१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इन्द्रजात्रामा पहिलोपटक चीन, जापान र अमेरिकी पाहुनालाई निम्तो

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय पर्व इन्द्र जात्रालाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने चाडका रुपमा मनाउने बताएका छन्।

‘इन्द्रजात्रा नेवाः समुदायको मात्र पर्व होइन यो राष्ट्रिय पर्व हो, यसलाई सबै जातजातिको साझा पर्वका रुपमा मनाउनुपर्छ’, बुधबार इन्द्र जात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा मेयर शाक्यले भने, ‘नेवाः समुदायको बाहुल्यता भएको ठाउँमा भएकाले स्वभाविकै रुपमा नेवाः समुदायले पर्वको समन्वय गर्ने भइ नै हाल्यो। तर यो सबैको साझा पर्व हो। अब यसलाई यो वर्षबाट अन्तराष्ट्रिय स्तरमा पनि चिनाउने गरी मनाउने तयारी भएको छ। यसमा मलाई खुशी लागेको छ।’ 

उनले छलफलका क्रममा विगतका वर्षमा भन्दा यो वर्ष इन्द्र जात्रालाई भव्य रुपमा सम्पन्न गर्न महानगरपालिकाले विशेष समन्वय गरेको पनि जानकारी दिए। ‘हामीले इन्द्रजात्रा अवलोकनका लागियो वर्ष महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विभिन्न देशका धेरै नगर प्रमुखहरूलाई निम्ता गरेका छौँ। त्यसमध्ये १३ वटा नगरपालिकाका ५ मेयरसहित ४८ जनाले सहभागिता जनाउने निश्चित भइसकेको छ’, शाक्यले भने, ‘हामी अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेका छौं। हामीले उहाँहरुलाई निम्ता गर्नुको प्रमुख कारण नेपाल चिनाउनका लागि पनि हो।’ 

चीन, जापान र अमेरिकाबाट इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त–अमूर्त सम्पदाका बारेमा जानकारी गराउने तयारी समेत महानगरपालिकाले गरेको छ। ‘चार रात पाँच दिनका लागि नेपाल आउने पाहुनालाई हनुमानढोका दरबार, स्वयम्भू, चन्द्रागिरी पाटन, भक्तपुर दरबार स्क्वायरलगायतका स्थानको अवलोकन गराउने तयारी भएको छ,’ मेयर शाक्यले भने, ‘यहाँको सस्कृति, सम्पदा र पर्यटनका बारेमा जानकारी गराउन पाहुनालाई नासल चोकमा रात्रिभोजसहित साँस्कृतिक कार्यक्रम गर्ने तयारी पनि हामीले गरेका छौं।’ 

त्यसैगरी महाकाली नाच, लाखे नाच, पुलुकिसी नाचसँगै कुमारीको दर्शन र जात्रासँग सम्बन्धित विभिन्न गुठीबारे जानकारी गराउने पनि महानगरपालिकाले तयारी गरेको छ। उनले यसले भगिनी सम्बन्ध स्थापित गरेका नगरसँग यहाँको पर्यटन प्रवर्द्धनका बारेमा अनुभव आदान–प्रदान हुने बताए। विगतमा इन्द्रजात्राका लागि केन्द्र सरकारले नै आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै मेयर शाक्यले सरकारको अनुमतिअनुसार नै अघिल्लो वर्षदेखि स्थानीय सरकारले सहयोग गर्ने गरेको जानकारी पनि गराए। 

इन्द्र जात्रा के हो ?

इन्द्र स्वर्गका राजा हुन्। यो पर्व उनै इन्द्रदेवका नाममा समर्पित छ। इन्द्रदेवलाई नेपाल भाषामा ‘यमाःद्यः’ भनिन्छ। यही ‘यमाःद्यः’बाट ‘येँ’ शब्द उत्पत्ति भएको हो। काठमाडौंलाई नेपालभाषामा ‘येँ’भनिन्छ भने इन्द्रजात्रालाई ‘यँयाः’ भनिन्छ जसको अर्थ ‘काठमाडौंको जात्रा’भन्ने हुन्छ। 

राजा गुणकाम देवले व्यवस्थित काठमाडौं शहर बसाएपछि त्यसैको सम्झना स्वरुप इन्द्रजात्रा अर्थात ‘यँयाः’पर्व चलाएको विश्वास गरिन्छ। ‘यँयाः’अर्थात इन्द्रजात्रा काठमाडौंकै नामबाट चलाइएको पर्व भएको कारणले पनि काठमाडौं महानगरपालिकाले यो जात्रालाई विशेष महत्व दिई अन्तर्राष्ट्रिय रुपमै प्रचार हुने शैलीमा मनाउन लागिएको हो। 

आठ दिनसम्म चल्ने यो जात्रा हनुमानढोकामा लिंगो उठाएपछि शुरु हुन्छ। त्यसपछि जीवित देवदेवीहरू श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ काठमाडौंको माथिल्लो र तल्लो भेगमातान्ने, इन्द्रका आमाका रुपमा परिचित दागीं निकालिने, मरु टोलको बीचमा इन्द्रदेवलाई बाँधेर पूजा गर्ने, रातिबौमत निकालिने, पुरानो काठमाडौंको सीमा क्षेत्र परिक्रमा गर्ने गरी उपाकू घुम्ने, हनुमानढोकामा अवस्थित स्वेत भैरव (हाथुद्यः) र इन्द्रचोकमा अवस्थित आकाश भैरव (आजुद्यः) को मुखबाट पितृका नाममा जाँडको तर्पण गर्ने आदिजस्ता सांस्कृतिक कार्यहरू यो जात्रामा गरिन्छ। इन्द्रजात्राकै बेलादेखि काठमाडौंमा कुहिरो लाग्न शुरु हुने विश्वास गरिन्छ।

प्रकाशित: ४ भाद्र २०७६ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App