२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

ठेक्का म्याद सकियो, काम भएन

श्याम राई/ज्योति श्रेष्ठ
काठमाडौं - कतै माटोका थुप्रा, कतै ठूलाठूला भ्वाङ, कतै खाल्डाखुल्डी, कतै हिलो, कतै हिलो, कतै जलमग्न, कतै अतिक्रमण, कतै फुटपाथविहीन त कतै छरपष्ट निर्माण औजार र सामग्री। चाबहिल–साँखु सडक, कपन सडक, टोखा सडक, जोरपाटी–सुन्दरीजल सडक, त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक, सितापाइला सडक, बालाजुलगायत उपत्यकाका विभिन्न सडकको दुर्दशा हो यो। यसैले लथालिंग अवस्थामा छन् उपत्यकाका सडक।

सडक व्यवस्थित गर्न कसैको इमानदार प्रयास देखिँदैन। राज्यका संयन्त्रहरू कमिसनको चक्करमा पर्दा सडकको अवस्था बिग्रँदै गएको हो। सम्बन्धित सरकारी अधिकारी कमिसन मोहमा नपर्दा हुन् त बेलैमा काम नगरेर सडकलाई धराप बनाउने ठेकेदार कारबाहीमा पर्थे। कामले गति लिन्थ्यो। राज्यको सम्पत्ति पनि जोगिन्थ्यो। नागरिकले सुरक्षित र सहज यात्रा गर्न पाउँथै। उपत्यकाको सौन्दर्य पनि गुम्दैनथ्यो। 

वर्षौैंदेखि सडक कालोपत्रे र मर्मत नहुँदा धुलो र हिलोबाट सास्ती खेप्न बाध्य छन् सहरबासी। सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालले उपत्यकाका सडक वर्षाैदेखि लथालिंग अवस्थामा छन्। चाबहिल–साँखु सडक बिग्रेर खाल्डैखाल्डामा परिणत भएको छ। स्थानीय सडक कालेपत्रे माग गर्दै आन्दोलनामा उत्रिनुपरेको छ।

२०७५ साउन २४ मा चाबहिल–साँखु सडक निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ १२ पछि सडकमा खाल्डा नदेखिने बताएका थिए। सोही दिन मन्त्री महासेठले तत्कालका लागि सडकका खाल्डा पुर्न उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीलाई निर्देशन  दिएका थिए। तर, निर्देशन र मन्त्रीको प्रतिबद्धता कार्यान्वयन भएन। सडकको अवस्था झन् बिग्रँदै गयो। मारमा यात्रु परेका छन्। ठेकेदारसँग भएको सम्झौताको म्याद सकिँदासमेत सडक कालोपत्रे हुने कुनै संकेत देखिएको छैन।

राज्यका संयन्त्रहरू कमिसनको चक्करमा पर्दा सडकको अवस्था बिग्रँदै गएको हो। सम्बन्धित सरकारी अधिकारी कमिसन मोहमा नपर्दा हुन् त बेलैमा काम नगरेर सडकलाई धराप बनाउने ठेकेदार कारबाहीमा पर्थे। कामले गति लिन्थ्यो। राज्यको सम्पत्ति पनि जोगिन्थ्यो। नागरिकले सुरक्षित र सहज यात्रा गर्न पाउँथै। उपत्यकाको सौन्दर्य पनि गुम्दैनथ्यो। 

बौद्धका कुवेरप्रसाद सिवाकोटी सडक कालेपत्रेको माग गर्दै स्थानीयले आन्दोलन गरे पनि सुनुवाइ नभएको बताउछन्। ‘सडक पिचका लागि सबै व्यापारी मिलेर आन्दोलन ग¥यौैं। ठेकेदारसगँ सडक पिच गर्ने सम्झौता हुन्छ,’ उनले भने, ‘तर काम हुँदैन। विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपमा आउने बाह्य तथा आन्तरिक पर्यटक दिक्क मान्छन्  बाटोको अवस्था देखेर।  छिटो पिच भए यसरी सर्वसाधारणले दुःख खेप्नु पर्दैनथ्यो ।’

चाबहिल–साँखुको १२ किमि चौडा सडक विस्तार गरेर चार लेन बनाउने र सडकको दुवैतर्फ फुटपाथ र दुर्ई–दुई मिटर अपांगमैत्री संरचना गरी २२ मिटर चौडा बनाउने सम्झौता भएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार एक अर्ब ७५ करोड रूपैयाँ लगानीमा यो काम गर्ने सम्झौता भएको छ। सडक निर्माणका लागि युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु÷च्याङमिला÷खानी जेभि, बज्रगुरु÷बिरुवा÷खानी जेभी र बिटी÷सुनकोसी÷वल्र्डवाइड जेभि कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पछि लामा÷ समानान्तर जेभि कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ।

सम्झौता अनुसार २०७४ सम्ममा उक्त  सडक विस्तार काम सकिनपर्ने हो। म्याद सकिएपछि फेरि थपेर सरकारले एक वर्षभित्रमा कालोपत्रे हुने बताएको थियो। तर, हालसम्म कालोपत्रे भएको छैन। सडक आयोजनाले ठेक्का सम्झौताबमोजिमको समय सकिएपछि फेरि एक वर्ष थपेर तिनै कम्पनीलाई असार मसान्तसम्ममा काम सक्ने गरी जिम्मा दिएको थियो। तर, थपिएको समय सकिँदा पनि सडक पिच हुन सकेन।

मुआब्जा नपाएका घरधनीले घर नभत्काएका कारण मापदण्ड घटाएर चुच्चेपाटीदेखि बौद्धसम्मको करिब एक किमि, जोरपाटी ओरालोबाट नारायणटारसम्मको करिब दुई किमि र दक्षिण ढोकाबाट थलीसम्मको करिब एक किमि सडकमात्रै पिच भएको छ।

आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ चाबहिल–साँखु सडक निर्माण क्रममा अहिलेसम्म ९७ करोड रूपैयाँ खर्च भइसकेको बताउँछन्। उनका अनुसार काम भने ५० प्रतिशत मात्रै भएको छ। ढलको वैज्ञानिक प्रबन्धबिना काम गरिएकाले सडक पिच भए पनि टिकाउ नहुने देखिन्छ। पिच टिकाउन पहिला ढलको वैज्ञानिक व्यवस्थापन गरिनुपर्छ।
यसैगरी कपनका साततले, आकाशे धारा, शिवपुरी चोक, साततल–मिलन चोक (करिब दुई किमि), रुद्रमती चोक, बालुवाखानीलगायत ठाउँका सडकको अवस्था पनि बेहाल छ।

सडक पिच गर्न ठेकेदारले ढिलासुस्ती गर्दा स्थानीय मारमा  छन्। आकाशेधाराका स्थानीय काली अधिकारीले मन्त्री र नेता आपउँदा सडकका खाल्डा पुरिने अघिपछि बेवास्ता गरिने बताइन्। केही दिनअघि कांग्रेस नेता एवंल सांसद गगन थापा निरीक्षण गर्न आएपछि सडक टालटुल पारिएको उनी बताउँछिन्। उनका अनुसार आकाशेधारादेखि राममन्दिरसम्मको बाटोको अवस्था धेरै नाजुक भएकाले ८ महिनादेखि गाडी चल्न सकेका छैनन्। हिलाम्मे सडकले जनजीवन अस्तव्यस्त भएकाले तत्काल पिच गर्नुपर्ने स्थानीयको माग छ।

साततलेचोकदेखिको भित्रि सडकको अवस्था पनि नाजुक छ। हिलाम्मे सडकको बीचबीचमा खाल्डाखुल्डी छन्। सडक छेउमा निर्माण सामग्रीका असरल्ल छन्। न त सवारी सजिलै सडकमा पार गर्न सक्छन् न त पैदल यात्रु नै निर्धक्क हिँड्न सक्छन्। ‘सप्तकोसी हेर्न टाढा जानैपर्दैन। यहीं सडकमा  सप्तकोसी नदी बगेझैं देखिन्छ,’स्थानीय व्यंग्य गर्छन्। स्थानीय रामहरि सापकोटाले साततलेदेखि आनी गुम्बासम्मको करिब एक किमि सडक निकै बिग्रिएको बताए। ‘असारे विकास’ मा छारो हाल्ने काम भइरहेको आरोप लगाउँदै उनले भने, ‘सडक मर्मतका लागि भनेर माटो हालेको असारदेखि हो। थुप्रो मात्र लगाए। पानी परेर काम गर्न पाएनन्। पानी परेपछि यो ठाउँमा भेलबाढी आउँछ। छेउछाउका घर डुबानमा पर्छन्। सवारीसाधन चल्न सक्दैनन्। जनप्रतिनिधिको ध्यानाकर्षण पटकपटक गराए पनि काम भएन।’ भद्रगोल सडकले दिनचर्या नै अस्तव्यस्त बनाएको उनले बताए।

आकाशेधारादेखि रामन्दिरसम्मको करिब एक किमि सडक ६ करोड ५५ लाख रुपैयाँमा निर्माणका लागि २०७३ असार ३१ गते शैलुङ कन्ट्रक्सन प्रालिसँग ठेक्का समम्झौता भएको थियो। सम्झौताबमोजिम २०७४ असोजमा काम सकिनुपथ्र्यो। तर काम भएको छैन। सडक डिभिजन काठमाडौंका अनुसार म्याद सकिँदा बल्ल ३० प्रतिशतमात्रै काम भएको छ। ह्युमपाइपको काम भने ५० प्रतिशत सकिएको छ।

त्यस्तै साततलेदेखि आनीगुम्बासम्मको करिब एक किमि सडक सात करोड ३८ लाख रुपैयाँमा निर्माणका लागि २०७५ साउनमा मृतसञ्जीवनी÷वाइवा एन्ड लामा जेभिसँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण सम्पन्न गर्ने समय यही साउन १५ गतेसम्म छ। तर, तोकिएको अवधिभित्र सडक पिच हुने अवस्था छैन। सडक डिभिजन काठमाडौंका अनुसार ह्युमपाइपको काम ५० प्रतिशत, डिमार्केसन (सीमारेखांकन) को काम ६० प्रतिशत सम्पन्न भएको छ। आकाशेधारादेखि बालुवाखानी बसपार्कसम्मको करिब तीन किमि सडक निर्माण पनि ठेक्का सम्झौताबमोजिम हुन सकेको छैन। दिवा÷सैलुङ जेभिले २०७५ जेठ महिनाभित्रै उक्त सडक निर्माण सक्नेगरी २०७३ जेठमा २० करोड लागतमा सम्झौता गरेको थियो। तर म्याद सकियो काम भएन।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गतको सोल्टीमोड क्षेत्रमा  ढल हाल्न नसक्दा वर्षा हुनासाथ ढलमग्न हुन्छ। ललितपुरकोे चाकुपाट, इमाडोल, च्यासल लगायत क्षेत्रका सडक पनि हिलाम्मे देखिन्छन्। कोटेश्वरदेखि महादेवस्थान जाने सडक  भासिएको छ। दक्षिणकाली–कुलेखानी सडक पनि पिच हुन नसक्दा हिलाम्मे छ। धोबीखोला करिडोरअन्तर्गत वैजनीपुलदेखि भंगालसम्म सडक बने पनि सवारीसाधन ओहोरदोहोर गर्न सक्ने अवस्था छैन।

टोखा क्षेत्रका सडक पनि बिग्रिएका छन्। पिच नहुँदा पानी पर्दा  हिलो र घाम लाग्दा धुलोले सताउँछ। खरिबोटदेखि ढुंगेधारासम्मको करिब दुई किमि सडक पनि हिलाम्मे छ। टोखाका भित्री सडकसमेत लथालिंग छन्। टोखाका  स्थानीय सूर्य कार्कीले सडक मर्मतमा ढिलासुस्तीले सास्ती भोग्न बाध्य भएको बताए। ‘बाटो हिलाम्मे छ। एक ठाउँबाट अर्को ठाउँ जान मुस्किल पर्छ,’ बिग्रिएको सडक देखाउँदै उनले भने, ‘घाम लागे धुुलाम्मे हुन्छ, पानी परे हिलाम्मे हुन्छ।’ यस विषयमा पटकपटक नगरपालिकामा निवेदन गर्दा पनि चासो नदेखाएको उनको गुनासो छ। साढै दुई किमिको उक्त सडक १८ करोड ८२ लाखमा पिच गर्न सुनौला÷खिम्ती÷रफिना निर्माण कम्पनीले २०७४ पुसमा ठेक्का पाएको थियो। सम्झौता अनुसार उक्त कम्पनीले २०७६ असारसम्म काम सक्नुपर्ने थियो तर सकिएन। अहिलेसम्म १५ प्रतिशत मात्रै काम भएको छ। सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार निर्माणमा साढे दुई करोड खर्च भैसकेको छ। तर कामले गति लिन सकेको छैन।

सीतापाइला–रामकोट सडक पनि अस्तव्यस्त छ। हिलाम्मे सडकले सास्ती खेप्न बाध्य भएको स्थानीयको गुनासो छ। सडकको बीचबीचमा भ्वाङ पर्दा सर्वसाधारण ओहोरदोहोर गर्न नसकेको स्थानीय सुरजकुमार पोखरेलले बताए। ‘सीतापाइला–रामकोट–गल्छी खण्डको उकालो सुरु नहुँदै बीचा सडकमै ठूलाठूला भ्वाङ परेका छन्। सवारीसाधन मुस्किलले ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘पैदल यात्री जोखिम मोलेरै हिँड्नुपर्छ। केही दिनअघि लगातार परेको पानीले सडकमा बनाएका भ्वाङका कारण दुर्घटनाको जोखिम पनि बढेको छ। सडक पिच गर्न स्थानीयले पटकपटक ध्यानाकर्षण र नार्गाजुन नगरपालिकामा तालबन्दी गर्दा पनि काम नभएको उनले बताए। ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणले दुःख पाएको उनले बताए। बेलैमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने स्थानीयको माग छ। सो सडक २२ मिटर चौडा बनाउने योजना छ।

सीतापाइला–रामकोट सडकको पाँच किमि २०७६ असारमा मर्मत सक्नेगरी २०७३ साउनमा आशिष÷सिम÷जयाबाबा जेभिले ठेक्का पाएको थियो। सो कम्पनीले २४ करोडमा सडक मर्मत गर्ने सम्झौतामा उल्लेख छ। सम्झौताको म्याद सकिएको छ। काम भने ५५ प्रतिशत मात्रै भएको छ। सडक डिभिजन काठमाडौंका अनुसार ठेकेदारले १३ करोड रुपैयाँ लिइसकेको छ।

सडक विभागका प्रवक्ता तथा सूचना अधिकारी शिवहरि  सापकोटा बाटो ‘क्लियर’ नहुदाँ सडक मर्मत र विस्तारमा ढिलाइ भएको बताउँछन्। उनले उपत्यका विकास प्राधिकरणले बनाएको सीमा रेखांकनको ‘क्लिअरेन्स’ नभएका कारण विभागबाट काम हुन नसकेको बताए। ‘सडक मात्र बनाउने हो भने ६ महिनाभित्रै उपत्यकाका सम्पूर्ण सडक व्यवस्थित हुन्छन्,’ उनले भने, ‘सडकसँगै जोडिएका ढल, खानेपानी, फोहोर, बिजुली, फुटपाथ सबैलाई व्यवस्थित बनाउनुपर्छ। यसैलाई विकास प्राधिकरणले व्यवस्थित गर्न सकेको छैन। सरोकारवाला निकायबीचको समन्वय फितलो छ। हामी प्याकेजिङ रुपमा सँगै जानुपर्ने हुन्छ।’

सडक विभागका अनुसार सडक मर्मत र विस्तारका लागि विभागले काम सुरु गरिसकेको थियो। स्थानीय सरकार र प्राधिकरणले सीमा रेखांकन लगाएपछि काम रोकियो। कुनैकुनै सडकमा ठेकदारको लापरवाहीले काम हुन नसकेको सापकोटाले बताए। उनका अनुसार टोखा सडक खण्डमा १५ प्रतिशत मात्र काम भएको छ। काममा ढिलासुस्ती हुनुको कारण देखाउँदै प्रवक्ता सापकोटाले भने, ‘ठेकदारले त्यहाँ बदमासी गरेको पाइएको छ। २ वर्षको समयावधिमा पनि राम्रोसँग काम हुन सकेको छैन। ठेकदारलाई कारवाही प्रक्रिया अगाडि बढाएका छौं। वर्षात्पछि त्यहाँको सडक मर्मतले गति लिन्छ।’

पहिलेको तुलनामा उपत्यकाका सडक सुधार भएको दाबी उनले गरे। उनका अनुसारसहरी योजना व्यवस्थित नहुँदा सडकको अवस्था भद्रगोल भएको हो। उनले भने, ‘सडक किनारमा पर्ने घर, टहरा हटाउन पनि मापदण्ड बनाइएको छ। तर उपत्यका विकास प्राधिकरणले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएको छैन । प्राधिकरण यस विषयबाट पन्छिन खोजिरहेको छ। सडक व्यवस्थित नहुनुमा हाम्रो दोष होइन। यसमा स्थानीय सरकार र उपत्यका विकास प्राधिकरणको दोष छ। यी निकायले बाटो बनाउने वातावरण मिलाएपछि सडक छिट्टै पिच हुन्छ।’ उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोल नसार्दा कपनको आकाशेधारा, साततले, राममन्दिर, आनीगुम्बालगायत क्षेत्रमा  विस्तारको काम हुन सकेको छैन। सबै निकायबाट समन्वय भएमा १÷२ वर्षभित्रमा उपत्यकाका सडक धेरै व्यवस्थित हुने उनले बताए।

प्राधिकरणका आयुक्त भाइकाजी तिवारी सर्वोच्च अदालतको आदेशले काम रोकिएको बताउँछन। ‘विभागको क्षेत्राधिकारभित्र रहेको त्रिभुवन राजपथ अव्यवस्थित र नाजुक रहेको बताउँदै तिवारीले भने, ‘उक्त सडक खण्डको काम विभागले गर्नुपर्ने हो। त्यहाँचाहिँ किन काम भएको छैन ? विभिन्न बहानामा सडक निमार्ण अलपत्रै पारिएको छ।’

प्राधिकरणका अनुसार सडक विस्तारका लागि २२ मिटर (चौडाइ) को मापदण्ड तोकिएको छ। यसका लागि सडक चौडा गर्नुपर्ने भएकाले घरधनीले  छेउको घरजग्गा छाड्नुपर्ने हुन्छ। उक्त जग्गाको मुआब्जा रकम सर्वोच्चले दिने फैसला गरेको छ। काठमाडौं उपत्यकामा मात्र सरकारले २ खर्ब रकम मुआब्जाका लागि छुट्याउनुपर्ने हुन्छ। तर, सरकारसँग त्यति धेरै रकम नभएकाले घरधनीलाई मुआब्जा दिन सक्ने क्षमता छैन। यसै कारण अहिले सडक क्लियरेन्सको काम रोकिएको तिवारी  बताउँछन्।

काममा किन विलम्ब
चाबहिल–साँखु सडक
उक्त सडकछेउका संरचना हटाउन नसकेका कारण बेलैमा काम हुन नसकेको हो। उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठका अनुसार घरधनीले मुआब्जा नपाएपछि घर भत्काउन नदिँदा सडक कालोपत्रे गर्न नसकिएको हो। ‘पहिले सडक पिच गर्ने बेलामा घरधनीले घर नभत्काउँदा काम हुन सकेन,’ उनले भने, ‘अहिले पानीले काम गर्न  दिएको छैन। वर्षा मौसममा पिचको काम हुँदैन। ढलको समस्याले पनि काममा ढिलाइ भएको छ। बौद्धमा बेस हालिसकेका छौं। पानी रोकिएपछि पिच हुन्छ।’ उनका अनुसार घरधनीले मुआब्जाको माग गर्दै आएका छन्। उक्त सडकमा ढल हाल्ने काम ९० प्रतिशत सकिएको छ। फुटपाथको  करिब ४० प्रतिशत काम सम्पन्न भएको छ। चुच्चेपाटी क्षेत्रको सडकको काम सकाएपछि मात्रै अरब बैंकको काम सुरु गरिने छ।
दसैंसम्म चाबहिल चोकदेखि चुच्चेपाटी चोकसम्मको सडक पिच हुने उनले बताए।  चाबहिल–साँखुसडकको कालोपत्रे  आागामी आर्थिक वर्षमा सक्ने उनको अनुमान छ। चाबहिल–साँखु सडक, जोरपाटी–सुन्दरीजल सडक र त्रिपुरेश्वर–नागढुंगा सडक निर्माणका लागि सबै ठेकेदारको समय सकिसकेको उनले बताए। भौतिक मन्त्रालयका सचिवको निर्णय अनुसार म्याद थप विषयमा कुरा भएपछि मात्रै कामका लागि ठेकेदारको टुंगो लाग्ने उनले बताए। ‘समय सकिए पनि ठेकेदारले म्याद माग्दै आएका छन्।  काम नगर्ने ठेकेदारलाई निकालिन्छ,’ उनले भने, ‘कामका आधारमा म्याद थप गरिन्छ। ऐनमा पनि यसबारे उल्लेख छ। यसका लागि भौतिक मन्त्रालयले जे निर्णय गर्छ। त्यसैका आधारमा ठेक्काको काम हुन्छ। त्यसपछि काम अघि बढ्छ।’

जोरपाटी–सुन्दरीजल सडक
जोरपाटी–सुन्दरीजल सडक छेउका संरचना नभत्काइँदा कालोपत्रे हुन नसकेको हो। उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्रेष्ठ घरका संरचना हटाउन बाँकी भएकाले पिच हुन नसकेको बताउँछन्। ‘घरधनीले मुआब्जाको माग राखेर घर भत्काएका छैनन्। यो सडक पनि विस्तार गरेर २२ मिटर चौडा बनाउने हो,’ उनले भने, ‘काम गर्ने वातावरण नभएकाले थोरै मात्रै भएको छ।’

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक
उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्रेष्ठले सोल्टीमोड सडकमा स्थानीयले घरको सेप्टिक ट्यांक हाल्ने माग राखेर ढल हाल्न अवरोध गर्दै आएकाले सडक विस्तार हुन नसकेको बताए। ‘स्थानीयले अवरोध गरेकाले ढल हाल्न सकिएको छैन। त्यहाँको करिब १० किमि सडक पिच भैसकेको छ,’ उनले भने, ‘पिचको काम लगभग सम्पन्न भैसके पनि फुटपाथको काम भने बाँकी छ।’

टोखा–छहरे सडक
ढल मर्मत हुन नसक्दा टोखाको सडक पिच हुन नसकेको हो। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी नगरपालिकाभित्रका सडक मर्मत हुन नसक्नुमा ढल निर्माण प्रमुख कारण भएको बताउँछन्। उनका अनुसार ढल निर्माण गरेको कम्तीमा पनि ४÷५ महिना, सडक पिच गर्नु हँुदैन। ढलको काम सकिएपछि मात्र सडकको काम सुरु हुन्छ। ‘नगरपालिकामा पानीको अभाव छ। नगरपालिकाको सक्रियतामै अहिले पिआइडीको पाइपलाइन विस्तारको काम भइरहेको छ। यो काम सकिनेबित्तिकै दसैंसम्म ढलको सेटिङ सबै मिलिसक्छ। त्यसपछि सडक पिचको काम पनि  हुन्छ।’

नगरसभाले पनि उक्त सडक मर्मतका लागि बजेट छुट्याएको नगर प्रमुख अधिकारीले बताए। उनका अनुसार सामाखुसी चोकदेखि खरिबोटसम्मको सडक मर्मतका लागि नगरपालिकाले २ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: ११ श्रावण २०७६ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App