मकवानपुर - हेटौंडा उपमहानगरपालिका–१२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवारले घर र रोजगारी पाउने भएको छ। मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लागि हेटौंडा उपमहानगरपालिकाले दुईकोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो।
साउन २१ गते परिवारको दुःख र समस्याबारे नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि उनीहरूको दयनीय अवस्थाबारे सरोकारवालाले चासो दिएका हुन्। परिवर्तन सामुदायिक वनभित्र बस्दै आएको सो परिवारका लागि उपमहानगरपालिकाले पक्की घर बनाइदिने मेयर हरिबहादुर महतले बताए। उनका अनुसार परिवारका एकजना सदस्यलाई सरसफाइसम्बन्धी रोजगारीसमेत दिइनेछ।
सार्वजनिक जग्गामा बसेका कारण स्थानीय केही व्यक्तिले त्यहाँबाट निकाल्छु भन्ने गरेका छन्। मसानघाटमा बसेको पनि देखी सहँदैनन् मान्छेहरू।
दुई वर्षदेखि मसानघाटमा बस्दै आएको विक परिवारमा पतिपत्नी, चार वर्षीय छोरा, ११, १० र डेढ वर्षीया गरी तीन छोरी छन्। जंगलभित्र सुनसान स्थानमा रहेको उनीहरू बसेको छाप्रोनजिकै मान्छे जलाउने तीन वटा मसानघाट छन्।
यसअघि प्रदेश तीनकी सांसद जुनेली श्रेष्ठलगायत विभिन्न गैरसरकारी संघसंस्थाले सो परिवारका सदस्यलाई रोजगारी र बालबालिकालाई शिक्षामा सहयोग गर्न चासो देखाएका थिए।
आफ्नो घर, जग्गा र कमाइ नभएपछि बाध्यताले मसानघाटमै बस्नुपरेको ३० वर्षीया पार्वतीको दुःखमा उपमहानगरको आश्वासनले थोरै भए पनि मलहम लगाएको छ। ‘अप्ठेरो त छ नि ! आफ्नो जग्गा–जमिन केही छैन। के गर्नु, जस्तो ठाउँमा भए पनि बस्नु परिहाल्यो हजुर,’ उनले भनिन्, ‘हामीलाई पनि मन छ नि टाउको लुकाउने घर बनाउने। तर छैन के गर्नु !’
ससाना छोराछोरी मसानघाट छेउ रहेको छाप्रोमा बिहानै छाडेर खानेकुराको जोहो गर्न पतिपत्नी दिनभर श्रम गर्छन्। मेलापात, लेबर काम गरेर तरकारी, चामल, पिठोको जोहो गर्ने गरेको उनले सुनाइन्। ‘पतिले लेबर काम गरेर पाँच–छ सयसम्म कमाउनुहुन्छ,’ उनले भनिन्, ‘सानी छोरी दूध खाने भए पनि घरमै छोडेर जानुपर्ने बाध्यता छ। भनेको ठाउँमा भनेको दिन नगए पछि काम गर्न नबोलाउलान् भन्ने पीर लाग्छ।’
मसानघाट छेउमा बसे पनि विक परिवारलाई दुःख दिन चाहनेको कमी छैन। सार्वजनिक जग्गामा बसेका कारण स्थानीय केही व्यक्तिले त्यहाँबाट निकाल्छु भन्ने गरेको सुनाउँदै उनले भनिन्, ‘यस्तो ठाउँमा बसेको पनि देखी सहँदैनन् मान्छेहरू। यहाँबाट पनि कुन बेला हट्नुपर्ने हो भन्ने चिन्ता लागिरहन्छ।’ त्यसबाहेक वर्षाका बेला पानी चुहिएर बस्न निकै कठिन हुने उनले बताइन्। ‘झरी परेको बेला पानी चुहिएर बस्न मिल्दैन,’ विकले भनिन्, ‘बच्चाहरूलाई जसोतसो सुतायो, बुढा–बुढी त टक्र्याक–टुक्रुक बस्ने हो रातभरि।’
मसानघाटछेउमा बसेका उनीहरू भूतप्रेतको भन्दा पनि खराब आचरण भएका मान्छेको डर लाग्ने बताउँछन्। उनले सुरक्षाका लागि सिरानी–सिरानीमा हँसिया राखेर सुत्ने गरेको बताइन्।
गाउँघरमा हिंसा, बलात्कारका घटनाबारे सुन्दा छोरीहरू सम्झेर उनी झनै आत्तिन्छिन्। ‘छोरीहरूमाथि त्यस्तै अन्याय होला कि भन्ने चिन्ताले सताउँछ तर के गर्नु न सँगै लिएर हिड्न मिल्छ, न सँगै बसेर खान पाइन्छ,’ उनले भनिन्। मोटरसाइकलकोे ठक्करबाट छोराको खुट्टा भाँचिएपछि विक परिवार चिन्ता थपिएको छ। जसोतसो छोराको उपचार त भयो तर छोरा बिरामी भएकैले माइली छोरी स्कुल जान पाएकी छैनन्। जेठी छोरी बल्ल दुई कक्षामा पढ्दै छिन्।
‘हामीसँग पैसा छैन, दलितहरूलाई छुट गर्नु न भन्दा मान्दैनन्,’ उनले भनिन्, ‘ड्रेस, किताब पनि किन्नुपर्ने भएकाले आमाजूकहाँ राखेर पढाएका छौं।’ ‘हाम्रो जीवन दुःखै–दुःखमा बित्यो,’ उनले सुस्केरा हाल्दै भनिन् ‘छोराछोरीको भविष्य भने राम्रो बनाउने चाहना छ।’
प्रकाशित: ३२ श्रावण २०७६ ०१:२६ शनिबार