काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्।
सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ।
संस्कृत भाषाका हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। हरितालिका तीजका सन्दर्भमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेका गर्छन्। तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् रामचन्द गौतमको भनाइ छ।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै उनले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताए। सर्वतः आत्मानं गोपायेत् अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने पनि गौतमले बताए।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने छन्। श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार गौतमले बताए।
नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको पनि गौतमले जानकारी दिए।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत रहेको छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको सुख शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व रहेको छ।
तीजको ब्रतको धार्मिक कारण
हिन्दूनारीहरुको महान पर्व हरितालिका तीजको ब्रत बस्ने दिन हो। आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तीजको दिन महिलाहरु निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरुले राम्रो पति पाउँ भन्दै ब्रत लिने गर्दछन्। तीजको ब्रत प्रेम सम्बन्धी मिथकमा आधारित छ। सतीदेवीको अर्को रुप मानिने पार्वतीले शिवजीलाई मन पराएकी थिइन्। तर, अभिभावकहरुले उनको विवाह विष्णु भगवानसँग गरिदिने निर्णय गरे। यस्तै घटना सतिदेवीका सन्दर्भमा पनि भएको थियो। शिवजीजस्तो जँड्याहासँग विवाह गरेको भन्दै सतीदेवीलाई हेला गरिएका कारण उनले यज्ञमा हाम्फालेर आत्महत्या गरेकी थिइन्। पछि पार्वतीलाई पनि यसैगरी शिवजीसँग विवाह गर्न नदिई विष्णुलाई नै भिराउन खोजिएपछि पार्वतीले आफूले प्रेम गरेका शिवजीसँगै विवाह गर्न पाउनुपर्ने जिकिर गरिन्।
पार्वतीको विवाह विष्णु भगवानसँग गर्ने निधो भएपछि साथीहरुको माध्यमबाट पार्वती भागिन्। हरि भगवानबाट लुकाइएको हुनाले यसै प्रसंगबाट हरितालिका भन्न थालिएको पुरोहितहरु बताउँछन्। हरिबाट लुकाइएकी पार्वतीले शिवजीलाई नै पति पाउँ भन्दै पानीसमेत नखाई निराहार ब्रत बसेपछि शिवजी पति पाएको र यसैलाई आधार मानेर तिजको व्रत प्रारम्भ भएको बताइन्छ।
तीजको दिन व्रत बसे अविवाहिता महिलाले राम्रो वर पाउने, श्रीमान भएकाहरुको पतिको स्वास्थ्य राम्रो हुने र एकल महिलाका पतिको आत्माले शान्ति पाउने हिन्दू मान्यता रही आएको छ। यस दिनलाई श्रीकृष्ण भगवानको न्वारानको दिन समेत मानिन्छ। कृष्ण अष्टमीको ११ औं दिनमा हरितालिका तिज पर्छ।
तिजको अवसरमा चेलीबेटीहरुलाई माइत बोलाउने र मीठोमीठो खान दिने चलन छ। हिन्दूहरुले मात्रै नभई गैर हिन्दूहरुले पनि तिजमा आफ्ना छोरीचेलीलाई माइतमा बोलाउँछन् र मीठो मीठो खुवाउँछन्। कतिपय अवस्थामा आदिवासी जनजातिहरुले दसैं लाई हिन्दूमात्रको पर्व भन्दै बहिस्कार गर्ने र टीका नलगाउने अभियान चलाए पनि तीजलाई भने आर्य, मंगोल हिन्दू, गैह्रहिन्दू सबैले मान्ने भएकाले यो पर्वलाई सामाजिक सद्भाव एवं एकताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।
प्रकाशित: १६ भाद्र २०७६ ०१:२४ सोमबार