काठमाडौँ– चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ। गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ। जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए। उनका अनुसार सो प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरुको भन्दा कैयौँ गुणा बढी रहेको छ।
विभागमा हाल १० वटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन्। यिनको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको उनले बताए। ‘मास प्रिन्टर’ ले एक घण्टाको अवधिमा पाँच सयदेखि छ सयसम्म कार्ड छाप्न सक्ने बताइएको छ। उनले भने, “उपकरण नियमित सञ्चालन भएपछि अहिले छाप्न बाँकी कार्ड चाँडै छापेर सकिनेछ।”
‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि सरकारले ‘मास प्रिन्टर’ खरीद गरेको हो। गत वर्ष नै ‘ग्लोबल टेन्डर’ मार्फत सो उपकरण खरीद प्रक्रिया अघि बढाइएको थियो। हाल विभागले झण्डै साढे नौ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ। उपकरणले छोटो समयमा धेरै कार्ड छाप्दा सो समस्याको समाधान हुने बताइएको छ।
चालक अनुमतिपत्रका लागि आवेदन दिएका र सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघ्दासमेत अझै चालक अनुमतिपत्र नपाएको सेवाग्राहीको गुनासो छ। सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन्। देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ।
विभागमा रहेको मुद्रण यन्त्र ९छपाइ मेशिन०को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको थियो। विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरेकाले समस्या आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए। उनका अनुसार क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने हुँदा विभागमा छाप्न बाँकी कार्डको सङ्ख्या नियमित रुपमा बढिरहेको थियो। विभागमा रहेका उपकरणहरुमा समयसमयमा समस्या आउने गरेको उनले बताए। सो उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको उनले बताए।
उनका अनुसार जर्मनीमा बनेका उपकरणमा समस्या आउनासाथ मर्मत नहुँदा पनि नियमित रुपमा सञ्चालनमा आउन नसकेको हो। उनले भने, “कहिले कुन त कहिले कुन बिग्रिएर थन्किरहन्छन्।” यता चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइका कारण चालक हैरान छन्। आफूले चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण गरेर सरकारलाई राजश्व तिरेको एक वर्ष नाघ्दासमेत कार्ड नपाएको गुनासो भक्तपुरका शतिश फुयाँलको छ।
सल्लाघारीस्थित यातायात कार्यालयबाट गत वर्ष साउनमा नै उनले परीक्षा पास गरेका थिए। त्यसयता कहिले एकान्तकुनास्थित यातायात कार्यालय त कहिले बानेश्वरस्थित यातायात व्यवस्था विभाग पनि पुगे। तर कतैबाट अनुमतिपत्र नपाएपछि उनी हैरान भएका छन्। उनले भने, “राजश्व तिरेको कागज लेमिनेशन गरेर चालक अनुमतिपत्रका रुपमा देखाएर मोटरसाइकल चलाउने गरेको छु।”
सरकारले आधुनिक प्रविधिको प्रयोग गर्दै हस्तलिखित कार्डलाई ‘स्मार्ट’ चालक अनुमतिपत्रले विस्थापित गरेर चार वर्षपहिले वाग्मती अञ्चल कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो। विभागले चाँडो छपाइ गर्न भनी केही महीना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको प्रवक्ता खनालले बताए। निजीले चालक अनुमतिपत्र छाप्दा रङ्गीन छापेको उनको भनाइ छ। रङ्गीन छाप्दा कसैको फोटो त कसैको नाम, ठेगाना, रक्तसमूह लगायतका विवरण प्रस्ट थिएन। निजीमा झन् बढी समस्या आएपछि अहिले विभाग आफैँले श्यामश्वेत कार्ड छापिरहेको प्रवक्ता खनालले जानकारी दिए। उनले भने, “अहिले विभाग आफैँले छापेको कार्डमा प्रस्ट नभएको भन्ने गुनासो छैन।”
गत फागुनसम्ममा विभागले देशभरका कार्यालयहरुमार्फत पाँच लाख ५७ हजार २ सय ९८ स्मार्ट चालक अनुमतिपत्र वितरण गरेको थियो। आव २०७४÷७५ मा दुई लाख ९८ हजार १ सय ७५ चालक अनुमतिपत्र वितरण भएको थियो। नयाँ संविधान अनुसार यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो। सङ्घीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ। प्रदेश सरकार आफैँले कार्ड छाप्न शुरु नगर्दा सङ्घीय सरकारले नै यो काम गरिरहेको हो।रासस
प्रकाशित: ४ भाद्र २०७६ ११:०६ बुधबार