१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

फोहोरमैला जलाउने पहिलो ठूलो योजनाको विरोेध

बनेपा - काभ्रे जिल्लाकै पहिलो नगरपालिका बनेपाले नगरक्षेत्रमा जम्मा भएका सबैखाले फोहोरमैलालाई मेसिनबाट जलाएर विसर्जन गर्ने योजना अघि सारेको छ। यसलाई नगरस्तरमा नेपालकै पहिलो योजना मानिएको छ।

‘एकातिर तीव्र सहरीकरणसँगै बनेपामा फोहोरमैला बढ्न थाल्यो। अर्कोतिर २२ वर्षअघि नगरपालिकाले किनेको जग्गामा आइटी पार्कनजिकैका स्थानीयले फोहोर विसर्जन र वर्गीकरणमा रोक लगाएपछि समस्या बल्झिँदो छ,’ बनेपाका नगरप्रमुख लक्ष्मीनरसिंह बादेले भने।

२०३८ सालमा गठन भएको बनेपा नगरपालिकालाई प्रारम्भिक दिनमा फोहोरमैलाको समस्या थिएन। २०५२ सालदेखि नै बनेपाले आइटी पार्कनजिकै किनेको ३० रोपनी क्षेत्रमा फोहोर विसर्जन गर्दै आएको छ। तीव्र सहरीकरण हुँदै गएको बनेपाले फोहोर विसर्जनका लागि मात्रै बर्सेनि डेढ करोड रुपैंयाभन्दा बढी खर्च गर्दै आएको छ।

‘त्यतिखेर बस्ती नभएको अवस्थामा उक्त क्षेत्रलाई उपयुक्त मानेर सहमतिमा नगरको फोहोर विसर्जन गर्न थालिएको थियो। पछि बिस्तारै बस्ती बढेको र महत्वपूर्ण संघसंस्था र निकायसमेत त्यही क्षेत्रमा आएकाले हामी पनि विकल्पको खोजीमा रहेका छौं,’ उनले भने।

फोहोरमैला समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले बनेपा–१४, चतुरेमा किनेको जमिनमा पूर्वाधार तयारीमा अझै दुई वर्ष लाग्ने भएकाले मेसिनबाट फोहोरमैला जलाउनुको विकल्प नरहेको उनको भनाइ छ। ‘नगरपालिकाको जग्गामा फोहोरमैलाको वर्गीकरणलगायत व्यवस्थापन गर्ने काममा सबैतिरबाट असहयोग भइरहेपछि बाध्य भएर प्रविधिको मद्दतले फोहोर जलाउन लागेका हौं,’ बादेले भने।

कृषिका लागि आवश्यक बिरुवा उत्पादन र प्रविधि विस्तारका लागि किनिएको जग्गामा पमैला जलाउने मेसिन राख्ने योजनाको वडास्तरमा विरोध भइरहेको छ।

यसका लागि नगरप्रमुख, उपप्रमुख एवं फोहोरमैला व्यवस्थापन समितिकी संयोजक रेखा दाहाललगायत पदाधिकारीले जापानी कम्पनी चुवा इन्डस्ट्रियलले उत्पादन गरेको ‘इन्डस्ट्रियल इन्सिनेटर’ रोजेका छन्। ‘सो कम्पनीको महाराजगंजमा रहेको डेमो मेसिनमा मैले नै रबरको टायरलगायत फोहोर बालेर हेरें। न धुँवा, न गन्ध,’ बादेले भने, ‘तत्कालका लागि बनेपाका निम्ति यही खालको मेसिन ठीक भन्ने निक्र्योलमा पुगेका छौं।’

नगरपालिकाले हाल बनेपा नगरक्षेत्रबाट निस्कासन हुने सबै खालको फोहोरमैलालाई वर्गीकरण नै नगरीकन काठमाडौं महानगरपालिकाको सिसडोलस्थित ल्यान्डफिल साइटमा पठाउँदै आएको छ। बनेपा वरपर कतै पनि फोहोर विसर्जन गर्न नसक्ने अवस्था भएपछि काठमाडौ महानगरप्रमुखलाई अनुरोध गरेर सो कार्य सम्भव भएको बादेको भनाइ छ। बनेपामा दैनिक पाँचदेखि आठ मेट्रिक टन फोहोरमैला निस्कासन हुँदै आएको छ।

‘ग्रिनपिस इन्भाइरोमेन्ट प्रालिसँग सहकार्य गरेर दिनहुँ ठूलो टिपरमा फोहोरमैला पठाइरहेका छौं। यो स्थायी समाधान होइन। त्यसैले पनि फोहोर जलाउने मेसिन राख्ने काममा बनेपाका सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, स्थानीय प्रशासन र नगरवासीले समेत मद्दत गरिदिनुप¥यो,’ सर्वपक्षीय बैठकमा नगरप्रमुख बादेले आग्रह गरे। नगरपालिकाले भाडाबापत फोहोर ढुवानीका टिपरलाई दैनिक ४० हजार रुपैयाँ खर्च गर्दै आएको छ।

अहिले मेसिन जडान गर्ने भनेको स्थान पनि नगरपालिकाले तत्कालीन फ्रेन्च परियोजनामार्फत कृषिका लागि आवश्यक बिरुवा उत्पादन र प्रविधि विस्तारका लागि किनिदिएको जग्गा हो। सोही जग्गामध्येको आधा क्षेत्रमा अन्तर्राष्ट्रिय कला केन्द्र राख्नका लागि नगरपालिकाले जग्गा प्रदान गरिसकेको छ। मेसिनमात्रै जडान गर्न दुई रोपनी जग्गा चाहिने बताइएको छ।

‘त्यो ठाउँमा पनि मेसिन राख्न दिँदैनौं भन्दै नौ नम्बर वडाध्यक्षसमेतले विरोध गर्न थालेका छन्। मलाई ज्ञापनपत्र पनि बुझाएका छन्। मैले विरोध गर्नेहरूलाई मेसिन कसरी सञ्चालन हुनेबारेमा भिडियो हेरौं, अनि महाराजगन्जमा जडान गरिएको मेसिनमा कसरी फोहोर बाल्ने रहेछ। धुँवा, दुर्गन्ध आउने या नआउने अवस्था के छ, हेर्न जाऔं भनेर अनुरोध गरेको छु तर उहाँहरू कुरै सुन्न चाहनु हुन्न,’ बादेले गुनासो गरे।

पूर्वउद्योग राज्यमन्त्री एवं नेपाली कांगे्रसका नेता कन्चनचन्द्र बादेले बनेपाको फोहोरको समस्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गरे। ‘सबै पक्षलाई समेटेर योजना ल्याउनुस्, हाम्रो पार्टी समस्या समाधानमा साथ दिन तयार छ,’ उनले भने ‘तर फोहोर जलाउन करोडौं खर्च गरेर ठूलो मेसिन राख्ने नाममा स्थानीय सरोकारवालाहरूलाई राम्ररी नबुझाएको खण्डमा कालान्तरमा समस्या आउन सक्नेतर्फ सबै सुरुमै सचेत हुनुपर्छ।’ बैठकका सहभागी बनेपाका पूर्वप्रमुख डा. सुरेन्द्रबहादुर बादे, काभ्रेका प्रजिअ उदयबहादुर रानामगर, माओवादी (क्रान्तिकारी) का नगर अध्यक्ष सौरभ कायस्थलगायतले पनि नेपालमै पहिलो पटक मेसिन प्रयोगबाट फोहोर जलाउने भएकाले यसबाट पर्नसक्ने प्रभावबारेमा सँगसँगै अध्ययन गर्न सुझाव दिएका थिए।

अहिले बनेपा नगरपालिकाले किन्न लागेको ठूलो क्षमताको ‘इन्डस्ट्रियल वेस्ट इन्सिनेटर’ ले प्रत्येक आठ घण्टाको सिफ्टमा पाँच मेट्रिक टन फोहोर जलाउन सक्छ। चार करोड रुपैयाँ पर्ने सिएक्स–५ मोडेलको सो मेसिन नेपाल आइसकेको ग्रिनपिसका प्रबन्ध निर्देशक मंगल लामाले जानकारी दिए। ‘यो मेसिनले सिसा बाल्दैन तर उच्च तापक्रममा बल्ने भएकाले तीन एमएमसम्मका डण्डीसहित काठ, रबर र सबै किसिमका फोहोरमैला बाल्ने काम गर्छ,’ उनले भने, ‘फोहोर बाल्दा निस्कने धुँवालाई तातोपानीको वाफले नियन्त्रण गर्ने भएकाले धुँवा र गन्ध भने पटक्कै आउँदैन।’

मेसिन पूर्ण रूपमा सञ्चालन हुनका लागि प्रतिघण्टा पाँच हजार लिटर पानी आवश्यक पर्ने हुन्छ। यसरी तातेको पानीलाई स्वीमिङ पुललगायत अन्यत्र उपयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। मेसिनको वितरक हिटा ग्रुप प्रालिले ६ महिनाअघि नै मेसिन झिकाइसकेको र बनेपामा जडानका लागि चार महिनादेखि प्रयासरत रहेको लामाको भनाइ छ। मेसिन जडान गर्न जापानबाटै प्राविधिक आउनुपर्ने भएकाले स्थान तयारी भएको खण्डमा १५ दिनमै जडान गर्न सकिने लामाले बताए।

लामाका अनुसार विश्वका धेरै महानगर र नगरपालिकाले यही कम्पनीको मेसिन प्रयोग गरेर फोहोरमैलाहरू जलाइरहेका छन्। फोहोर जलाएपछि निस्कने खरानीबाट ब्लक (इँटा) बनाउन सकिने भएकाले सो मेसिन बहुउपयोगी हुनेछ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App