४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बंचररेडाँडामा बन्दै ‘ल्यान्डफिल साइट’

काठमाडौं - उपत्यकाको फोहर फाल्ने उपयुक्त स्थानका रूपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट’ निर्माण सुरु भएको छ।  उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो।

सहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ।  पूरै संरचना दुई चरणमा गरेर सम्पन्न गर्ने योजना रहेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर मनोज नकर्मीले बताए।  पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँ लागतमा काम सुरु भएको छ।

गत वैशाख २२ मा लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीसँग एक वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो।  पहिलो चरणमा आवश्यक पूर्वाधार निर्माणका काम गरिने छ।  नकर्मीले भने, ‘ल्यान्डफिल साइटसम्मको सडक निर्माण, प्रयोग हुने सामग्रीको परीक्षण, सो स्थानसम्म विद्युत् विस्तारको काम सरु भइसकेको छ। ’

सो स्थानमा निर्माण कार्य अघि बढाउन अस्थायी सडक बनाइसकेको विभागका प्रवक्ता चन्द्रशेखर महतोले जानकारी दिए।  साइट निर्माणमा प्रयोग हुने निर्माण सामग्रीमध्ये कतिपयको परीक्षण भइसकेको छ भने कतिपयको भइरहेको छ।  ल्यान्डफिल साइट सञ्चालनका लागि आवश्यक पर्ने भवनलगायत पूर्वाधार निर्माणको काम अघि बढिरहेको उनले बताए।

सो स्थानमा यसअघि बिजुली नभएकाले बिजुली जडानका लागि प्रसारण लाइन विस्तार गर्न खरिद प्रक्रिया अघि बढेको बताइएको छ।  ठेकेदारले आगामी असारसम्म पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उनले बताए।  उनले भने, ’निर्माण कामको हामीले नियमितरूपमा अनुगमन र निरीक्षण पनि गरिरहेका छौं। ’

अहिले सिसडोल भरिइसकेकाले पनि सकेसम्म चाँडो काम गरेर समयमै सम्पन्न गराउन लागिपरेको वरिष्ठ डिभिजनल इञ्जिनियर नकर्मीले बताइ।  ठेक्का भएको काम नियमित भइरहेको जानकारी दिँदै उनले भने, ‘हामीले काम सम्पन्न गरेर स्थानीय तहलाई नै हस्तान्तरण गर्ने योजना छ। ’

पहिलो चरणको काम भइरहँदा नै दोस्रो चरणको काम अघि बढाउने योजना रहेको प्रवक्ता महतोले बताए।  अहिले डिजाइन सकिएकाले तीन÷चार दिनभित्रै दोस्रो चरणको ठेक्का आह्वान हुने उनले जनाए।  दोस्रो चरणमा फोहरको संकलनलगायत पक्की संरचना निर्माणको काम हुनेछ।  अहिले दुई चरणमा काम सम्पन्न भए पनि दोस्रो चरणको काम सकिएपछि पनि तेस्रो चरणमा थप काम गर्न सकिने विषयमा छलफल भइरहेको प्रवक्ता महतोले जानकारी दिए।  तेस्रो चरणमा वर्गीकरणको काम हुने बताइएको छ।

  ‘फोहरको परिमाण कम गर्नका लागि वर्गीकरणको काम यो चरणमा हुनेछ,’ उनले भने, बञ्चरेडाँडाभन्दा केही वर आलेटारमा वर्गीकरण हुँदा कम फोहर मात्रै ल्याडफिल साइट जान्छ। ’ सो साइटको क्षमता झन्डै ५० लाख घनमिटर रहने विभागले जनाएको छ।  विभागकै अनुसार अहिले दैनिक विसर्जन हुनसक्ने फोहर कुहिने, नकुहिने, पुनःप्रयोग हुनेसमेत एकै ठाउँमा हाल्दा २० र छुट्याएर पुनःप्रयोगमा नआउँदा फोहर मात्रै विसर्जन गर्दा ५० वर्षसम्मका लागि फोहर व्यवस्थापन हुनसक्ने बताइएको छ।

काठमाडौंमा उपत्यकामा विसर्जन गर्नुपर्ने फोहरको परिमाण बढिरहँदा झन्डै एक दशक पहिले नै सिसडोलको विकल्पका रूपमा बञ्चरेडाँडालाई हेरिएको थियो।  सो स्थानमा ल्याडफिल साइट निर्माणमा चासो देखाएका दुई संस्था पछि सरेसँगै कसले निर्माण गर्ने भन्ने अन्योल रहेको थियो।

मन्त्रिपरिष्ले यस विषयमा २०७५ मंसिर १७ गते सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।  सो मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले ठेक्का सम्झौतामार्फत काम अघि बढाएको हो।
सिसडोलले धान्यो १३ वर्ष

२०६२ देखि काठमाडौं महानगरपालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएको छ।  कामपापछि अरू स्थानीय तहले समेत संकलित फोहर सिसडोल नै लैजाने गरेका छन्।

उपत्यकाकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।  काठमाडौं महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैं संकलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ।  ललितपुर महानगरपालिकाले दैनिक ४० देखि ५० मेट्रिक टन फोहर संकलन गर्छ।  दुई वर्षका लागि भनेर सुरु भएकोमा अहिले १३ वर्ष बित्दा पनि सिसडोलमै फोहर विसर्जन भइरहेको छ।

फोहरका कारण दुर्गन्ध फैलिएको र स्वास्थ्यमा असर पुगेको भन्दै सिसडोलवासीले पटकपटक अवरोध गर्दै आएका छन्।  पछिल्लो पटक गत असारमा पनि स्थानीयको अवरोधका कारण एक सातासम्म उपत्यकाको फोहर उठ्न सकेन।

प्रकाशित: २३ श्रावण २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App