जनकपुर – मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ। चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व मानिन्छ।चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ।ज्योतिषशास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ।
यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने चलन रहेको छ। मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकता रहेका कारण सो समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, सङ्गीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गगर्छन्।
चन्द्रमालाई मनको देउता पनि भनिन्छ। ऋग्वेदमा धनको प्राप्ति एवम् सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ। चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ।शारीरिक कान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ। योग शास्त्रका अनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकको सहजताले प्राप्त हुन्छ।
भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई चौँठचन्द्र पनि भन्ने गरेको छ। संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेदले गर्दा चौँठी वा चौँठ हुन गएको हो।लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ। हातमा कुनै फल वा नैवेद्य लिइ यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने जनविश्वास रहेको छ।
यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको पनि मानिन्छ। उनी ज्योतिषशास्त्राज्ञ भएकाले चन्द्रमाको पूजाको परम्परा प्रारम्भ गरेको विश्वास छ।मैथिल समाजका धेरैजसो परिवारमा व्रत गर्ने भाकल गरिएको हुन्छ। परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ।
यस्तो भाकल पाँच÷दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ।चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्यका लागि पकवान पकाइन्छ। साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरिन्छ। मिथिलाञ्चलमा आज यो पर्व धुमधामे मनाइदै छ। रासस
प्रकाशित: १६ भाद्र २०७६ ०८:५७ सोमबार