२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोमा परिवार गुमाएकालाई राहत

खोटाङ – १ नम्बर प्रदेश सरकारले पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई राहत प्रदान गरेको छ। गत असार २७ गते माथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन राई र सात महिने शिशु रोजन राई गुमाएपछि एक्लो बनेका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप ६ लाख रुपैयाँ प्रदान गरेको हो। प्रदेश सरकारले प्रति मृतक दुई लाखका दरले विष्णुलाई राहत प्रदान गरेको हो।

राहत रकमको चेक शुक्रबार प्रदेशसभा सदस्य उषाकला राईले खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुलाई हस्तान्तरण गरेकी हुन्। प्रदेशसभा सदस्य रामकुमार राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई, नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल लगायतको उपस्थितिमा प्रदेशसभा सदस्य राईले प्रदेश सरकारको प्रतिनिधिका रुपमा पहिरो पीडित विष्णुलाई राहत हन्तान्तरण गरेकी हुन्। घर तथा आफन्त गुमाएर एक्लिएका राईलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत उपलव्ध गराएको हो।

पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकमबापतको चेक पठाएको थियो। विष्णुको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि ४० हजार प्रदान गरेको थियो। पहिरोमा पुरिएका विष्णुलाई आफन्तले उद्धार गरेर बचाएका थिए। उनलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो। पहिरो पीडितलाई प्रदेश सरकारको राहत हस्तान्तरण गरेपछि वर्षा र पहिरोका कारण अवरुद्ध सडक तथा खानेपानी सञ्चालनका विषयमा जनप्रतिनिधि एवं नेतासँग छलफल भएको प्रदेशसभा सदस्य राईले बताइन्।

प्रकाशित: ७ भाद्र २०७६ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App