सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बराहताल गाउँपालिका–४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाहीको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ १९ गते राति करिब ११ बजे वीरेन्द्रनगर–९ स्थित पिपलडाँडा लाटीकोइली चोकबाट मंगलगढी चोकतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००२ प १३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा शाहीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते शाहीलाई सुरुमा कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगन्जस्थित न्यूरो अस्पताल पठाइए पनि उपचार सम्भव नभएपछि भदौ २० गते बिहान पुनः कर्णाली प्रदेश अस्पताल फर्काइएको थियो। उनको आज दिउँसो १२ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २० भाद्र २०८३ १३:२८ शनिबार





