१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विर्तामोड–भद्रपुर सडकखण्डले सास्ती

दमक - निर्माणाधीन विर्तामोड–भद्रपुर सडकखण्डको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ। विर्तामोड १० की ६७ वर्षीया सुमित्रा राईको नालीमा डुबेर ज्यान गएका हो। प्रहरीका अनुसार विर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत विर्तामोड–३ सैनिक मोडमा रहेको मेची आँखा अस्पताल नजिकै खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो। महिला नालीमा कसरी डुबिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले मृत्यु कसरी भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

विर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेन बनाउन सुरु गरिएको एघार महिना भयो। १८ महिनाभित्र काम सक्नुपर्ने सडक निर्माणको अहिलेसम्म सडकको दुवैतर्फ नाली समेत बनाइएको छैन। काम सक्न दुई महिना बाँकी रहँदा सडकको काम २० प्रतिशतसम्म नसकिएको सडक निर्माणको खबरदारी गरिरहेका सञ्चारकर्मी गणेश पोखरेलले बताए। ‘सडककै गतिले मान्छेको ज्यान समेत गयो, सडकको सास्ती त थेगिनसक्नुको छ,’ उनले भने।

सडकको छेउमा व्यापार गर्ने र घर भएकाहरु यो समस्याबाट आजित छन्। सन्तोष अग्रवाल दैनिक त्यो सडक ओहोर दोहोर गर्छन्। सडकको अवस्था देखेरै उनी चिन्तित छन्। ‘सडक बनाउन थालेको नौ महिना भयो। त्यसअघि त हिउँदमै बर्खा हुने गरी सडकमा पानी जम्थ्यो,’ उनले भने, ‘यस पटक पनि समयमा सडक निर्माण सकिनेमा शंका छ। अहिलेसम्म सडक निर्माण २० प्रतिशत मात्रै सकिएको छ। सडकको दुवैतर्फ ढल बनिसकेकै छैन।’

ठकेदार कम्पनी ललितपुरको आशिष–प्रेरा जेभीले विजुलीको पोल हटाएको छ। केही होचा ठाउँमा कल्र्भट बन्नेबाहेक अरु काम भएकै छैन। अबको नौ महिनाभित्र काम सम्पन्न हुने सम्भावना कम रहेको स्थानीयको दाबी छ। स्थानीय भीम खरेलले भने, ‘सडक निर्माणका लागि जथाभावी खनिएका खाल्डाले यात्रामा समस्या पारिरहेको छ।’ उनका अनुसार निर्माणको जिम्मा लिएको कम्पनीले काम अघि बढाएकै छैन। ‘समयमा निर्माण सम्पन्न हुनेमा शंका छ,’ उनले भने, ‘हामी निरन्तर दबाब दिइरहेकै छौं।’

बिर्तामोडदेखि भद्रपुरसम्म जाने ४ किलोमिटर सडकको ४ लेनको बनाउनका लागि २७ करोड रुपैयाँ विनियोजन गरिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेपछि निर्माण कम्पनीले असोजमा काम थालेको थियो। डिभिजन प्रमुख श्यामकुमार यादवले निर्माणको कामलाई तीव्र पार्न निर्देशन दिए पनि काम अघि नबढेको बताए। ३ वर्ष अघि नै सडक निर्माणको ठेक्का लागेको थियो। तर निर्माण कम्पनीले काम नगरेका कारण ठेक्का रद्द गरि नयाँ ठेक्का लगाउनुपरेको हो।

प्रमुख यादवका अनुसार २.८ किलोमिटर सडक १६ मिटर चौडाइ, १ मिटर नाली र फुटपाथसहित २३ मिटर चौडाइको बनाउनुपर्नेछ। बाँकी सडक सात मिटर चौडाको दुई लेनको मापदण्डमा बन्नेछ। पाँच सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरेर सडक निर्माण गर्न ठेकेदारले जिम्मा लिएको छ। निर्माण कम्पनीले २०७६ असोज ६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। तर निर्माण कम्पनीले विद्युतको पोल सार्न समस्या भएकाले काम अघि बढ्न नसकेको जनाएको छ।
कामको कार्ययोजना स्थानीय उपभोक्तालाई उपलब्ध गराउन पनि सडक र ठेकेदारले आनाकानी गर्ने गरेका छन्।

‘कार्य योजना संशोधन हुने गरेको छ’, डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने, ‘काम हुँदैछ, ठेक्कामा तोकिएका कुनै काम समयमा हुन्छ, कुनै काम ढिलो हुन्छ, त्यसैले कार्ययोजना परिवर्तन भइरहन्छ।’ ठेकेदारले भने विर्तामोडको मेची आँखा अस्पताल अगाडि चार लेनको बनाउन ठेक्का थप भएकाले समय पनि थप हुने बताएका छन्। ठेकेदारलाई उदृृत गर्दै विर्तामोड ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले भने, ‘सबै बाटो चार लेनको बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन काम समयमा नगर्न बाहना बनेको छ।’ ठेकेदार समय थपिन्छ भनेर ढुक्क छन्। २७ करोड रुपैयाँको योजनामा काम गर्ने मान्छेको संख्या एक दर्जन पनि छैनन्। उनीहरुकै दाबी अनुसार नै सडक बनिसक्न अब १४३ दिन मात्र बाँकी छ।

प्रकाशित: ७ भाद्र २०७६ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App