४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुरमा बीउ एटिएम

ललितपुर – ललितपुर महानगरपालिकाले कौसी र करेसाबारी खेतीलाई लक्षित गर्दै पहिलोपटक बीउ एटिएम सञ्चालनमा ल्याएको छ।  महानगरपालिकाको प्रांगडमा राखिएको एटिएम मेसिनको उद्घाटन आइतबार कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी र महानगरका मेयर चिरिबाबु महर्जनले गरे।

मेसिनमा पैसा छिराएर आफूलाई चाहेको बीउ लिन सकिनेछ।  मेसिनभित्र बीउ राखिएको मेयर चिरिवाबु महर्जनले जानकारी दिए।  उनले आधुनिक कृषि उपजलाई ध्यानमा राख्दै घरमै पनि सामान्य तरिकाले कृषि उत्पादन गर्न सकिने बीउहरु मेसिनमा राखिएको बताए।  ‘हामीले यो पहिलो प्रयास गरेका हौं, यो प्रभावकारी भयो भने महानगरपालिका अन्य वडामा पनि विस्तार गर्छाैं,’ उनले भने, ‘अहिले १५ सय घरधुरीलाई लक्षित गरेका मेसिनभित्र बीउ राखेका छौं। ’ उनका अनुसार बीउको मूल्य २० रुपैयाँदेखि माथि राखिएको छ।  ग्राहकले मेसिनमा पैसा खसाएर आफूलाई चाहिएको बीउ स्क्रिनमा देखाइएको जानकारीबमोजिम थिचेर लिन सक्नेछन्।  सार्वजनिक निजी साझेदारी मोडेलअन्तर्गत सक्कल एग्रो एन्ड सिड ट्रेडर्ससगँको सहकार्यमा बीउ एटिएम सञ्चालन गरिएको हो।

भारतीय कृषि उपकरण कम्पनी बेटा अटोसँग साढे तीन लाख भारुमा महानगरपालिकाले एटिएम मेसिन खरिद गरेको जानकारी इन्जिनियर विजय खड्काले दिए।  उनले अहिले बीउ एटिएम परीक्षण सफल भएमा महानगरका २९ वटै वडामा विस्तार गरिने बताए।  ‘यसलाई हामीले ट्रायलको रुपमा लिएका छौं, प्रभावकारी र किसानका निम्ति राम्रो भयो भने अरु वडा कार्यालयमा पनि राख्छौं,’ उनले भने। 

उनका अनुसार एटिएममा मौसमी तरकारीका बीउलाई प्राथमिकता दिएर राखिएको छ।  काँक्रो, सिमी, तीतेकरेला, रायो, बन्दा, बोडी, काउली, मुला, गोलभेंडालगायतका बीउ एटिएममा राखिएको छ।  कृषकको माग अनुसार यसमा थप्दै जाने महानगरपालिकाले जनाएको छ।  एटिएम मेसिनभित्र सुपारी, डेलिया, सूर्यमुखी, जलबेडा, सयपत्रीलगायत फूलका बीउ पनि राखिएको छ।

प्रकाशित: २७ श्रावण २०७६ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App