२७ श्रावण २०७७ मंगलबार
समाज

बालविवाहले बढ्यो कर्णालीमा बहुविवाह

काठमाडाैं- कानुनले बहुविवाह सम्बन्धी ऐन कडा रुपमा लागू गरे पनि व्यवहारमा कार्यान्वयन नहुँदा कर्णाली प्रदेशमा बाहुविवाह गर्नेकाे संख्या ह्वात्तै बढेको छ। कर्णाली प्रदेशको अधिकांश जिल्लामा बहुविवाहको संख्या बढेको हो। दोस्रो बिहे गर्ने पुरुषको सङ्ख्या बढ्दै गएपछि कर्णालीका महिला विभिन्न समस्या खेप्न बाध्य छन्। सरकारले बहुविवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रममार्फत वर्षेनि लाखौँ रुपैयाँ खर्च गरेपनि उपलब्धि शून्य नै छ।

पछिल्लो समय यो प्रदेशमा बहुविवाहका घटना रोकिन नसक्दा महिलाले विभिन्न प्रकारका हिंसा भोग्नु परिरहेको छ। पछिल्लो तीन आर्थिक वर्षको अवधिमा बहुविवाहका २ सय ९ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ५२, ०७४/०७५ मा ४६ र गत आर्थिक वर्षमा १ सय ११ गरी २ सय ९ वटा बहुविवाहको उजुरी परेको हो। बहुविवाहमा एउटा महिलाबाट अर्को महिला नै पीडित हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा प्रवक्ता प्रदिप क्षेत्रीले बताए। उनले भने,‘बहुविवाह हुँदा कतै पहिलो श्रीमतीले दुःख पाउँछन् त कतै पछि आउने श्रीमतीले।’

बहुविवाह घटनाका पीडक सजिलै धराैटीमा छुट्ने गरेकाे डिएसपी क्षेत्रीले बताए। उनका अनुसार भदौदेखि लागू भएको मुलुकी (संहिता) ऐनले पहिलेको विवाहित सम्बन्ध कायम हुँदाहुँदै दोस्रो विवाह गर्ने महिला वा पुरुषको सम्बन्धले कानुनी मान्यता पाउँदैन। यो प्रदेशमा बहुविवाहका कारण लामो समयदेखि महिला पीडामा पर्दै आइरहेका छन्।

प्रदेश प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बाहुविवाह फौजदारी अपराध अन्तरगत रहेकाले श्रीमानबाट पीडित जेठी श्रीमतिलाई सम्पुर्ण कानुनी सहयोग सरकारले उपलब्ध गराइरहेको बताए। उनले भने,‘बाहुविवाहको मूल कारण बालविवाह रहेको छ।’ बालविवाहका कारण बहुविवाहको समस्या बढ्दा महिलाहरुझनै समस्यामा पर्ने गरेका छन्। सानै उमेरमा विवाह गर्ने र पछि श्रीमान् अर्को श्रीमती ल्याउँदा महिलाहरुलाई समस्या हुने गरेको हो। सानैमा आफु खुसी वा परिवारको दबाबमा विहे गरेकाहरु केही वर्षपछि छुट्टिने समस्या पनि बढ्दै प्रहरीको भनाइ छ।

त्यस्तैमध्येकी एक हुन्– दैलेखकी नाम परिवर्तित हरिकला। उनको १२ वर्षकै उमेरमा परिवारको दबाबमा विवाह भयो। विवाहको १५ वर्षसम्म सम्बन्ध राम्रै रहेपनि त्यसपछि श्रीमानले दुःख दिन थालेको हरिकला बताउँछिन्। उनले भनिन्,‘ मेरो विवाह शेखरसँग २०५६ बैशाखमा सामाजिक पराम्परानुसार विवाह भै हाल एक छोरा र एक छोरी छ।' तर श्रीमानको हैसियतले शेखरले खान, लगाउन, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था नगरी पूर्ण रुपमा वेवास्ता गरी दोस्रो विवाह गरेका छन्। श्रीमान शेखर २०७५ पौषमा कमाइ गर्नको लागि छिमेकी मुलुक भारतको अहम्दावादमा  गएको र २०७६ वैशाख २८ मा श्रीमती हरिकला उपचारको लागि सुर्खेत आएको वेला एकाएक श्रीमानको साथमा अर्कै महिलालाई देखेपछि सोधीखोजी गर्दा विवाह गरेको भेटियो।

‘म उपचारको लागि सुर्खेत आएको बेला वीरेन्द्रनगर वडा नं. ६ गोदम लाइनको दुल्लु पन्तको होटलमा बसिरहेको अवस्थामा होटलको साहुजीले तपाईको बुढा पनि आएका छन्, एक महिना जति भयो, यतै बसिरहनु भएको छ भनेपछि म अचम्ममा परे।’,हरिकलाले भनिन्,‘ श्रीमानले कुनै थाहा नदिइ भारतबाट स्वदेश आएर नाम परिवर्तन गरेकी (शर्मिला)सँग दोस्रो गरे।'

छोराछोरीसँगै उनी अहिले एक्लै बसिरहेकी छन्। पतिले दास्रो विवाह गरेकोले अहिले हरिकला दुवै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बहुविवाहको उजुरी दायर गरेकी छन्। यस्तै वीरेन्द्रनगरकी नाम परिवर्तन अनिता र नाम परिवर्तन नरबहादुरले ७ वर्षअघि प्रेमविवाह गरे। शुरुआतमा सम्बन्ध राम्रो भयो। तर पछिल्लो दुई वर्षदेखि श्रीमानले अश्लील शब्द प्रयोग गरी तथानाम गाली गालौज गरेपनि सहेर बस्दै आएको अनिताले बताइन्। तर गत जेठ १ गते नाम परिवर्तन प्रमिलासँग दोस्रो विवाह गरी घरमा ल्याएपछि म माथि कुटपिटसमेत भयो।

उनले भनिन्,‘ म श्रीमानसँग किन दोस्रो विवाह गरी ल्याउनु भएको छ भन्दा सोध्दा उल्टै त के गर्न सक्छस्, तबाट छोरा छोरी हुँदैनन् भन्दै अश्लील शब्दको प्रयोग गरे।’ पतिले दोस्रो विवाह गरेकोले अहिले अनिताले दुवै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बहुविवाहको मुद्दा दायर दायर गरेकी छन्। यी त प्रतिनिधि पात्र मात्र हुन्, कतिपयले दोस्रो पत्नी घरमै नल्याए पनि बाहिरैबाट दुःख दिने गरेका छन्। विवाहित पुरुषले अर्को विवाह गरे वा विवाहित पुरुष हो भनेर जान्दाजान्दै कुनै महिलाले त्यस्तो पुरुषसँग विवाह गरे एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बने पनि महिलााहरुले भने जिल्ला स्तरमा सो प्रत्याभूति गर्न सकेको छैन्। आगामी भदौ १ देखि मात्र कार्यान्वयनमा आएकाे मुलुकी ऐनअन्तर्गत फौजदारी कसुरसम्बन्धी कानुनमा हत्या, अपहरण, बहुविवाह, गर्भपतनलगायतबारे सजायको व्यवस्था छ। मुलुकी ऐनमा बहुविवाह गर्नेलाई कसुर मान्दै ५ वर्ष सम्मको कैद हुने व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलोको कारण कैयन विवाहित महिलाहरु बहुविवाहको शिकार बन्दै घरेलु हिंसामा पर्ने गरेका छन्।

आजभोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला सशक्तीकरण आदि जस्ता मुद्दाहरू व्यवहारमा लागू नहुँदा यी र यस्ता सामाजिक कुसंस्कारले प्रश्रय पाइरहेका छन्। बहुविवाह न्यूनीकरण अभियानलाई घोषणामा मात्र सीमित राख्नुभन्दा सरोकारवाला निकायले स्थानीयको शिक्षा र चेतना शक्तिलाई बढाउन सके यस्ता कुप्रथा र कुरीति कम गर्न सकिन्छ। पीडित महिलाहरु प्रहरी कार्यालयमा दिनहु धाउन बाध्य भएपनि  राजनीतिक हस्तक्षेपका कारण न्याय पाउने उनीहरुको अधिकार कुण्ठित हुँदै महिला अधिकारकर्मीकाे भनाइ छ।

प्रकाशित: १६ श्रावण २०७६ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App