१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी र रवि समर्थकबीच झडप, असइसहित सात प्रहरी घाइते

चितवन– जिल्ला प्रहरी कार्यालय चितवन अगाडी प्रर्दशन गरिरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, मुढा र रड प्रहार भएपछि स्थिती नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

दिनभरी संयमित भएर प्रर्दशन गरिरहेका प्रर्दशनकर्ताले बेलुकी करिब ६ः४५ बजे प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

घटनामा एक जना असईसहित सात जना प्रहरी घाइते भएको उनले बताए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको छ। घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए। प्रदर्शनकारीले प्रहरी कार्यालयको गेट बाहिर सुरक्षा दिएर बसेकामाथि आक्रमण गरेपछि स्थिती नियन्त्रणमा लिन १० सेल अश्रुग्यास प्रहार गरिएको उनले बताए। ’संयमित भएर बसिराखेको प्रहरीमाथि एक्कासी आक्रमण भएपछि अश्रुग्यास प्रहार गरिएको हो‘ उनले भने, ‘त्यसपछि प्रर्दशनकारी तितर वितर भए अहिले स्थिती सामान्य छ।’

घटनामा संलग्न भएको आरोपमा न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई बिहिबार काठमाडौंबाट पक्राउ गरि चितवन ल्याईएको छ। प्रहरी कार्यालय अगाडी शुक्रबार बिहानैदेखि लामिछाने समर्थकले नाराबाजी गरिरहेका थिए। पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएपछि प्रर्दशन थप चर्किएको थियो। चितवन जिल्ला अदालतले लामिछानेसँगै युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै सुरु हुने गरि ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन्। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको मृतक पुडासैनीले बोलेका थिए। 

 

प्रकाशित: ३१ श्रावण २०७६ १४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App