८ वैशाख २०८१ शनिबार
समाज

बुद्धमूर्ति तोडफोडमा संलग्न भेटिएनन्

बुटवल - रूपन्देहीको तिलोत्तमामा बुद्धमूर्ति तोडफोड भएको १५ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।  यस्ता घटनामा संलग्न दोषी पत्ता नलाग्दा आपराधिक मनोवृत्ति भएकाहरूको आत्मबल बढ्नेतर्फ स्थानीयले चिन्ता व्यक्त गरेका छन्।  बुद्धको जन्मस्थल क्षेत्रमै भएको घटनाले सहिष्णुतामा आँच आउनुका साथै पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने भन्दै स्थानीयले छिटो सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।  घटना सुनियोजित भएको स्थानीयको दाबी छ।

दुई साता बितिसक्दा पनि मूर्ति तोडफोड जस्तो संवेदनशील र अपराधको दोषी पत्ता नलाग्नुले जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको तिलोत्तमाका स्थानीय माधवलाल देवकोटाले बताए।  मूर्ति तोडफोड गर्नेलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न बौद्ध सेवा समाज रूपन्देहीका अध्यक्ष जयबहादुर थापाले माग गरे।  मूर्ति तोडफोडको घटनाले समाजमा कुनै धार्मिक द्वेष नफैलाओस् भनेर जिल्लावासीले संयमता अपनाइरहेको उनको भनाइ थियो।

देशका विभिन्न स्थानमा भएका अपराधका घटनामा राजनीतिक संरक्षणकै कारण प्रहरी अनुसन्धान टुंगोमा पुग्न नसकेका उदाहरण रहेको भन्दै बौद्ध उपासक विमलबहादुर शाक्यले यो घटनालाई राजनीतिक रङ दिइए दुर्भाग्य हुने बताए।

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले यतिका दिनसम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकार गम्भीर नदेखिएको गुनासो गरे।  ‘मूर्ति फुटाउनेको उद्देश्य जेसुकै होस्।  चाहे नगरपालिकासँगको रिसइबी होस् या लेनदेन विवाद।  जे भए पनि यो घटनाले सम्पूर्ण सनातन धर्मावलम्बीको आस्थामा चोट पुगेको छ।  राज्यले यस्ता अपराध गर्नेलाई छिटो कानुनी दायरामा ल्याउनुपर्छ,’ संघका केन्द्रीय उपाध्यक्ष बिरकट्टा मगरले भने।  दोषी पत्ता लगाई कानुनी कठघरामा नउभ्याए सरोकारवाला संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि उनले दिए।  घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन माग गर्दै बौद्ध धर्मसँग सम्बन्धित एक दर्जन बढी संघसंस्थाले यसअघि नै तिलोत्तमामा खबरदारी सभा गरेका थिए।

सत्यतथ्य बाहिर नआएकाले अपराधीलाई राजनीतिक संरक्षण हुनसक्ने अशंका स्थानीयले गरेका छन्।  देशका विभिन्न स्थानमा भएका अपराधका घटनामा राजनीतिक संरक्षणकै कारण प्रहरी अनुसन्धान टुंगोमा पुग्न नसकेका उदाहरण रहेको भन्दै बौद्ध उपासक विमलबहादुर शाक्यले यो घटनालाई राजनीतिक रङ दिइए दुर्भाग्य हुने बताए।

बुटवल बेलहिया ६ लेन सडकको डिभाइडमा राखिएका बुद्धमूर्तिहरू साउन १ गते राति तोडफोड गरिएका थिए।  नगरपालिकासँगकै ठेक्कापट्टा वा आर्थिक लेनदेनसम्बन्धी रिसइबी साँध्न घटना घटाइएको स्थानीयले शंका गरेका छन्।  घटना भएको मध्यरात केही मोटरसाइकल र एउटा गाडी सो क्षेत्रमा शंकास्पद रूपमा ओहोरदोहोर गरेको पनि स्थानीयले बताएका छन्।

  सिसिटिभी फुटेज र स्थानीयको सोधपुछबाट प्रहरीले पनि त्यसको संकेत पाइसकेको छ।  घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भीमलाल भट्टराईको संयोजकत्वमा अनुसन्धान टोलीले छानबिन गरिरहेको छ।  डिएसपी भट्टराईले ठोस उपलब्धि हात नलागी अनुसन्धानका कुरा बाहिर ल्याउँदा अपराधी उम्कन सक्ने भन्दै सत्यतथ्य छिट्टै बाहिर आउने बताए।  अनुसन्धानकै क्रममा प्रहरीले विभिन्न ठाउँमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ।  निजी व्यावसायीक प्रतिष्ठानले राखेका सिसिटिभी फुटेज चेकजाँच गरिए पनि त्यसबाट मात्रै व्यक्ति पहिचानमा समस्या भएको प्रहरीको भनाइ छ।

प्रकाशित: १६ श्रावण २०७६ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App