खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको छ।
दुधकोसीको पानी गाउँमा निकाल्नका लागि सुरु गरिएको आयोजनाको कामको अवधि करिव ५ महिना बाँकी रहँदा करिब २५ प्रतिशत मात्र काम सकिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। म्याद सकिन लाग्दासम्म पनि मुख्य ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभीले अपेक्षित र सन्तोषजनक प्रगती देखाउन नसकेको भन्दै हलेसी तुवाचुङ नगरपालिका घर भएका नेताको टोलीले खानेपानी मन्त्री बिना मगरको ध्यानाकर्षण गराएको छ।
दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का लिएको मुख्य ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभीको काममा ढिलासुस्ती भएको भन्दै मेयर राई, युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष सुरेन्द्र राई लगायतको टोलीले मन्त्री मगरको ध्यानाकर्षण गराएका हुन्।
२०७६ साल पुस १७ गतेसम्ममा काम पूरा गर्नेगरी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते कामको सम्झौता गरेको थियो। सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाको खानेपानीको विकराल समस्या हल गर्नका लागि सुरु गरिएको करोडौंको आयोजनाको कामले अपेक्षित प्रगती देखाउन नसकेकाले मन्त्रीलाई द्रुत गतिमा काम अघि बढाउन पहल गर्न आग्रह गरिएको मेयर राईले बताए।
वितरण लाईनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन जेभी र रमम–सगरमाथा घिमिरे जेभीको काम समेत सन्तोषजनक नदेखिएको स्थानीयको गुनासो छ। दुधकोसीको पानीलाई भुम्जुडाँडा र काभ्रेडाँडामा निकालेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्यकासाथ बृहत पम्पिङ खानेपानी आयोजनाको काम अघि बढाइएको हो। करिब ९२ करोडको लागतमा सुक्खाग्रस्त घोषित वडामा दुधकोसीबाट दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने तयारी गरिएको छ। सुक्खाग्रस्त क्षेत्रका ७ वडामा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको बिकल्प छैन।
बाहुनीडाँडाको लुलीमाबाट १३०४ मिटर उचाईमा रहेको भुम्जुडाँडामा निकालिने मेनलाईनको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेका उपभोक्ताको घर–घरमा वितरण गरिने छ । यस्तै, सल्लेको महादेवबेँसीबाट १३३५ मिटर उचाईमा रहेको काभ्रेडाँडामा निकालिने पानीलाई हलेसी, दुर्छिम र मंगलटारमा वितरणको तयारी छ।
काभ्रेडाँडा र भुम्जुमा ४/४ लाख लिटर क्षमताको ट्यांकीमा पानी संकलन गरेर गाउँमा वितरण गरिने उपभोक्ता समितिले जनाएको छ। पानीको श्रोत नभएको तथा जनसंख्य बृद्धिका कारण भएका श्रोतले अपुग हुन थालेकोले हलेसी क्षेत्रलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। २०७५ साल माघ २४ गते गरेको अनुगमनका क्रममा नगरपालिकाले वितरण लाईन अन्तरगत च्यास्मीटारमा निर्माणाधीन ७० हजार लिटर क्षमताको आरभिटी ट्यांकीको जग निर्माणको काम गुणस्तरहीन भएको औंल्याएको थियो।
प्रकाशित: २७ श्रावण २०७६ १०:३७ सोमबार