६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सकियो सम्झौता, सकिएन काम

कैलाली - मोहना–अत्तरिया ६ लेन सडकखण्ड निर्माणको अवधि सकिएको तीन महिना बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन। समयमै निर्माणकार्य पूरा नभएपछि म्याद थप्ने कि नथप्ने भन्ने अन्योलमै छ आयोजना। सडक निर्माणको ठेक्का पाएका व्यवसायीले डेढ वर्षको समय थप गर्न माग गरे पनि थपेको समयमा आयोजना सम्पन्न हुने आधार नभएको भन्दै समय थप्न सडक विभागले नमान्दा समयावधि थप्ने अन्योल बढेको हो।

बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको मोहना–अत्तरिया ६ लेन सडकखण्ड तीन प्याकेजमा निर्माण थालिएको थियो। मोहना पुलदेखि बोराडाँडीसम्मको ४ दशमलव ५ किलोमिटर सडक शर्मा–अमर–नागार्जुन जेभी र बोराडाँडीदेखि गेटाको आरपी प्लोर मिलसम्मको ४ दशमलव ५ किलोमिटर सडक तथा फ्लोर मिलदेखि अत्तरिया बजारसम्मको ५ दशमलव १९ किलोमिटर सडक दुवै लामा–राजेन्द्र–डाँफे जेभीले निर्माणकोे ठेक्का पाएका थिए।

२०७४ जेठदेखि सुरु भई दुई वर्षभित्र काम सक्नेगरी सम्झौता भए पनि अहिलेसम्म आधा काम नै नभएको आयोजनाले जनाएको छ। १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सुरु आयोजनाको समय गत जेठमै समाप्त भइसकेको छ। समय समाप्त भएपछि ठेक्का पाएका निर्माण व्यवसायीले डेढ वर्षको समय थप्न माग गर्दै निवेदन दिएका छन्। सम्झौताअनुसार शर्मा–अमर–नागार्जुन जेभीले पहिलो खण्ड गत जेठ २४ गतेसम्म निर्माण गरिसक्नुपर्ने थियो भने लामा–राजेन्द्र–डाँफे जेभीले ठेक्का पाएको दोस्रो र तेस्रो खण्डको म्याद गत जेठ १४ गते नै सकिएको हो।

१ अर्ब ६८ करोड रुपैयाँको लागतमा सुरु आयोजनाको समय गत जेठमै समाप्त भइसकेको छ। समय समाप्त भएपछि ठेक्का पाएका निर्माण व्यवसायीले डेढ वर्षको समय थप्न माग गर्दै निवेदन दिएका छन्।

सडक निर्माणको जिम्मा पाएका ठेकेदारले अहिलेसम्मको काम गराइ सन्तोषजनक नरहेको र थपिएको समयमा काम पूरा हुने आधार नभएकाले म्याद थप गर्न नसकिएको आयोजना प्रमुख होमबहादुर एसी बताउँछन्। ‘म्याद थप्ने अवधिमा सडकको काम सम्पन्न गर्ने आधार अहिलेसम्म पनि ठेकेदार पक्षले दिन सकेका छैनन्,’ उनले भने, ‘निर्माण पक्षले डेढ वर्ष अझै सडकको समयावधि थप्न लिखितै निवेदन दिएका छन् तर सो समयमा कसरी काम सक्ने भन्ने कुनै आधार खुलाइएको छैन, जसले हामीलाई पनि दुविधामा पारेको छ।’ उनका अनुसार निर्माण पक्षले डेढ वर्ष म्याद थप गर्न निवेदन दिएको भए पनि नियमावलीमा भने एक वर्षभन्दा बढी म्याद थप्न नमिल्ने प्रावधान रहेको छ। ‘नियमावलीअनुसार आयोजना निर्माण गर्न पहिलोपटक तोकेको समयावधिकोे ५० प्रतिशतसम्म मात्रै दोस्रो पटक म्याद थप्न मिल्ने हुन्छ,’ उनले थपे, ‘त्यसअनुसार ६ लेन सडक आयोजनाको म्याद एक वर्ष मात्रै थप्न मिल्छ।’

म्याद थपका लागि आयोजनाले सडक विभागमा फाइल पठाएको भए पनि म्याद थप गर्दा सडक निर्माण भइसक्ने आधार माग गरिएकाले आयोजनाको म्याद थप गर्ने प्रक्रिया अन्योलमै रहेको उनले बताए। उनका अनुसार ठेकदार पक्षले माग गरेको समयमा पनि सडकको बाँकी काम सम्पन्न गर्ने आधार दिन नसक्दा सडक विभागले म्याद थप गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन सकेको छैन। निर्माण पक्षले काममा जागरुकता नदेखाउँदा काममा ढिलाइ भएको उनको आरोप छ।

शर्मा–अमर–नागार्जुन जेभीका प्रमुख ईश्वरी भट्टले आफूहरूले समयमै म्याद थप गर्न आवश्यक कागजात सबै बुझाएको भए पनि आयोजनाले आलटाल गरिएको आरोप लगाए। यदि अब पनि समयमै म्याद नथपिए आफूहरूले काम ठप्प पार्ने उनले चेतावनीसमेत दिए। आफूहरूले डेढ वर्षको समय माग गरे पनि आयोजनाको नियमानुसार जति समय दियो, त्यति समयमै काम सक्ने उनी बताउँछन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App