थ्य कार्यालयका अनुसार ज्वरो आएर चितवनका अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये चारजनाको मृत्यु भइसकेको छ। जसमा दुईजनामा स्क्रबटाइफस, एकजनामा स्क्रबटाइफस र डेंगी तथा एक जनामा डेंगीको संक्रमण भएको थियो।

यसले पनि जिल्लामा यस वर्ष संक्रमितको संख्या उच्च रहेको अनुमान गरिएको छ। महामारी फैलिएपछि मात्र यहाँ डेंगी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने काम थालियो। रोग फैलिएपछि नियन्त्रणको प्रयास भएकाले तत्काल नियन्त्रणमा आउन गाह्रो भएको प्रदेश ३ स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी बताउँछन्। नियन्त्रण गर्न स्थानीय तह सक्रिय हुनुपर्ने र सामूहिक रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App