१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कलाकार जोगेन्दरद्वारा छात्रालाई स्यानेटरी प्याड

सर्लाही - जोगेन्दर पानवालाको रूपमा चर्चित हास्य कलाकार शिवशंकर रिजालले मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन्। बरहथवा नगरपालिकास्थित सरस्वती माविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन्।

महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा भएपछि आफूले एक दातृसंस्थाबाट पाएको स्यानेटरी प्याड प्रदान गरेको रिजालले बताए। त्यस्तै सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार दुईजना छात्र र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन उनले आर्थिक सहयोग गरेका छन्। कार्यक्रममा कलाकार रिजालले आफ्ना बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक प्रदान गरेका हुन्। रिजालले विद्यार्थीलाई ४० हजार रुपैयाँबराबरका कापीकलमसमेत वितरण गरे।

त्यस्तै कक्षा ५ सम्म अध्ययन गरेको पिपरभित्तास्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउन्डेसनकै नामबाट ५१ हजार रुपैयाँ प्रदान गरेका छन्। रिजालले सो विद्यालयका विद्यार्थीलाई पनि कापीकलम प्रदान गरेका थिए। तीन लाख रुपैयाँबराबरको स्यानेटरी प्याड तथा दुईवटा विद्यालयमा एक लाख रुपैयाँबराबरका कापीकलम प्रदान गरिएको र एक लाख ६२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको रिजालले जानकारी दिए। उनी सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पिपरिभित्तानिवासी हुन्।

प्रकाशित: २५ भाद्र २०७६ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App