५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मलेसिया रोजगारी खोल्न भोलि संयुक्त बैठक, नेपाली पक्ष आशावादी

काठमाडौं– लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा नेपाल र मलेसियाका अधिकारीहरु सम्मिलित संयुक्त कार्यदलको ‘निर्णायक’ बैठक भोलि मलेसियामा बस्दै छ। दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौतायताको अवस्थाबारे छलफल गर्दै मलेसिया रोजगारी सुचारु गर्न दुई देशका अधिकारीहरु बैठकमा बस्न लागेका हुन्। 

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले दुई देशबीच कामदार आपूर्तिका सम्बन्धमा देखिएको मत भिन्नताका बारेमा बैठकमा खुलेर छलफल हुने बताए। सहसचिव घिमिरेले भने, ‘श्रम सम्झौता दुई पक्षीय रुपमा कार्यान्वयनको विषयमा छलफल केन्द्रीत हुनेछ। हामी सबै विषय बैठकबाटै टुङ्गियोस भन्ने हिसाबले छलफलमा बस्न लागेका हौं।’

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे भने दुई दिनको बैठकपछि मलेसिया खुल्नेमा आशावादी छन्। ‘यो दिन मलेसिया खुल्छ भनेर आज नै भन्न कठिन होला। तर, यो दुई दिनको बैठकमा धेरै कुरा टुंगिन्छ। त्यसपछि मलेसिया खुल्नु पर्ने हो। खुल्छ’, पाण्डेले भने। उनले बैठकमा मुख्यगरी तीन वटा विषयमा छलफल हुने जानकरी दिए। ‘स्वास्थ्य परीक्षण, सुरक्षा र घरेलु कामदारको विषय बैठकका लागि तय गरिएका एजेन्डा हुन्। यी बाहेक अन्य विषयमा पनि छलफल हुन्छ’, उनले भने।

मंगलबार र बुधबार हुने संयुक्त बैठकले मलेसिया रोजगारीमा देखिएको अन्योलता चिर्ने विश्वास एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले पनि लिएका छन्। नेपाली कामदार लिने पर्खाइमा मलेसियाली कम्पनीले धेरै समय पर्खेर बसेको बताउँदै भट्टराई जतिसक्दो छिटो कामदार आउने वातावरण बनाउनुपर्ने बताए। 

‘नेपाली श्रमिकले मलेसियाली कम्पनीमा पारेको प्रभावले गर्दा नै उनीहरु आज सम्म नेपाली कामदार ल्याउने भनेर पर्खेका हुन्। त्यसैले अब मलेसिया खोल्न ढिलो गर्नु हुन्न। हामी जति ढिलो गर्दै जान्छौं हामीले पाउने अवसर खोसिने सम्भावना त्यति नै बढ्दै जान्छ’, उनले भने। 

‘हामीलाई पनि कामदार पठाउनु छ, मलेसियालाई पनि कामदार चाहिएको छ। श्रम सम्झौताको जगमा टेकेर दुवै देश अघि बढ्नु पर्छ। लामो समय यो रिक्तता रहे यसले दुई देशको कुटनीतिक सम्बन्धमा पनि असर गर्नसक्छ। यो दुई दिनको बैठकले डेडलक अन्त्य गर्नुपर्छ’, भट्टराईले थपे।

एकदशक यता मलेसियामा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी रमेशप्रसाद तिवारी मलेसिया नेपालीका लागि राम्रो श्रम गन्तव्य भएको उल्लेख गर्दै मलेसिया खोल्नुको विकल्प नरहेको बताउँछन्। १५ महिना भन्दा बढी मलेसिया बन्द हुँदाको असर व्यवसाय र कामदारमाथि मात्र नभइ मुलुककै अर्थतन्त्रमा परेको भन्दै तिवारी मलेसिया खोल्न ढिलो गरे त्यसको दुरगामी असर राज्यले व्यहोर्ने तर्क गर्छन। 'वैदेशिक रोजगार चाहेर पनि रोक्न सकिंदैन। त्यसमा पनि मलेसिया नेपालीको प्रमुख गन्तव्य हो भन्ने तथ्यांकले नै देखाईसकेको छ। १५ महिना मलेसिया बन्द हुँदा डेढ लाख नयाँ कामदार मलेसिया आउन पाएनन्। र, ति कामदारको महिनाको औसत कमाईले मात्रै वार्षिक ६५/७० अर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिन्थ्यो। तर नेपालीहरु मलेसिया जान नपाउँदा ६५/७० अर्ब घाटा राज्यले व्यहोर्नु पर्यो। मलेसिया रोजगारीले वैदेशिक रोजगार व्यवसाय मात्र चलेको थिएन, यहाँका होटल, ट्राभल, पर्यटन लगायात थुप्रै क्षेत्र यो सँग प्रत्यक्ष जोडिएका छन्। तिनले व्यहोरेको घाटा र रोजगारीबाट बिमुख भएको राज्यले देखेको छैन'  तिवारीले भने।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पनि जतिसक्दो छिटो मलेसिया रोजगारीमा देखिएको अन्योलता बैठकले अन्त्य गर्ने अपेक्षा लिएको बताए।

प्रकाशित: २३ भाद्र २०७६ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App