गोरखा– गोरखा नगरपालिका–१० स्थित मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका सहयोगी (भान्से) स्थानीय श्यामहरि घिमिरे (५०) मृत भेटिएका छन्। गयराति विद्यार्थीलाई खाना खुवाएर विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी गर्दा आज बिहान उनी मृत अवस्थामा विद्यालय नजिकै भेटिएका हुन्।
विद्यालयको गेट नजिकै रहेको गोरखा–खैरेनी सडक खण्डबाट करिब दुई सय मिटर तल उनको शव भेटिएको प्रहरीले जनाएको छ। टाउको र खुट्टामा चोट लागेको, उनले लगाएको टिसर्ट च्यातिएकाले परिवारले भने हत्या भएको हुन सक्ने आशंका गरेका छन्।
घिमिरे १८ वर्षदेखि उक्त विद्यालयमा सहयोगीको रुपमा काम गर्दै आएको प्रधानाध्यापक अनिल अम्गाईले बताए। बेलुकीको खाना विद्यार्थीलाई खुवाएर ८ देखि ९ बजे भित्र उनी घर जाने गर्थे। जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले प्रहरीले घटनास्थलको मुचुल्का गरेर थप अनुसन्धान गरिरहेको बताए।
प्रकाशित: २८ श्रावण २०७६ ०५:१६ मंगलबार