२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार मुद्दा चल्दाचल्दै फेरिन्छ बयान

दाङ - २०७५ फागुन २ गते राति एक प्रहरी हवल्दार तुलसीपुर फूलबारीस्थित एक महिलाको घरमा प्रहरी पुगे।  पानी पिउने बहानामा उक्त घरमा पुगेका इप्रका फूलबारीमा कार्यरत एक प्रहरी हवल्दारले घरमा रहेकी एक महिलालाई बलात्कार गरे।  प्रतिकार गर्न खोज्दा घाँटी र गालामा चोट लागेकी ती महिलाले बलात्कारी प्रहरी हवल्दारविरुद्ध फागनु ३ गते उजुरी हालिन्। 

प्रहरीले हवल्दारलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दा चलायो।  तर जिल्ला अदालतले २०७६ जेठ १९ गते ती प्रहरी हवल्दारलाई सफाइ दियो।  २०७५ फागुनदेखि २०७६ जेठसम्म चलेको यो मुद्दामा सुरुमा उनै प्रहरी हवल्दार बलात्कारी रहेको पीडित महिलाले दाबी थियो।  तर पछि पीडित महिलाले उक्त घटनाका बारेमा फरक बयान दिँदै भनिन्, ‘बलात्कार भएको हैन। ’

घोराहीका एक व्यापारीले घरमा काम गर्दै आएकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरे।  घरमालिकले २०७५ फागुन २० गते आफूलाई बलात्कार गरेको भन्दै पीडितले परिवारलाई जानकारी गराएपछि परिवारले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो।  ती बालिकाले घर मालिकले आफूलाई ६ महिनायता पटकपटक बलात्कार गर्दै आएको बयान दिइन्।  पीडित परिवारको उजुरीका आधारमा प्रहरीले वैशाख ८ गते घरमालिकलाई नियन्त्रणमा लियो।  सोही दिन प्रहरीले जबर्जस्ती करणी मुद्दा अदालतमा दर्ता ग¥यो।  तर बलात्कार आरोपित ती घरमालिकले २०७६ असार २२ गते अदालतबाट सफाइ पाए।  यो घटनामा पीडकले सफाइ पाउनुको कारण पनि ‘पीडित पक्षको बयान फरक हुनु’ थियो।

सुरुमा मुद्दा हाल्ने तर पछि आर्थिक लेनदेनमा केस टुंग्याउनुपर्छ भन्ने मानसिकताले काम गर्दै जान्छ।  रकम बार्गेनिङमा सहमति भयो भने अदालतमा बयान फेरिन्छ अनि दोषीले सफाइ पाउँछन्।

सुरुमा पीडक भनिएकाले आफूमाथि बलात्कार भएको भन्दै मुद्दा हाल्ने तर पछि मुद्दा चलिरहेकै अवस्थामा बयान फेर्ने गरेका पछिल्ला दृष्टान्त हुन्, उल्लिखित घटना।  पीडितले बयान फेर्दै पीडकलाई निर्दोष सावित गरिदिएका यस्ता घटना जिल्लामा थुप्रै छन्।  यतिसम्म कि सुरुमा अदालतमा आफू पीडित भएको बयान दिनेहरूले पछि बयान फेरेर अदालतलाई नै झुक्याउने गरेका छन्।

मानवअधिकार क्षेत्रको काम गर्दै आएको संस्था इन्सेकका अनुसार अदालतमा बयान फेरिने गरेका घटनामा बलात्कारसम्बन्धी मुद्दा सबैभन्दा बढी छन्।  इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार सुरुमा आफू बलात्कृत भएको भन्दै न्यायको याचानासहित अदालतसम्म जाने तर मुद्दा चल्ने क्रममै बयान फेर्न र पीडक भनिएकाले सफाइ पाउने गरेका घटनाहरू उल्लेख्य छन्। ’

बलात्कारका घटनामा फेरिने बयानको मूल कारण आर्थिक लेनदेन रहने गरेको छ।  सुरुमा घटनाका पीडितहरूले पीडा सहन नसकेर पीडकलाई न्यायको कठघरामा उभ्याउन मुद्दामामिला गर्ने तर घाउ पुरानो हुँदै जाँदा यस्ता घटनाहरू आर्थिक लेनदेनमा गएर टुंगिने गरेको कानुन व्यवसायीहरू बताउँछन्।  आर्थिक लेनदेनमा सहमति भएपछि पीडितहरूले अदालतसामु ‘आफू बलात्कृत नभएको व्यक्तिगत रिसइबीका कारण मुद्दा हालेको’ सम्मका बयान दिने गरेका छन्।  ‘सुरुमा मुद्दा हाल्ने तर पछि आर्थिक लेनदेनमा केस टुंग्याउनुपर्छ भन्ने मानसिकताले काम गर्दै जान्छ,’ अधिवक्ता निर्मल गौतमले भने, ‘रकम बार्गेनिङमा सहमति भयो भने अदालतमा बयान फेरिन्छ, अनि दोषी भनिएकाहरूले सफाइ पाउँछन्। ’

यता जिल्ला अदालतले समेत समाजमा हुने आर्थिक चलखेलका कारण बयान फेरिने गरेको बताउँछ।  बलात्कारसम्बन्धी मुद्दा दर्ता हुनासाथ समाजमा घटनालाई साम्य पार्न आर्थिक लेनदेनको विषयले प्रवेश पाउने गरेको जिल्ला अदालतका स्रेस्तेदार धनीप्रसाद चपाईंले बताए।  त्यही आर्थिक लेनदेनको विषयले बयानसमेत फेरबदल पार्ने गरेको उनले बताए।  ‘कुनै पनि बलात्कारसम्बन्धी घटना दर्ता हुनासाथ पीडित र पीडक पक्षविच आर्थिक लेनदेनको बार्गेनिङ सुरु हुन थाल्छ,’ उनले भने, ‘अनि आर्थिक रकममा मिल्ने यस्ता घटनामा अदालतसामु फरक बयान आइपुग्छ। ’

सुरुमा आफू पीडित भएको भनेर कसैलाई आरोप लगाउँदै मुद्दा दर्ता गर्ने तर पछि अदालतलाई झुक्याएर बयान दिनेहरूलाई कानुनी कारबाही गर्ने अधिकार अदालतलाई छ।  तर झुठो बयान दिएर अदालतलाई झुक्याएको कसुरमा अदालतले कारबाही गरेको घटना भने नभएको कानुन व्यवसायीहरू बताउँछन्।  कानुन व्यवसायी निर्मल गौतमका अनुसार बयान फेरेर अदालतलाई झुक्याउने घटना भनेका सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना नै हुन्।  तर बलात्कारसम्बन्धी घटनामा बयान फेर्नेहरूलाई अहिलेसम्म कारबाही भएको छैन। ’

अदालतले पीतिडको बयान फेरिए पनि घटनाका दोषी भनिएको व्यक्ति पेस भएको मिसिलबाट दोषी प्रमाणित भए बयान फेर्नेलाई कारबाही गर्ने व्यवस्था रहेको छ।  कानुन व्यवसायीहरूका अनुसार सत्य प्रमाणित घटनामा समेत झुठो बयान दिएर अदालतलाई झुक्याउन खोजेको खण्डमा कैद तथा जरिवानाको कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।  जिल्लामा पुसयता ६ महिनाको अवधिमा ४३ वटा बलात्कारका घटना भएका छन्।

प्रकाशित: २८ श्रावण २०७६ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App