२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निर्धारित समयअघि नै निर्माण सक्ने लक्ष्य

आयोजनाका लागि ल्याएर इलाम नगरपालिका–५, बरबोटेमा भण्डारण गरिएको पाइप।तस्बिरः भीम/नागरिक

इलाम–  इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि सामग्री संकलन धमाधम भइरहेको छ। केही दिनपछि आयोजना सुरु गर्न पाइपलाइन, सिमेन्ट, गिटी, बालुवा, इँटालगायत सामग्री भण्डारण गरिरहेको आयोजनाले आइतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।

निर्माणको काम सम्पन्न गर्न इलाम नगरपालिका–५, बरबोटेमा कार्यालय स्थापना गरिएको छ। ट्यांकी रहने स्थानको माटो परीक्षण, गिटी, बालुवा, पाइपलगायत सबै वस्तुको प्रयोगशाला परीक्षणसमेत भएको आयोजनाका इन्जिनियर विवेक झाले जानकारी दिए। ‘केही दिनपछि काम सुरु हुन्छ,’ उनले भने, ‘प्रयोग गरिने सामानको प्रयोगशाला परीक्षण गरिएको छ, केहीको रिपोर्ट आउन बाँकी छ।’

निर्माण ठेक्का लिएको रमण कन्स्ट्रक्सन एन्ड जिआइइटिसी जेभीले अहिलेसम्म आयोजनाको १८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिएको छ। निर्माण कम्पनीका प्रबन्धक तथा इन्जिनियर मेघराज धिमालले १५ प्रतिशत रकम खर्च भइसकेको बताए। ‘अहिलेसम्म ४३ किलोमिटर पाइप र त्यसको फिटिङ्स आइसकेको छ,’ धिमालले भने, ‘अहिलेसम्ममा ७ प्रतिशत मात्रै काम सक्दा हुनेथियो तर निर्धारित समयभन्दा पहिले नै काम सक्ने लक्ष्यमा रहेकाले त्योभन्दा बढी नै गरेका हौं।’ उनले पहाडी क्षेत्र भएकाले आयोजना सम्पन्न गर्न चुनौतीपूर्ण भएपनि स्थानीयको पर्याप्त सहयोग पाएकाले लक्ष्यअनुसार नै सम्पन्न गर्नेमा आफूहरू ढुक्क रहेको पनि जनाए। निर्माणको काम चाहिँ सुरु हुनै लागेको उनले जनाए।

सदरमुकामलाई आउँदो २० वर्षसम्म पुग्नेगरी ४० किलोमिटर टाढा गिताङ मुहानबाट पानी ल्याउन लागिएको हो। एसियाली विकास बैंक (एडिबी)को मुख्य लगानीमा आयोजना निर्माण हुन लागेको हो। आयोजनाको उपभोक्ता समिति र निर्माण कम्पनीबीच ५७ करोड ९५ लाख रुपैयाँमा निर्माण सक्ने सम्झौता भएको थियो। साविक नगरपालिकाले पानी ल्याएको गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट १०–१० लिटर र सुम्बेकको भाँडीखोलाबाट प्रतिसेकेन्ड ५ लिटर पानी जस्बिरेमा रहने ट्रिटमेन्ट प्यान्टसम्म ल्याइने छ।

त्यहाँबाट ल्याएको पानी जम्मा गर्न गुम्बाडाँडा, महेन्द्ररत्न क्याम्पस, गोलाखर्क र तिल्केनीमा नयाँ ट्यांकी निर्माण गरिनेछ। गढी, टुँडिखेल,  शिखरनगर र कर्मचारी मिलन केन्द्रनजिकका पुराना ट्यांकी पनि मर्मत गरी प्रयोग गरिने आयोजनाले जनाएको छ। ‘यी ट्यांकीबाट वितरण लाइन विस्तार गरी उपभोक्ताका घर–घरमै आयोजनाले पानी पु-याउने छ,’ आयोजनाको निर्माण समिति अध्यक्ष केदार थापाले भने, ‘प्रतिउपभोक्ताबाट सुरुमा उठाएको १५ हजार २ सय रुपैयाँबाहेक धारा घरमा पु-याउन अरू खर्च लाग्दैन।’ मुख्य र वितरण लाइनमा गरी डेढ सय किलोमिटर पाइप आवश्यक पर्नेछ।

सम्झौताअनुसार २ वर्षभित्र आयोजना सम्पन्न भएपछि इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी आउने छ। आयोजनाबाट २८ हजार १ सय ७२ उपभोक्ता लाभान्वित हुनेछन्। यही आयोजनाले २० वर्षपछि अर्थात् सन् २०३९ मा ३९ हजार ८ सय ६० उपभोक्ताको माग पूर्ति गर्ने अनुमान छ। अहिले सदरमुकाममा प्रतिसेकेन्ड ८ देखि १० लिटर खानेपानी आइरहेपनि उपभोक्ताको माग २२–२३ लिटरको रहेको इलाम नगरपालिकाले जनाएको छ।

आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्नेछ। सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका छन्। २५ प्रतिशत रकम सदरमुकाम रहेको इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ। नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो। २० वर्षभित्र ५ प्रतिशतको सहुलियत ब्याजदरमा नगरपालिकाले यो ऋणको ब्याज तिर्ने सम्झौता भइसकेको छ। आयोजना निर्माणको काम ३१ मार्च सन् २०२१ मा सकिने सम्झौता छ। त्यसपछि १ वर्षसम्मको मर्मत–सम्भारसमेत निर्माण कम्पनीले नै गर्नेछ।

प्रकाशित: २६ श्रावण २०७६ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App