६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीन वर्षमा १ सय ५२ जनाले गरे आत्महत्या

नुवाकोट– गएको तीन वर्षमा नुवाकोटका १ सय ५२ जनाले आत्महत्या गरेका छन्। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिला ७६, पुरुष ७१, बालक २ र बालिका ३ जना गरी १ सय ५२ जना रहेका छन्।

वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नुवाकोटका ४८ जनाले आत्महत्या गरेका छन्। विष खाएर १२ जनाले, झुण्डिएर २५ जनाले र पानीमा हाम फलेर १ जनाले आत्महत्या गरेका छन्। गत वर्ष २५ जना पुरुष २१ जना महिला र १ बालकले आत्महत्या गरेका हुन्।

आर्थिक वर्ष २०७४÷७५ मा ६४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ। त्यस वर्ष विष खाएर ३१, झुण्डिएर ३२ र १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेका थिए । जस मध्ये महिला ४० र पुरुष २४ जना रहेका छन्।
यस्तै आर्थिक वर्ष २०७३÷७४ मा ४० जनाले आत्महत्या गरेका छन्। विष खाएर १०, झुण्डिएर ३० जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष २२, महिला १५, बालक १ र बालिका २ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार अनुसन्धान गर्दा लैङ्गिक तथा घरेलु हिंसा भोग्नु परेर, पारिवारिक बेमेल, झैझगडा र आवस्यक खिचातानी, शारिरिक तथा मानसिक तनाव भएर, लामो समयसम्म निको नहुने दिर्घ रोग लागेर, आफूले रोजे अनुसार काम नपाएर÷नभएर,  प्रेममा धोका  पाएर, नतिजामुखि प्ररिणाममा सफलता नभएर  मान्छेले आत्महत्या गरेको पाइएको बताएका छन्।

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्षको सेप्टेम्बर १० तारिखको दिन मनाउने गरिएको छ। यस वर्ष पनि ‘आत्माहत्या रोकथाममा मिलेर काम गरौँ’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा महिला बालबालिका संरक्षण सञ्जालले अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले व्यक्तिमा नकरात्मक सोचको विकास हुदा आत्महत्या हुने गरेकोले त्यसलाई न्यूनिकरण गर्न प्रत्येक नागरिकलाई मनोपरामर्श आवस्यक रहेको बताए। ‘सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी भन्ने नेपाली उखानै छ। जब मान्छे दुःखी भएको महसुस गर्छ, वातावरण सून्य देख्छ अनि उस्ले बाच्नुको औचित्य देख्दैन र आत्महत्याको बाटो रोज्छ’ तामाङले भने, ‘प्रत्येक व्यक्ति आर्थिक रुपमा सक्षम, चेतनशिल, स्वस्थ बनाउने काम तीनै तहको सरकारको काम हो। त्यसमा समन्वय गर्न प्रतिवद्ध छु।’

अन्तरक्रियामा सहभागी भएकाहरुले आत्महत्या हुनुको मुख्य कारण डिप्रेसन रहेको भन्दै त्यसबाट जोगाउन प्रत्येक टोलको नागरिकसम्म मनोविमर्श गर्नु आवस्यक रहेको बताएका छन्। आत्महत्या समस्या समाधान गर्ने माध्यम नभइ अरुलाई दुख दिने एक पाटो रहेकोले सम्वन्धित व्यक्तिको सबै कुरा सुनेर सहि बाटोमा ल्याउन पहल गर्नुपर्ने सहभागीले बताएका छन्।

जिल्लाको स्वास्थ्य संस्थाहरुमा समेत मनोविमर्शकर्ताहरु राख्न सकेको खण्डमा  विरामीहरुलाई परामर्श दिन सजिलो हुने विश्वास लिएका छन्। ‘स्वास्थ्य सस्थामा कर्मचारी कम  हुन्छ। विरामीको प्रेसर जाँच देखि औषधी दिनेसम्मको काम एउटैले गर्न परिरहेको हुन्छ। विरामीको बारेमा विस्तृत जानकारी लिन समय हुदैन्’ विदुर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सानुमायाँ राना मगरले भनिन् ‘कतिपय विरामीको रोग औषधीले भन्दा परामर्शले निको हुन्छ। त्यसमा अब स्थानीय सरकारले ध्यान दिनु आवस्यक छ।’

जिल्ला अस्पताल त्रिशुलीमा भने विगत २ वर्ष अघिदेखि अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र सञ्चालित छ। केन्द्रमार्फत हिंसा प्रभावितहरुलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेबाहरु एकीकृत रुपमा उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित: २४ भाद्र २०७६ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App