गोरखा– गोरखा सदरमुकामको ओम डेभलप्मेन्ट बैंकले भूकम्पपीडितलाई सरकारले दिएको अनुदानको पैसाबाट ऋण असुली गरेको खुलेको छ। गोरखा नगरपालिका–१२ का कृष्णबहादुर कुमालको भूकम्प दोस्रो किस्ताबापत् पाउनुपर्ने एक लाख ५० हजार मध्ये ७० हजार आठ सय रुपैयाँ ऋण कटाएर बाँकी दिएको हो।
श्रीमती संगीता कुमालले बैंकबाट ऋण लिएको र बैंकले दोस्रो किस्ताको रकमबाट श्रीमतीले लिएको ऋण कटाएर ७९ हजार दुई सय रुपैयाँ मात्रै दिएकाले फिर्ता गराई पाउँ भनी कुमालले वडा कार्यालयमा साउन १९ गते निवेदन दिएका हुन्।
वडा कार्यालय हुँदै उक्त निवेदन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यन्वयन इकाइमा पुगेको छ। आयोजना प्रमुख रामशरण आचार्यले बैंकले बद्मासी गरेको बताउँदै भने, ‘के कारणले रकम रोक्का गरेको हो, तत्काल जवाफसहित फिर्ता गर्न भनेका छौँ।’ शारीरिकरूपमा कमजोर लाभग्राही कुमालको अनुदान रकमबाटै ऋण कटाउनु, घर बनाउन नसक्ने अवस्था सिर्जना गर्नु गलत भएको उनले बताए।
कुमालले अनुदानबापत् तेस्रो किस्तामा पाउने रकम पनि लिइसकेका छन्। दोस्रो किस्ता बैंकले रोकेका कारण सिकर्मी, डकर्मीलाई ज्याला दिन नसकेको उनको गुनासो छ।
स्वयं लाभग्राहीले ऋण लिएको अवस्थामा पनि बैंकले भूकम्पबाट घर भत्किएकाहरूलाई प्रतिरोधी बलियो घर बनाउन सरकारले दिएको अनुदानबाट ऋण असुल गर्नु गैरकानुनी हुने उनको भनाइ छ।
उक्त विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाइले राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा जानकारी पठाएको छ। मौखिकरूपमा यसअघि पनि पटक–पटक सरकारले दिएको अनुदान बैंकहरूले ऋण असुलेर दिएको गुनासो आउने गरेको प्राविधिकहरू बताउँछन्।
लाभग्राही सूचीमा नाम भएकाहरूलाई सरकारले पहिलो किस्ता ५० हजार, दोस्रो एक लाख ५० हजार र तेस्रो एक लाख गरी तीन लाख रुपैयाँ दिने गरेको छ।
बैंकका गोरखा शाखा प्रबन्धक केशव रेग्मीले भने एक लाख ५० हजारको चेकमा हस्ताक्षर गरेको आधारमा बैंकले पैसा दिएको दाबी गरेका छन्। तर, पीडित कुमालले ७० हजार आठ सय रुपैयाँ अर्को खातामा जम्मा गरेपछि मात्रै बाँकी पैसा दिने भन्दै बैंकले बाध्यतामा पारेर श्रीमतीको खातामा जम्मा गर्न लगाएको बताए।
अहिले घर निर्माण गरिदिने ठेकेदारले पैसा नपाएपछि घरमा ताला लगाइदिएको छ। कुमाल दम्पती भूकम्प प्रतिरोधी नयाँ घरमा बस्न पाएका छैनन्।
प्रकाशित: २० श्रावण २०७६ १०:१९ सोमबार