इटहरी - एक साताअघि कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र सुनसरी बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाईगोरुमा प्रदेश १ को ल्याब प्रयोगशालामा ‘एन्थ्रेक्स’ को जीवाणु भएको देखिए पनि केन्द्रमा गरिएको परीक्षणमा भने देखिएन। मरेका गाईगोरुको रगतको नमुना पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा ‘एन्थे्रक्स’ जीवाणु देखिएको थियो। पछि थप परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको थियो। त्रिपुरेश्वरबाट आधिकारिक रिपोर्टको चिठी प्रदेश र जिल्लालाई सकुर्लर प्राप्त भई नसके पनि टेलिफोनमा एन्थ्रेक्सको जीवाणु नभेटिएको जानकारी दिइयो।
‘एन्थ्रेक्सको जीवाणु जति देखिनुपर्ने हो त्यो देखिएन भनेर केन्द्रीय परीक्षण प्रयोगशालाबाट जानकारी आएको छ,’ प्रदेश–१ पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डाक्टर संजयकुमार यादवले भने। उनका अनुसार केन्द्रीय ल्याबमा जटिल टेस्ट आरटी पिसिआर टेस्ट गर्दा पनि एन्थ्रेक्स नदेखिएको सूचना आएको छ।
‘केन्द्रीय प्रयोगशालाको चिठी प्राप्त भइसकेको छैन तर टेलिफोन संवादमा सबै सूचना आइसकेको छ,’ उनले भने, ‘एन्थ्रेक्स हुँदा कोसीटप्पुको मध्यवर्ती क्षेत्रका जनावर अनि वरपरका घरेलु जनावर र मानिसमा खतराले गर्दा त्रास थियो। अब त्रसित हुनुपर्ने अवस्था छैन।’
श्रीलंका टापुमा मरेका गाईगोरुमा एन्थ्रेक्स नै भएमा अर्ना, अरू जनावर, घरेलु जनावर र मानिसलाई ठूलो खतरा हुने हुँदा कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा त्रास बढेको थियो।
प्रदेश–१ को पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ‘एन्थ्रेक्स’ को जीवाणु भएको रिपोर्ट आएपछि मध्यवर्ती तथा सेरोफेरोका क्षेत्रमा त्रास बढेको थियो। एन्थ्रेक्स नै भएमा आरक्षका अर्ना, अरू जनावर, घरेलु जनावर र मानिसलाई ठूलो खतरा हुने हुँदा त्रास बढेको थियो। प्रारिम्भक रिपोर्टमा एन्थ्रेक्स पोजेटिभ देखिएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक महानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा एक टोलीसमेत कोसीटप्पु आएको थियो।
कँडेल नेतृत्व टोलीले केन्द्रबाट रगतको नमुना परीक्षण भएर एन्थ्रेक्स नै भएको प्रमाणित भएपछि मात्र ‘एक्सन’ मा जाने र अरू पनि परीक्षण गरिने जनाएको थियो। एन्थ्रेक्स ब्याक्टेरिया (जीवाणु) हावा, पानी र माटोबाट सर्छ, जसले गर्दा प्रभावित क्षेत्रको माटो पनि परीक्षण गर्न दिइएको छ। माटोको रिपोर्ट भने आइसकेको छैन।
सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा कोसीटप्पु वन्यजन्तु आरक्ष फैलिएको छ। आरक्षकै मध्यवर्ती क्षेत्र सप्तकोसीको पूर्वी तटबन्ध सुनसरी प्रकाशपुरबाट मुख्य भँगालो पार गरेर करिव तीन किलोमिटर पार गरेपछि पुगिने बराहक्षेत्र ६ र ९ नम्बर वडाको बस्ती श्रीलंका टापु क्षेत्रमा गाईगोरु मृत भेटिएका थिए। मरेका गाईगोरुको नाक, मुख, कान, आँखा र पछाडिको मलद्वारबाट रगत निस्किएको थियो। वर्षायाममा पूर्व र पश्चिम दुवैतर्फ कोसीको पानीले घेरिएपछि श्रीलंका तथा गरैया बस्तीले टापुको रूप धारणा गर्ने गर्छ।
प्रकाशित: ३१ श्रावण २०७६ ०१:१३ शुक्रबार