२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्ग आंशिक खुल्यो

कटारी (उदयपुर)– साताव्यापी निरन्तर वर्षाले भत्केको पहिरोले दुईसातादेखि आवागमन रोकिएको सिद्धिचरण लोकमार्गमा आंशिक यातायात खुलेको छ। वर्षाले दर्जनौं ठाउँमा पहिरो जानुका साथै कटारी नगरपालिका ११ ठाँटीनजिकै लप्सेभीरमा १ सय ५० मिटर सडक पुरै पहिरोले काटेपछि आउजाउ रोकिएको लोकमार्ग १३ दिन लामो मर्मतपछि आंशिक सुचारु भएको हो।

डिभिजन सडक कार्यालय लाहानले १० दिनदेखि ४ वटा स्काभेटर र जेसिवी लगाएर मर्मत गरेपछि सडक आंशिक सुचारु भएर मंगलबारदेखि मोटरसाईकल र बिहीबारदेखि बोलेरो जीप चल्न थालेको कटारी ११ का वडाध्यक्ष दिपक बुढाथोकीले बताए। उनका अनुसार लप्सेभीरमा पुरानो सडक मर्मत गर्न नमिल्ने गरी भत्काएकाले २ सय मिटर माथिबाट डाँडो काटेर नयाँ ट्र्याक निकाल्नु पर्दा मर्मतमा समय लागेको हो।

‘पहिलेको सडक झण्डै डेढसय मिटर पुरै पहिरोले भत्काएर मर्मत गर्नै नमिल्ने भयो’ वडाध्यक्ष बुढाथोकीले भने ‘त्यसैले २ सयमिटर माथिबाट डाँडो खारेर नयाँ सडक निकाल्नु पर्दा समय लाग्यो। अहिले वाईक र जीप चल्न थाले, ठूला गाडी चल्न अझै ५÷७ दिन लाग्ला ।’ पहिरो गएर सडक अवरुद्ध भएपछि कटारी हुँदै ओखलढुंगा र खोटाङ जाने खाद्यान्न, लत्ताकपडा र पेट्रोलियम पदार्थ अभाव हुन थालेको स्थानीयले बताएका छन्। त्यसैगरी कटारीका आधादर्जन पहाडी वडाबासी यातायात सम्पर्क विच्छेदमा परेसँगै खाद्यान्न र औषधिको गाउँमा अभाव हुन थालेको बुढाथोकीले बताएका छन्।

सडक चाँडो सुचारु गर्न रातदिन नभनी मर्मत कार्य भईरहेको र चाँडै पूर्ण सुचारु गर्ने तयारीमा लागेको डिभिजन सडक कार्यालय लाहानका डिई विनोद साहले बताए। सिद्धिचरण लोकमार्ग अवरुद्ध हुँदा उदयपुरसँगै छिमेकी जिल्लाबासीलाईसमेत समस्या हुने हुनाले चाँडोभन्दा चाँडो मर्मत कार्य भइरहेको उनको भनाई छ। ‘यो सडक पूर्व–पश्चिम लोकमार्गसँग उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङसँग जोडिएको हुनाले धेरै महत्वपूर्ण छ’ डिई साहले भने ‘त्यसैले हामी रातदिन नभनी भएभरको उपकरण र जनशक्ति जुटाएर मर्मत गर्ने काम गर्दैछौं।’
    लप्सेभीरमा नयाँ ट्र्याक खन्नुपर्ने भएकाले निकै लामो समय लागेको उनले बताए। यसअघि पनि वर्षेनी सडक अवरुद्ध हुने गरेको भए पनि २÷३ दिनभित्र मर्मत भएर सुचारु हुने गरेकोमा यो वर्ष पुरै डेढसय मिटर सडक मर्मत गर्नै नमिल्ने गरी भत्केकाले अर्को सडक खन्नुपर्दा ढिला भएको साहले बताए। उनका अनुसार कटारीदेखि घुर्मीसम्मका ४६ किलोमिटर दुरीमध्ये बेतिनीसम्मको २५ किलो दुरीभित्रै १५ ठाउँभन्दा बढी भत्केको पहिरो भने सातादिनअघि नै पन्छाएर सुचारु गरिसकिएको छ।
    वर्षाले सडक भत्काएर अवरुद्ध पार्दा यात्रारत दुईदर्जन बढी सवारी साधन पहिरोको बीचमा अलपत्र परेका थिए। सडक मर्मतसँगै ती सबै साधन अहिले गन्तव्यतर्फ गइसकेका छन्। सरोकारवाला निकायले ध्यान नदिएका कारण लोकमार्गको स्तरोन्नति र दीगो निर्माण हुन नसक्दा वर्षेनी सडक भत्केर यात्रु र व्यवसायीलाई दुःख दिने गरेको छ भने राज्यलाई करोडौं लगानी गर्न बाध्य बनाउने गरेको उपभोक्ताको आरोप छ।
    सिद्धिचरण लोकमार्ग सिराहाको मिर्चया–कटारी हुँदै उदयपुर र ओखलढुंगाको सीमास्थल घुर्मी भएर ओखलढुंगा जोडिने मार्ग हो। पूर्व–पश्चिम महेन्द्र लोकमार्गको मिर्चयादेखि दक्षिणी भेगबाट कटारी हुँदै काठमाडौंदेखि धुलीखेल–नेपालथोक–खुर्कोट हुँदै पुगिने घुर्मीबाट खोटाङको प्रसिद्ध हिन्दु, किरात र बौद्धको त्रि–धार्मिकस्थल हलेसीधाम जोडिन्छ। वर्षेनी सडक अवरुद्ध हुँदा हलेसी दर्शन गर्न जाने तीर्थयात्री धर्मावलम्बीलाई मार्का पर्ने गरेको छ भने भक्तजन पर्यटकको आवागमन रोकिदा कटारी बजार र घुर्मी तथा हलेसीको व्यापार व्यवसायमा घाटा लाग्ने गरेको उदयपुर उद्योग बाणिज्य संघ कटारीका अध्यक्ष पुस्कर खड्काले बताएका छन्।     
       
क्याप्सनः सिद्धिचरण लोकमार्गको लप्सेभीरमा नयाँ सडक खोलिँदै । तस्विरः महेश्वर

प्रकाशित: १६ श्रावण २०७६ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App