८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

चिन्तन चाहिन्छ, लोकप्रियता होइन

फाइल तस्बिर

श्रीराम सुवेदी

काठमाडौं - सुख के हो दुख के हो, मनले खोज्ने खुसी के हो...

राजेन्द्र थापाको शब्द र अरुणा लामाको स्वरले सजिएकोे ‘पोहोर साल खुसी फाट्दा’ बोलको गीतको यस पंक्तिले नेपालीका कठिनाइ उजागर गरेको छ। यो मिठो गीतमा सुखको परिभाषा र मनको खुसी के हो भनेर खोजिएका छ। यतिका वर्षपछि पनि यो गीत उत्तिकै मनमोहक छ। शब्द र भावको अर्थ उत्तिकै सान्दर्भिक छ।

यो प्रसंग, सरकारले यो वर्ष गर्न चाहेको राष्ट्रिय सुख सर्वेक्षणसँग पनि जोडिन्छ। यो साता प्रस्तावित राष्ट्रिय सुख सर्वेक्षणबारे नागरिक र रिपब्लिकामा समाचार प्रकाशन भएपछि यो विषयमा आमनागरिक र विज्ञले थप प्रतिक्रिया दिएका छन्। एउटा सरकारी कार्यक्रमभन्दा पनि यो सर्वेक्षण विषयवस्तुको हिसाबले एउटा चिन्तन र दर्शन भएकाले यसका विभिन्न पक्षबारे थप छलफल गर्नुपर्ने साझा राय सबैको छ। प्रतिक्रियाहरुका क्रममा कतिपयले यो सर्वेक्षण आवश्यक छ र भन्नेसम्म भनाइ राख्न भ्याए।

वस्तुगत र बहुक्षेत्रीय तथ्यांक संकलन र प्रशोधन गर्न समर्थ तथ्यांक विभागका अधिकारीले यसको थप चिरफार गर्न आवश्यक रहेको बताए। विभागभित्र यो सर्वेक्षणका लागि विषयगत जनशक्तिसमेत नभएको स्वीकारोक्तिले विभागको इमानदारीमा प्रश्न गर्ने ठाउँ रहेन। रह्यो त यो विषयलाई तार्किक बहस गरेर विभिन्न चर र सूचकांकको विकास गर्ने, जसले गर्दा सर्वेक्षणको परिणाम सकेसम्म स्वीकार्य र विश्वसनीय बनोस्।

एउटा सरकारी कार्यक्रमभन्दा पनि यो सर्वेक्षण विषयवस्तुका हिसाबले एउटा चिन्तन र दर्शन भएकाले यसका विभिन्न पक्षबारे थप छलफल गर्नुपर्ने साझा राय सबैको छ।

मूलतः यो विषय सरकारको घोषित नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ सँग जोडिएको छ। सरकारले नारा र कार्यक्रमहरु ल्याएपछि तिनको सफलता असफलता तथ्यांकहरुले प्रमाणीकरण गर्न पर्ने नै भयो। त्यही सेरोफेरोमा चालु आर्थिक वर्षका लागि थोरै बजेटमा यो धेरै महत्वपूर्ण विषयमा सरकार प्रवेश गरेको छ। र, कथाको पहिलो पृष्ठमा सीमित देखिएको छ सरकार। सुरुमा त यो सुख सर्वेक्षण भन्न्ने कि खुसी सर्वेक्षण भन्ने, त्यसमा नै निक्र्याेल गर्र्नुपर्ने देखिन्छ। सरकारी नारा र दस्तावेजलाई जोडेर हेर्दा समष्टिगत सुख सर्वेक्षण भनेको देखिन्छ तर अन्तर्राष्ट्रिय प्रचलनमा सुखभन्दा खुसी मापनलाई जोड दिएको पाइन्छ।

भाषागत रुपमा अंगे्रजीबाट उल्था गर्दा सुख र खुसी दुवैलाई ‘हेप्पीनेस’ भनेर परिभाषित गरिने भएकाले पनि सुख सर्वेक्षण भन्न सरकारलाई सजिलो भएको छ। चीनको बेइजिङबाट खुसीको राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका प्राध्यापक कल्याण रोका भन्छन्, ‘समृद्धि भएपछि मानिस सुखी हुन्छ भनेर ठानिएको छ भने त्यो गलत हो। खुसी के हो भनेर सोधखोज गर्न मलाई ६ महिना लागेको थियो। संसारमा सबैको साझा चाहना खुसी हुनु हो।

समाचार प्रकाशन भएपछि आएका प्रतिक्रियाले पनि यो विषय त्यति सजिलो नभएको देखिन्छ। प्रतिक्रियाका क्रममा समाजशास्त्र एमफिलका विद्यार्थी कृष्णबहादुर कार्की लेख्छन्, ‘हामी वस्तुगत तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठाइरहेका बेला विश्वसनीय तथ्यपरक र सत्य नजिक पुग्न सक्ने खालको बहुआयामिक गरिबीको सूचकांक तयार गर्न असफल भइरहेको समयमा खुसीजस्तो विषयगत र भावानात्मक कुराको मापन गर्न उपयुक्त सूचक र मापकहरु खोजिरहेका छौं।

अनुमानित ५० लाखभन्दा बढी आर्थिक रुपले सक्रिय युवा शुद्ध शारीरिक श्रम गर्न बिदेसिएको सन्दर्भमा उनीहरुलाई र उनका आस्रित परिवारलाई खुसी के हो भन्ने प्रश्न नसोधी यो सर्वेक्षण निरर्थक होला कि।’

उनी थप्छन्, ‘हाम्रोजस्तो विविधता भएको मुलुकमा सर्वेक्षणको नमुना छनोट नै सबैभन्दा चुनौतीपूर्ण छ। हाम्रो समाज भुटानजस्तो एकरुपतामा आधारित छैन र भुटानका सूचकहरु यहाँ प्रयोग गर्न सकिन्न।’

नवउदारवाद, विश्वव्यापीकरण र व्यापक सहरीकरण तथा बढ्दो बेचैनीको वर्तमान परिप्रेक्ष्यमा नेपाली मनका खुसीहरु नाप्न त्यति सजिलो छैन। नेपाली समाज विभिन्न कारणले हाल विचलनमा रहेको बताउँछन् नेपाल र एसियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक डा. मृगेन्द्रबहादुर कार्की। ‘बढ्दो आत्महत्या, वृद्धवृद्धालाई आश्रम, ठूलो जनसंख्या विदेशमा रहँदाका अप्ठेरा, युवा तथा बालबालिकामा बढ्दो डिपे्रसनलगायत समस्याले समाज जकडिएको छ,’ उनी भन्छन्, ‘आधुनिकता तथा उपभोक्ता संस्कृतिले हामीलाई नराम्ररी गाँजेको छ। यस्तो बेला गर्न लागिएको अध्ययनले गहिरो चिन्तन खोज्छ, लोकप्रियता होइन।’

मानिस दुखी किन छन् ? त्यसका कारण खोजेर सम्बोधन गर्ने नीतिको खोजीमा सरकारको सुख सर्वेक्षण केन्द्रित हुनुपर्ने देखिन्छ। ‘धनी र गरिबबीचको खाडल निकै ठूलो रहेको हालको परिस्थितिमा सामाजिक न्याय र समतामूलक विकासले नेपालको समष्टिगत सुखलाई बढवा दिन सक्छ,’ प्राध्यापक रोका भन्छन्, ‘समतामूलक र सुखी समाज सिर्जना गर्न हाम्रो लगानी पर्याप्त छैन।’

योजना आयोगको यो कार्यक्रमसँग सबन्धित सदस्य प्रस्तावित अध्ययनबारे सुरुमा नकारात्मक हुन नहुने बताउँछन्। सही कुरा के हो भने यो विषयवस्तु त्यति सजिलो छैन र विभिन्न कोणबाट संशय र आशंका गरिँदा चिन्तित हुनुपर्दैन।
हाओ बुक्स सिकागोले सन् २०१६ मा प्रकाशन गरेको सम्पादित किताब ‘भ्यालुज अफ हेप्पीनेस’ को परिचय खण्डमै माथिको चर्चालाई बल पुग्ने कथन छ। पश्चिमी दर्शनशास्त्रले पछिल्लो दुई शताब्दीमा खुसीलाई कसरी लिन्छ भन्ने सम्बन्धमा भएको एउटा सर्वेेक्षणको निष्कर्ष छ– तपाई आफ्नो खुसीको परिभाषा दिनुस्, म तपाईको हो भनेर भन्छु।

प्रकाशित: २८ भाद्र २०७६ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App