३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश सरकारले खडेरी र वर्षा प्रभावित क्षेत्रको निरक्षिण गर्ने

दिक्तेलमा मापदण्डविपरीतका टहरा स्काभेटरद्वारा हटाइँदै। तस्बिर ः नागरिक

खोटाङ – प्रदेश १ सरकारका प्रतिनिधिले हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने भएका छन्।  लामो खडेरी पर्दा छरेका मकै मरेका तथा त्यसलगत्तै परेको वर्षाका कारण सडक, खानेपानीलगायत संरचना ठप्प हुँदा संकट सिर्जना भएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा कांग्रेसका सचेतक केदार कार्की, मुख्यसचिव सुरेश अधिकारीलगायतको टोलीले साउन २८ र २९ गते स्थलगत अध्ययन गर्ने भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। 

प्रदेशसभा सांसद राजन राई, कांग्रेस नेता सुवासकुमार पोखरेल, नेकपाका नेता सुरेन्द्रकुमार राई तथा नगरपालिकाको आग्रहमा बुधबारको बैठकले प्रदेश सरकारका प्रतिनिधि प्रभावित क्षेत्र पुग्ने टुंगो गरेको हो।  प्रदेश सांसद, नगरपालिका, कांग्रेस तथा नेकपाका नेताको टोलीले खडेरी तथा वर्षापीडित सर्वसाधारणलाई राहत उपलब्ध गराउन प्रदेश सरकार र संघीय सरकारलाई पटकपटक आग्रह गर्दै आएका छन्।  छरेका मकै खडेरीले मरेको केही समय नबित्दै असार २५ गतेदेखि साउन ६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडा जोड्ने सडक अवरुद्ध छ।  ढुवानी गर्ने सडक कतिपय ठाउँमा खाद्यान्न संकट सुरु भएको छ। 

यस्तै विभिन्न ठाउँमा खानेपानीका मुहान बगाएकाले पानीको हाहाकार सिर्जना भएको मेयर राईले बताए।  लामो खडेरीका कारण मकैका बिरुवा सुकेपछि हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मिटारलगायत वडामा खाद्यान्न संकट सुरु भएको हो।  मकै पाक्ने बेलामा किसानको बारीमा पुनः छरेको मकै भर्खर उम्रिँदै छ।  अर्कातर्फ बजारसँग जोड्ने सडक बिग्रे/भत्केकाले खाद्यान्नलगायत उपभोग्य सामान ढुवानी गर्नसक्ने अवस्था छैन।  हरियो मकै खाएर छाक टार्नुपर्ने बेलामा मकै नहुँदा र सहरबजारबाट खाद्यान्न ढुवानी गर्ने बाटोसमेत ठप्प हुँदा खाद्यान्न संकट सिर्जना भएको मेयर राईको भनाइ छ।

  नगरपालिकाको प्रतिनिधिमण्डल खडेरी र वर्षाको मारमा परेका सर्वसाधारणाको सहजताका लागि आवश्यक खाद्यान्न व्यवस्था गर्न, वर्षाका कारण भत्किएका सडक मर्मत गरेर सालनमा ल्याउन तथा बिग्रे÷भत्केका खानेपानी आयोजना सुरु गराउन माग गर्दै प्रदेश सरकारदेखि सिंहदरबारसम्म धाइरहेको छ।  ‘यो बेला किसानले हरियो मकै खाएर जीवन निर्वाह गरिरहेका हुन्थे।  तर खडेरीले मकैका बिरुवा नै मरे।  वर्षापछि छरेको मकै भर्खर उमँ्रदै छ,’ राईले भने, ‘गाउँमा ऐंचोपैंचो गर्ने अन्न छैन।  बजारबाट खाद्यान्न ल्याउने सडक पनि ठप्प भएकाले तत्काल सडक सुरु गराउनुपर्ने अवस्था छ। ’
६ वटा टहरा भत्काइए

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गआसपासमा मापदण्ड मिची बनाइएका थप ६ वटा टहरा हटाएको छ।  गत सोमबार मध्यपहाडी लोकमार्ग मिची बनाइएका चारवटा टहरा हटाएको नगरपालिकाले बुधबार थप टहरा हटाएको हो।  स्थानीयको अवरोधबीच नगरपालिकाले मध्यपहाडी लोकमार्गको रत्नपार्क आसपासमा निर्माण गरिएका टेकबहादुर बराइली, प्रकाश अधिकारी, ज्ञानबहादुर राई, दुर्गा कार्की, रमला राई र रामकाजी खत्रीका टहरा हटाएको हो।  सोमबार २४ घण्टाभित्र टहरा हटाउन समय दिइए पनि नहटाइएकाले बल प्रयोग गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए।  निर्देशनअनुसार रत्नपार्कका केदार श्रेष्ठले भने आफैं टहरा भत्काउन थालेको नगरपालिकाले जनाएको छ।

जेसिभी लगाएर टहरा भत्काउने क्रममा स्थानीयले नगरपालिकाका कर्मचारीमाथि हातपातको प्रयास गर्दै अवरोध गरेका थिए।  पूर्वजानकारी एवं समय उपलब्ध नगराउँदा सामान निकाल्ने मौकासमेत नपाएको भन्दै मोटरबाइक ग्यारेज सञ्चालक ज्ञानबहादुर राईले क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका छन्।  टहरा भत्काउने क्रममा विभेद गरिएको उनीहरूको गुनासो छ।  मापदण्ड मिचेर सडकको दायाँबायाँ बनाइएका टहरा हटाउन पटकपटक पत्राचार गर्दासमेत अटेरी गरिएको भन्दै नगरपालिकाले बल प्रयोग गरेको जनाएको छ।  मध्यपहाडी सडकको बीचविन्दुबाट दायाँबायाँ ३१÷३१ मिटर क्षेत्रभित्र भौतिक संरचना बनाउन नपाइने तथा नगरभित्र नगरपालिकाबाट नक्सा पास गराएर मात्र घर बनाउनुपर्ने व्यवस्थाविपरीत सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको हो।

मापदण्ड मिचेर सडकमा बनाइएका टहरा हटाउने अभियानलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।  अभियानको पहिलो दिन दिक्तेल अल्छेढुंगाका प्यारीमाया सर्किनी, बाम्राङका दुर्गाबहादुर कार्की, डिल्लीबहादुर कार्कीसहित चारजनाको टहरा हटाइएको थियो।  टहरा हटाउने काम सम्पन्न भएपछि मापदण्डविपरीत बनेका घर हटाउने तयारी गरिएको छ।  हालसम्म मापदण्डविपरीत बनेका चारवटा घर हटाउनुपर्ने सूचीमा समावेश गरिएको मेयर रिजालले बताए।

प्रकाशित: २४ श्रावण २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App