१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कारका घटना ६३ प्रतिशतले वृद्धि

मकवानपुर - प्रदेश ३ मा तीन वर्षको अवधिमा जबरजस्ती करणी (बलात्कार) ६३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा बलात्कारका एक सय ४३ उजुरी दर्ता भएकोमा २०७४/०७५ मा वृद्धि भई एक सय ९२ र २०७५/०७६ मा दुई सय २८ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालय, हेटौंडा प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले बताए।

प्रदेशमा बलात्कारसँगै हिंसा, ज्यान मार्ने उद्योग र लागुऔषध ओसारपसारको अपराधका द्धटना पनि बढेका छन्। घरेलु हिंसा आव २०७३/०७४ मा एक हजार तीन सय ४४ र २०७४/०७५ मा एक हजार चार सय ८८ उजुरी दर्ता भएको थियो। तर २०७५/०७६ मा वृद्धि भई एक हजार पाँच सय ६७ उजुरी दर्ता भएका थिए। त्यस्तै बाल यौन दुव्र्यवहारका उजुरी आव २०७४/०७५ मा एउटा मात्र दर्ता भएकोमा २०७५/०७६ मा उल्लेख्य वृद्धि भई ३९ वटा दर्ता भएको छ।

प्रदेशका १० जिल्लामा ज्यानमार्ने उद्योगसम्बन्धी अपराध पनि निकै बढेको प्रहरीको तथ्यांकले देखाउँछ। आव २०७३/०७४ मा ज्यान मार्ने उद्योगसम्बन्धी ६२ वटा उजुरी दर्ता भएकोमा २०७४/०७५ मा ७६ र २०७५/०७६ मा एक सय छ उजुरी प्रहरीमा दर्ता भएको छ। संगठित अपराधको घटना पनि पछिल्लो आर्थिक वर्षमा बढ्दो क्रममा रहेको छ। आव २०७३/०७४ मा संगठित अपराधका चार सय २० वटा उजुरी दर्ता भएकोमा २०७४/०७५ मा चार सय १६ र २०७५/०७६ मा बढेर पाँच सय ४१ पुगेको छ।

लागुऔषधसम्बन्धी अपराधको संख्या पनि प्रदेश ३ मा बर्सेनि बढेको प्रहरीको तथ्यांक छ। आव २०७३/०७४ मा दुई सय ११ वटा लागुऔषधका मुद्दा दर्ता भएकोमा २०७४/०७५ मा दुई सय ६८ र २०७५/०७६ मा तीन सय नौ वटा मुद्दा दायर भएको प्रदेश ३ प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा आत्महत्या गर्नेको संख्या पनि हरेक आवमा बढेको पाइन्छ। आव २०७३/०७४ मा सात सय १३ जनाले आत्महत्या गरेकोमा २०७४/०७५ मा सात सय ८० र २०७५/०७६ मा आठ सय २३ जनाले आत्महत्या गरेका छन्।

प्रदेश ३ का काठमाडौं उपत्यकाबाहेकमा जबर्जस्ती करणी उद्योग र कर्तव्य ज्यान (हत्या) का घटनामा भने सामान्य कम भएको छ। जबर्जस्ती करणी उद्योगको घटना आव २०७३/०७४ मा ८३ उजुरी दर्ता भएकोमा २०७४/०७५ मा ९९ र २०७५/०७६ मा ६१ वटा मात्र उजुरी प्रहरीमा दर्ता भएका छन्। त्यस्तै आव २०७३/०७४ मा कर्तव्य ज्यानसम्बन्धी ६० वटा घटना भएकोमा २०७४/०७५ मा ८० र २०७५/०७६ मा ५८ वटा घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मकवानपुरमा सबैभन्दा बढी
प्रदेश ३ का १० जिल्लामध्ये मकवानपुरमा सबैभन्दा बढी र रसुवामा सबैभन्दा कम जघन्य अपराधका घटना भएको प्रहरीको तथ्यांक छ। मकवानपुरमा आव २०७५/०७६ मा दुई सय ५८ जघन्य अपराधका घटना हुँदा रसुवामा ११ वटा मात्र घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, लागुऔषध उत्पादन र कारोबार पनि मकवानपुरमा सबैभन्दा बढी र रामेछापमा सबैभन्दा कम रहेको छ। आव २०७५/०७६ मा मकवानपुरबाट तीन हजार छ सय २४ किलो सात सय ग्राम गाँजा, चरेश, अफिम र खैरो हेरोइन बरामद गरिँदा रामेछापमा भने शून्य रहेको थियो।

लागुऔषध उत्पादन र कारोबारतर्फ दोस्रोमा धादिङ र तेस्रोमा चितवन रहेको प्रहरीको तथ्यांक छ। आव २०७५/०७६ मा लागुऔषधसम्बन्धी तीन सय नौ वटा मुद्दा दर्ता भई ३९ विदेशीसहित चार सय ८५ जना पक्राउ परेका छन्।

सवारी दुर्घटनामा तीन आवमा प्रदेश ३ का १० जिल्लामा एक हजार चार सय २६ जनाको मृत्यु भएको छ। आव २०७३/०७४ चार सय ७७, २०७४/०७५ मा चार सय ७० र २०७५/०७६ मा चार सय ७९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ३ मा तीन आवमा दुई हजार एक सय आठवटा सवारी दुर्घटनामा परी चार हजार छ सय जना घाइते भएका थिए।

प्रकाशित: १९ श्रावण २०७६ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App