२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मनसुनमा पनि कम वर्षा

पोखरा - धेरैतिर यो मनसुनमा भीषण वर्षा हुँदा जनधनको क्षति भयो। तर नेपालमै बढी पानी पर्ने ठाउँ पोखरामा भने यो मनसुनमा निकै नै कम पानी परेको छ। प्रि–मनसुनको समयमा समेत दिनहुँ र औसत पानी परेको पोखरामा मनसुनमा भने निकै नै कम वर्षा भएको छ। यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार मनसुन (जुन–सेप्टेम्बर) मा पोखरामा औसत पानी परेको छैन।

मनसुनका मुख्य दुई महिना जुलाई र अगस्टमा सबैभन्दा बढी पानी पर्नुपर्ने भए पनि पोखरामा ती दुई महिनामा योपटक निकै नै कम पानी परेको कार्यालयका प्रमुख राजारामप्रसाद ढकालले बताए। ‘यो मनसुनमा पोखरामा निकै नै कम पानी परेको छ। औसत पानी समेत परेको छैन,’ ढकालले भने, ‘पानी पर्ने समय अझै बाँकी छ। जुलाईमा त औसत वर्षा नै भएन। अगस्टमा पनि निकै नै कम पानी परेको छ। अगस्टमा पनि औसत पानी पर्ने सम्भावना कम छ।’ अगस्टको अझै केही दिन बाँकी रहे पनि औसत पानी पर्ने सम्भावना कम रहेको उनले बताए।

हावापानी कार्यालयका अनुसार पोखरामा जुन महिनामा ६ सय ६९ मिलिमिटर वर्षा हुनुपर्नेमा ६ सय ८ मिलिमिटर परेको थियो। जुलाईमा ९ सय ४० मिलिमिटर पर्नुपर्नेमा ५ सय ४५ मिलिमिटर मात्र परेको थियो। अगस्टमा पनि ९ सय ४० मिलिमिटर पानी पर्नुपर्नेमा अहिलेसम्म (१९ अगस्ट) १ सय ५५ मिलिमिटर मात्र वर्षा भएको छ। ‘जुन महिनामा पोखरामा औसत पानी परेको मान्नुपर्छ। किनकि ९० प्रतिशत वर्षालाई हामी औसत मान्छौं। तर जुलाईमा त आधाभन्दा केही बढी मात्र परेको छ,’ ढकालले भने, ‘त्यस्तै अगस्टमा परेको पानी पनि कम हो। अगस्टको अझै केही दिन बाँकी भए पनि अहिलेसम्मको वर्षाले औसत भेट्न मुस्किल छ।’ सेप्टेम्बरमा पोखरामा ६ सय ४० मिलिमिटर वर्षालाई औसत मानिन्छ।

ढकालका अनुसार यो वर्ष प्री–मनसुन (मार्च–मे) मा भने पोखरामा औसत वर्षा भएको थियो। मार्चमा पोखरामा ६० मिलिमिटर वर्षा हुनुपर्नेमा यसपटक ९१ मिलिमिटर वर्षा भएको थियो। अप्रिलमा १ सय २७ मिलिमिटर वर्षा हुनुपर्नेमा १ सय ७० र मेमा ३ सय ५९ मिलिमिटर वर्षा हुनुपर्नेमा ३ सय ५० मिलिमिटर वर्षा भएको थियो। ‘प्री–मनसुनमा पोखरामा औसत पानी परेको हो। तर मनसुनमा पानी परेन,’ ढकालले भने, ‘हामीलाई पानी चाहिने सिजन मनसुन हो। धान रोप्ने सिजन भएकाले किसानलाई पनि यो बेला पर्याप्त पानी चाहिन्छ। तर पोखरामा यसपटक कम पानी परेको छ।’
ढकालका अनुसार पानी यो वर्ष मात्र कम परेको होइन, पछिल्लो पाँच वर्षदेखि पोखरामा मनसुनको बेला निकै नै कम पानी पर्न थालेको छ। सन् २०१८ मा पोखरामा जुनमा ३ सय ६५, जुलाईमा ६ सय ३९, अगष्टमा ६ सय र सेप्टेम्बरमा ५ सय ५७ मिलिमिटर वर्षा भएको थियो।

२०१७ मा पोखरामा जुनमा ४ सय ८२, जुलाईमा १ हजार ७१, अगस्टमा ६ सय २० र सेप्टेम्बरमा ७ सय १२ मिलिमिटर वर्षा भएको थियो। २०१६ जुनमा ५ सय ८९, जुलाईमा ८ सय ७७, अगस्टमा ३ सय ८१ र सेप्टेम्बरमा ९ सय ७२ मिलिमिटर वर्षा भएको कार्यालयको तथ्यांक छ। त्यस्तै २०१५ मा जुनमा ५ सय ६, जुलाईमा ९ सय २३, अगस्टमा ७ सय ८१ र सेप्टेम्बरमा ७ सय २ मिलिमिटर वर्षा भएको थियो।

‘मनसुनको चार महिनामा वर्षभरि हुने वर्षाको ९० प्रतिशत पानी पर्नुपर्छ,’ ढकालले भने, ‘मनसुनमा पानी नपर्ने हो भने त्यो वर्ष निकै नै कम पानी परेको मानिन्छ।’ मनसुनमा पानी नपरे खेतीपाती पनि नफस्टाउने भएकाले यो बेला वर्षा आवश्यक रहेको उनले बताए। कम वर्षा हुँदा यसपटक पोखरा सेरोफेरोमा मूलसमेत फुट्न नपाएको उनले बताए। ‘सातदिने झरी लाग्ने गर्दथ्यो, योपटक त झरी नै लागेन,’ ढकालले भने, ‘दिनरात झरी नपर्दा मूल फुट्नसमेत पाएन।’
ढकालका अनुसार मनसुनमा बढी पानी पर्ने सिजन नै हो।

‘वर्षाको वार्षिक चक्रअनुसार मनसुनमा बढी पानी पर्नुपर्छ,’ ढकालले भने। उनका अनुसार यो मनसुनमा कम पानी पर्नुमा मूल कारण बंगालको खाडीबाट आएको वाष्पलाई प्रशान्त महासागरबाट आएको वाष्पले अवरोध गरेकाले पानी कम परेको हो। ‘मनसुनको समयमा बंगालको खाडीबाट आएको वाष्पबाट नेपालमा वर्षा हुन्थ्यो तर यसपटक बंगलको खाडीबाट आएको वाष्पलाई प्रशान्त महासागरबाट उत्पन्न भएको वाष्पले अवरोध गरेको छ,’ उनले भने, ‘त्यसले वर्षा कम गराएको हो।’ प्रशान्त महासागरको अवरोधबाहेक पछिल्लो समय जलवायु परिवर्तनको असरले पनि कम वर्षा भएको छ। त्यसबाहेक वृक्षरोपण नहुनु, सहरीकरण बढ्दै जानु, पानीको स्रोत सुक्दै जानु, जनघनत्व बढ्दै जाँदा पनि वर्षा कम हुँदै गएको उनले बताए।

५० वर्षकै कम पानी
पोखरामा सन् १९७० सालदेखि वर्षा मापनको तथ्यांक राख्न थालिएको थियो। सन् १९९८ मा पोखरामा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिलिमिटर वर्षा भएको थियो। सबैभन्दा कम सन् २०१८ मा पोखरामा २९ सय ३४ मिलिमिटर वर्षा भएको थियो। सन् २००५ र २००६ मा पनि पोखरामा २९ सय हाराहारीमा वर्षा भएको थियो। सन् २०१५ मा पोखरामा ३६ सय ७२ मिलिमिटर वर्षा भएको थियो। सन् २०१६ मा ३५ सय १७ र २०१७ मा ३६ सय ८३ मिलिमिटर वर्षा भएको थियो। ‘वर्षैभरको पानी कम पर्न थालेको छ। यस्तै अवस्था आउँदा आगामी दिनमा कतिपय क्षेत्रमा पुरै सुक्खा हुन सक्छ,’ ढकालले भने।

प्रकाशित: ३ भाद्र २०७६ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App