२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाँजा र लागूऔषधको ट्रान्जिट बन्दै मकवानपुर

मकवानपुर - मकवानपुर गाँजा तथा लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको छ। अघिल्ला आर्थिक वर्षमा भन्दा गत आव २०७५/७६ मा गाँजा र अन्य लागूऔषध बरामद गरेको तथ्यांकले मकवानपुर लागूऔषधको ट्रान्जिट बन्दै गएको प्रस्ट पार्छ।

अघिल्लो आवको दाँजोमा गत आवमा तीनगुणा बढी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। अघिल्लो आव २०७४÷७५ मा एक हजार एक सय १० किलो गाँजा बरामद गरेको मकवानपुर प्रहरीले गत आव २०७५/७६ मा तीन हजार एक सय ९३ किलो गाँजा बरामद गरेको थियो। अघिल्लो आवमा बरामद भएको गाँजाभन्दा गत आवको चार महिना (चैतदेखि असार) मै बरामद भएको गाँजा बढी रहेको छ। गत आवको अन्तिम चार महिनामा प्रहरीले एक हजार दुई सय ६१ किलो गाँजा बरामद गरेको प्रहरी उपरीक्षक सिंहको भनाइ छ।

त्यस्तै गत आव २०७५/०७६ मा चरेश तीन सय पाँच किलो, खैरो हेरोइन २१ ग्राम चार सय ३५ मिलिग्राम, अफिम सात सय ग्राम मकवानपुर प्रहरीले बरामद गरेको थियो। लागूऔषध दुव्र्यसनीले प्रयोग गर्ने नाइट्रोभेट तीन हजार सात सय ३७, डाइजिपाम एक हजार आठ सय ३१, ब्यप्रोनोरफिन एक हजार सात सय १९, फेनारगन एक हजार सात सय ५२ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ४५ पिस र कोरेक्स एक सय ९९ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

अघिल्लो आव २०७४/७५ मा प्रहरीले चरेश ७० किलो, अफिम एक किलो २४ ग्राम, हेरोइन ११ ग्राम, नाइट्रोभेट दुई हजार नौ सय ३७, डाइजिपाम एक हजार चार सय ४९, ब्यप्रोनोरफिन एक हजार तीन सय आठ, फेनारगन एक हजार चार सय ७७, नोर्फिन एक सय ४५, स्पास्मो एक सय ४६ र अपिडोल १८ ट्याब्लेट तथा कोरेक्स चार सय ४६ बोतल बरामद गरेको थियो।

भारतीयको संलग्नता बढ्दै
लागूऔषध ओसारपसारमा भारतीय नागरिकको संलग्नता बढ्दै गएको छ। लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ परेकाको प्रहरीको तथ्यांकले भारतीयको बढ्दो संख्यालाई प्रस्ट पार्छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका ८२ जना थुनुवामध्ये ५३ जना लागूऔषध कारोबार मुद्दाका आरोपी रहेका छन्।

अघिल्लो आव २०७४÷७५ मा तीन महिलासहित १५ भारतीय र ११ नेपाली महिलालाई लागूऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। दुई सय ११ नेपाली पुरुषसहित दुई सय ३७ जना अघिल्लो आवमा लागूऔषधसहित पक्राउ परेका थिए। गत आव २०७५÷७६ मा भने तीन महिलासहित ३० भारतीय र छ नेपाली महिलालाई लागूऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। गत आवमा एक सय ६९ नेपाली पुरुषसहित दुई सय पाँच जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

साना सवारीको प्रयोग बढी

लागूऔषध ओसारपसारमा साना प्रकृतिका सवारीसाधनको प्रयोग बढी हुने गरेको छ। मकवानपुर प्रहरीले गत आव २०७५/०७६ मा लागूऔषध ओसारपसारमा संलग्न रहेको भन्दै २१ सवारीसाधन नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकामध्ये सुमो, कार, बोलेरो, मोटरसाइकलको प्रयोग सबैभन्दा बढी छ। प्रहरीका अनुसार कार ६, मोटरसाइकल चार, पिकअप÷बोलेरो चार, सुमो तीन, ट्रक दुई तथा स्कुटर, ट्याक्टर एक–एक वटा रहेका छन्। तीमध्ये भारतीय कार पाँच र सुमो दुईवटा रहेका छन्। अघिल्लो आव २०७४÷०७५ मा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा २७ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमध्ये भारतीय कार एउटा र सुमो दुई वटासहित मोटरसाइकल २०, सुमो र स्कुटर दुई–दुई, ट्रक, कार र अटो एक–एकवटा रहेका थिए।

प्रकाशित: १४ श्रावण २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App