८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडकमा प्रयोग गरिएको मेसिनको दलीय प्रचार

रसुवा– रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक मर्मत सुरु भएसँगै यसले राजनीतिक रूप लिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा सुरु भएको मर्मतलाई दुई दलले आफ्नो नेतृत्वमा सुरु भएको भन्दै सामाजिक सञ्जालमा प्रचार गर्न थालेपछि विषयले नयाँ मोड लिएको हो। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्ड अवरुद्ध भएको चार दिनपछि मैलुङ–स्याफ्रु सडकको मर्मत थालिएको थियो। 

सडकको दुईतिरबाट पहिरो हटाउने तथा सफा गर्ने काम शनिबारबाट सुरु भएको हो। सडक खण्डको दुईतिरबाट जिल्लाका दुई प्रमुख राजनीतिक दलले उपस्थिति जनाएका छन्। सडकको मर्मतका लागि प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहितको टोली फिल्डमा खटिएको छ।

मैलुङतर्फ प्रजिअ भण्डारी र छोक्कलतर्फ गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले नेतृत्व लिएका छन्। यसमा सडक डिभिजन, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजना, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना तथा जनप्रतिनिधिले सहयोग गरेका छन्।

शनिबारदेखि सुरु भएको मर्मतमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले आपूmले गरेको भन्दै प्रचार गरिरहेका छन्। सडकको मैलुङतर्फ सडक योजनाको समन्वयमा टुन्डी कन्सर्टक्सनले एउटा लोडर र एउटा स्काभेटर तथा सांसद मोहन आचार्यले एउटा ब्रेकर र एउटा स्काभेटर उपलब्ध गराएका छन्।

छोक्कलतर्फ संविधान सभाका सदस्य जनार्दन ढकालले एउटा स्काभेटर, गोसाइँकुण्ड गाउँपालिका र रसुवागढी जलविद्युत् आयोजनाले १/१ लोडर र सडक डिभिजन कार्यालयको एउटा लोडर तथा एउटा ब्रेकर उपलब्ध गराएका छन्। 

सडक मर्मतका लागि लागि आवश्यक तेलको व्यवस्था गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले गर्नेछ। अहिले सडक मर्मतका लागि आवश्यक तेल आफैंले हालेर सञ्चालन गरे पनि पछि योजनाले रकम भुक्तानी गरिदिने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए।

आइतबार साँझसम्ममा साना सवारी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘आज साँझसम्ममा साना सवारी सञ्चालनमा आउने सम्भावना छ, उनले भने, यसका लागि हामीले स्थलगत रूपमा नै रहेर काम गरिरहेका छौं।’

सडकमा २४ वटा ह्युमपाइप राख्नुपर्ने उनको भनाई छ। सडक मर्मतस्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सरोकारवाला समेतको उपस्थिति छ। राम्चे–धुन्चे सडकमा पर्ने नागर्दुन क्षेत्रमा सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ।

प्रकाशित: २९ भाद्र २०७६ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App