२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ठेकेदारले काम नगर्दा तोडियो ठेक्का

वारपाक सडक। तस्बिरः नागरिक

गोरखा– १२ किलो वारपाक सडकखण्डको चार प्याकेज करिब ३० किलोमिटर सडक ठेकेदारले समयमै काम नगर्दा कालोपत्रे हुन सकेन।

काममा चरम लापरबाही गरेर निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेपछि ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक आयोजनाले पहिलो प्याकेजको करिब आठ किलोमिटरको ठेक्का सार्वजनिक सूचना जारी गरेर तोडेको छ।

‘१० करोड ५९ लाखमा सम्झौता भएको थियो, ६ करोड ४५ लाख भुक्तानी भएको छ,’ आयोजनाका लेखा अधिकृत ज्ञानमणि उपाध्यायले भने। २०७२ मंसिर ३० गते सिध्याउने गरी २०७१ असार ३१ मा ठेक्का सम्झौता भएको थियो।

पटक—पटक म्याद थप गर्दा पाँच वर्षसम्म पनि सडक निर्माण पूरा नगरेपछि ठेक्का तोडिएको अधिकृत उपाध्यायले बताए। ठेक्कामा काम हुन बाँकी रकमको हर्जनासमेत ठेकेदारले तिर्नुपर्छ। गरेको कामको भुक्तानी दिने र बाँकी कामको हर्जना लगाउँदा करिब दुई करोड रुपैयाँ जरिवाना पहिलो प्याकेजको करिब ८ किलोमिटर सडक कालोपत्रेको ठेक्का लिएको नागार्जुन÷त्रिशुली जेभीबाट असुल हुने कार्यालयले जनाएको छ। चारपटक पत्राचार गर्दा समेत ठेकेदार सम्पर्कमा नआएको, फिल्डमा काम गर्ने कोही पनि जनशक्ति, उपकरण नभएकाले अलपत्र छाडेपछि ठेक्का तोडिएको हो।

ठेक्का तोडिएपछि भूकम्पको केन्द्रबिन्दु वारपाकसम्म जाने उक्त सडक कालोपत्रे नहुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ। वारपाकका स्थानीय जितबहादुर घले भन्छन्, ‘ठेक्का तोड्नु थियो त म्याद सकिने बित्तिकै तोडेर नयाँ ठेकेदारलाई दिएको भए अहिले पूरा हुन सक्थ्यो, अब तोडेर पुनः ठेक्का लगाउँदा अरु दुई वर्ष जाने भयो।’ ठेकेदारलाई सडक आयोजनाले कारबाही गर्न हिच्किचाउँदा लापर्बाही बढेको भन्दै उक्त सडक प्रयोग गर्ने सर्वसाधारण आक्रोशित छन्।

चारमध्ये बाँकी तीनवटा प्याकेजको सडक कालोपत्रे गर्नुपर्ने अवधि पनि सकियो। १७ किलोमिटरदेखि २२ सम्म दोस्रो खण्ड १३ करोड ४८ लाखमा कन्काई गोरखा जेभीले २०७४ असारमा ठेक्का सम्झौता गरेको हो। उक्त योजनाको काम करिब ६५ प्रतिशत पूरा भएको छ। ‘२०७६ असारसम्म कालोपत्रे सक्नुपर्ने थियो तर, नसकेपछि कार्यालयले ६ महिना म्याद थप गरेको छ,’ आयोजनाका इन्जिनियर राजेशकुमार यादवले भने। म्याद सकिँदासम्म ठेकेदारले काम नगरेपछि तेस्रो प्याकेजको काम पनि अलपत्र छ।

२२ देखि ३० किलोमिटरको सडक कालोपत्रे गर्ने जिम्मा पाएको लोहोनी एण्ड ब्रदर्श कन्ट्रक्सन प्रालिले २०७२ असारमा सम्झौता गरेको थियो। २०७४ असारमा सिध्याउनुपर्ने काम २०७६ साउन दोस्रो सातासम्म ५५ प्रतिशत मात्रै पूरा गरेको छ। दुईपटक थपेको म्याद सकिँदा काम आधा बाँकी छ। १२ करोड सात लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

अहिले तेस्रो पटक म्याद थपको प्रयासमा निर्माण व्यवसायी लागेका छन्। राजनीतिक दबाब, ठेकेदारको प्रभावका कारण कामनै नभएका प्याकेजको पनि म्याद थप्दै जाँदा बनेका नाली, सडक पनि जीर्ण भएको छ।

३० किलोमिटरदेखि वारपाक अर्थात् ४६ किलोमिटरसम्मको अन्तिम खण्डको ३५ करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७५ असारसम्म सिध्याउनुपर्ने कालोपत्रे सुरु पनि भएको छैन। रसुवा सूर्य इलाइट जेभीले जिम्मा लिएको उक्त सडक खण्डको म्याद पनि सकिएर ६ महिना थप भएको छ। यहाँ कामको प्रगति आधाआधी भएको  छ।

अगाडिको प्याकेजमा काम नहुँदा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको बाहना दोस्रो, तेस्रो र चौँथो प्याकेजका व्यवसायीको छ। पहिलो प्याकेजको ठेक्का तोडेर नयाँ प्रक्रिया थालेको सडक आयोजना कार्यालयले काम नगरेमा अन्य प्याकेज पनि तोड्ने तयारीमा छ। समयमै काम नगर्ने निर्माण व्यवसायीलाई सडक आयोजनाले उल्टै काम छिटो गर्न भन्दा म्याद थप्न सघाइरहेको आरोप आयोजना कार्यालयलाई लाग्ने गरेको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App