६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चोत्रा गाउँमा होमस्टे

जुम्ला– गुठीचौर गाउँपालिका–१, चोत्रा गाउँका तोप्के बुढा होमस्टेमै सञ्चालनमा व्यस्त छन्। उनी पाहुनालाई होमेस्टेमा आकर्षण कसरी गर्न सकिन्छ भन्नेमै केन्द्रित छन्। होमस्टेमार्फत् जनजाति संस्कृतिको प्रचारप्रसार होस्, स्थानीय वस्तुको बजारीकरण होस् भन्ने चाहन्छन्।

गाउँमै उत्पादित खाद्य वस्तुको विभिन्न परिकार बनाएर पाहुनाको मनमुटुमा बस्न सक्ने वातावरण निर्माणका लागि खटिएका छन्। गुठीचौर एकका हिमान्सु रोकाया जनजातिको एउटा महत्वपूर्ण पहिचान होमस्टे हुन सक्ने बताउँछन्। यो जुम्ला डोल्पा सिमानामा पर्ने भएकाले जुम्ला हुँदै डोल्पाको शे–फोक्सुण्डो जाने पर्यटकका लागि विश्रामस्थल बन्न सक्नेछ।

स्थानीय कुसु लामु रोकायाको अधिकांश समय होमस्टे सजावटमै बित्छ। उनको गाउँकै अब्बल र आकर्षक होमस्टे बनेको देखाउने मन छ।  होमस्टेमा सरसफाइ, रैथाने अन्नको स्वादिलो खाजा, खाना र नास्ता चाहिन्छ। बस्ने र सुत्ने ठाउँ आनन्दको र पारिवारिक वातावरण चाहिन्छ।

त्यो सबै वातावरण बनाउने चरणमा छिन्। गाउँपालिका स्थापना भएदेखिनै गुठीचौर गाउँपालिकाले चोत्रालाई होमस्टेको गाउँ बनाउने कसरत थालेको थियो। अहिले कूल ६० घरधुरीमध्ये १५ घरमा होमस्टे सञ्चालन भइसकेको छ। दर्तावाला होमस्टेमा पाहुनाको आगमन बढिरहेको छ। प्रत्येक होमस्टेमा स्थानीय सरकारले उपलब्ध गराएका दर्ता नम्बर टाँसिएको छ। रैथाने खाना, जनजाति संस्कार र पाटन छेउको गाउँ भएकाले सबैको आकर्षकको केन्द्र बनेको छ।

गाउँपालिकाको गत वर्ष १० लाख रुपैयाँमा होमस्टेको काम सुरु भएको हो। अहिले डोल्पा र जुम्ला आउजाउ गर्ने पर्यटक केन्द्रित कार्यक्रम भइरहेको छ।  रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई चोत्रासम्म आउने माहोल बनाउन थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा बताउँछन्। 

चोत्रामा हेर्न लायक गुम्बा, जनजाति संस्कृति छ। यहाँको भोटे चिया र सातु निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। गाउँपालिकाको पशु शाखाबाट प्रत्येक घरमा लोकल कुखुरापालन सञ्चालन गर्ने र पशुपालनलाई प्राथमिकताका साथ लैजानेछ।  जिल्लाकै सबैभन्दा राम्रो होमस्टे चोत्रा गाउँमा हुने स्थानीय बताउँछन्। अहिले गुठीचौरको कोल्थे गाउँलाई प्रदेश सरकारले होमस्टे बनाउँदैछ। 

चोत्रा गाउँका होमस्टेमा सस्तो, राम्रो र मनोरन्जनयुक्त बासको व्यवस्था छ। सञ्चार सुविधाका साथै अर्गानिक खानाको व्यवस्थापन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताउँछन्। यहाँ आउने हरेक पाहुनालाई जुम्लाकै पुरानो बुद्धकोे मूर्ति राखिएको गुम्बा देखाइन्छ।

बौद्ध र हिन्दू संस्कृति झल्कने प्रस्तुति प्रदर्शन गरिन्छ। फापर, जौँ, कोदो र मकैको स्थानीय परिकार बनाई स्वाद चखाइन्छ। मह, घ्यू, चौरीको घ्यू, दूध, छुर्पी उपलब्ध छ।

विभिन्न जडीबुटीको स्वाद लिन पाइनुका साथै यार्सागुम्बा, घुच्ची च्याउ खान र देख्न पाइने व्यवस्था होमस्टेमा गरिएको छ। घोडाबाट यात्रा र खच्चडबाट सामान ढुवानी हुने, नजिकैको काञ्जिरोवा हिमालको दृश्य अवलोकन गर्न पाइने, जुम्लाकै प्रसिद्ध स्थान गडुनानी तीर्थस्थलको निरीक्षण गर्नुका साथै सुरक्षाको राम्रो प्रबन्ध छ।
 

प्रकाशित: २० श्रावण २०७६ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App