२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्वलडाकुको पीडाः पहिले सुरक्षा, अहिले उपेक्षा

वीरेन्द्रनगर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोट खाडाचक्र नगरपालिका–५, की लक्ष्मी हमालका तत्कालीन नेकपा माओवादीका कमिसार थिए। शाहीले दिएका हरेक निर्देशन कुशलतापूर्वक पूरा गर्नु लक्ष्मीको पहिलो काम थियो। चार वर्षसम्म शाही र लक्ष्मी छैठौं डिभिजन दशरपुरमा बसेरसँगै काम गरे।

कम्पनी सहायक कमाण्डरसमेत बनेकी लक्ष्मी र तत्कालीन कमिसार शाहीको भूमिका अहिले फरक छ। राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापनाको लागि युद्धमा लागेका शाही कर्णाली प्रदेशका मुख्यमन्त्री छन् भने सोही उद्देश्यलाई साकार पर्ने अनवरत रूपमा लागेको लक्ष्मी युद्धका पीडा झेल्दै छिन्।

कुसुम, म्याग्दी, जुम्ला र भालुवाङका ठूला भिडन्त लडेकी लक्ष्मीसँग साना साना लडाइँ अनगन्ती छन्। लक्ष्मीका श्रीमान् (विष्णुबहादुर) पनि पूर्व लडाकु हुन्। लक्ष्मीका श्रीमान् विष्णुबहादुर जुम्लामा भएको भिडन्तमा सहभागी भए। सोही भिडन्तमा उनले दायाँ खुट्टा गुमाउनु प-यो। लक्ष्मीको टाउकामा पनि गहिरो चोट छ। शरीरका केही भागमा गोलीका छर्रा अझै छन्। उनै लक्ष्मी मुख्यमन्त्री शाहीलाई भेट्न कालीकोटबाट वीरेन्द्रनगर आइन्। मुख्यमन्त्री भेटेर आफ्ना समस्या राख्न मुख्यमन्त्री कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बसिन्। तर उनले मुख्यमन्त्रीलाई भेट्न पाइनन्। मुख्यमन्त्री तथा तत्कालीन युद्धका कमिसार शाहीलाई भेट्ने ठूलो आशा लिएकी उनी र उनका श्रीमान् विष्णु निरास हुँदै फर्कनु प-यो।

‘पहिला उनकै सुरक्षाका लागि दुःख गरियो,’ लक्ष्मीले नागरिक न्यूजसँग भनिन्, ‘अहिले मुख्यमन्त्री, मन्त्री उनै प्रहरी (तत्कालीन दुस्मन) लाई अगाडि पछाडि लगाएर हिँड्छन्, हामीलाई समय दिँदैनन्।’ संघर्ष गरेर सुरक्षा गरेका व्यक्ति नै अहिले भेट्ने समय नदिँदा दुःख लागेको उनको भनाइ छ।

पहिला सुरक्षा दिएकै मुख्यमन्त्रीले अहिले उपेक्षा गर्दा अपहेलित महसुस भएको विष्णुले बताए। मुख्यमन्त्रीलाई भेट्न नपाउँदा झनै पीडामा पीडा भएको उनी बताउँछन्। ‘मुख्यमन्त्रीलाई भेटेको भए सहयोग नभए पनि सान्त्वनाको अपेक्षा थियो,’ उनले नागरिक न्यूजसँग भने, ‘भेटै नहुँदा दुःख लाग्दो रहेछ।’ आफू मन्त्रालयमा भिख माग्नभन्दा आफ्नो समस्या दर्साउन आएको विष्णुको भनाइ छ।

मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री नभेटेपछि उनी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई भेटिन्। श्रीमान्सँगै गएकी उनले मन्त्री भण्डारी समक्ष आफ्नो समस्या दर्साइन्। मन्त्री भण्डारीले नभुलेको जसरी उनको कुरा चाख लाग्ने गरी सुनेर र उनलाई सान्त्वना दिए। ‘हामीलाई तपाईंका लागि सोचेको छौं,’ मन्त्री भण्डारीको भनाइ उदृढ गर्दै लक्ष्मीले भनिन्, ‘सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’ त्यसलगत्तै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई भेट्न पुगिन्।

विष्णुको गुमेको खट्टामा कृत्रिम खट्टा देख्दा मन्त्री केसीका आँखा रसाए। मन्त्री केसीसँगै रुँदै विष्णुले आफू द्वन्द्वको हिरो भएको भन्दै अहिले त्यहीँ हिरो उपचारको अभाव र परिवारको विचल्ली भएको बताए। उनको हालबेहाल हेर्दा मन्त्रालयमा पुगेका सबैका आँखा रसाएका थिए। देश परिवर्तन गर्न आफ्नो भूमिका महत्वपूर्ण भएको भन्दै विष्णुले देश बदल्नेलाई राज्यले अपहेलना गरेको आरोपसमेत लगाए। मन्त्री केसीले कालीकोट फर्कनलाई भाडासमेत दिइन्। उपचारका लागि सक्दो सहयोग गर्ने भन्दै उनले लक्ष्मीलाई भएसम्म रोजगारी दिलाउने बचन दिइन्।

अहिले लक्ष्मी र विष्णुका दुई सन्तान छन्। दाङमा रहेको सहिद स्मृति आवासीय विद्यालयमा छोराछोरीलाई राखेका छन्। विष्णुले राज्यबाट मासिक आजीवन भत्ता ६ हजार दुई सय रूपैयाँ पाउँछन्। सो रकम परिवार पाल्न र आफ्नो उपचारका लागि अपुग भएको विष्णुको भनाइ छ।

लक्ष्मीले आर्थिक सहयोगभन्दा रोजगारीमुखी सीपसँगै व्यवसाय सञ्चालनका लागि राज्यसँग ठूलो अपेक्षा गरेकी छिन्। घरमा उब्जनी भएको अन्न दुई÷तीन महिना मात्र खानपुग्ने उनको भनाइ छ। ‘आफ्नो घरको उन्नपानीले वर्षभरि खान पुग्दैन,’ उनले भनिन्, ‘नियमित काम पनि गर्न सकिँदैन्।’ द्वन्द्वका बेला लागेको चोटले काम गर्न नसक्ने उनले बताइन्। विष्णुको खुट्टा गुमेकाले उनी काम गर्न सक्दैनन्।

तत्कालीन समयमा युद्ध लडेका कोही राज्यसत्ता सञ्चालन गरिरहेका छन् भने ठूलो संख्यामा बेरोजगार बनेका छन्। उस्तै संख्यामा माओवादी पूर्वलडाकु विदेसिनु परेको छ। घाइते अपांगहरूलाई जीवन निर्वाहमा समस्या परेको देखिएको छ। उनीहरूलाई राज्यले उचित संरक्षण गर्नु पर्ने जनयुद्धका घाइते तथा अपांगहरूको भनाइ छ।

माओवादी जनयुद्ध सरकार र संसदीय दलहरू तथा माओवादी विद्रोहीहरूका बीचको संघर्ष हो। सशस्त्ररूपको यो युद्ध १९९६ देखि २००६ सम्म सतत् चलिरह्यो। नेकपा माओवादीद्वारा २०५२ फागुन १ देखि थालिएको यो युद्ध नेपालको राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापनाको लागि लक्षित थियो। र यो सन् २००६ नोभेम्बर २१ का दिन तत्कालीन सरकार र माओवादी विद्रोहीका बीच भएको बृहत् शान्ति सम्झौतामा टुंगियो।

प्रकाशित: १० भाद्र २०७६ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App