७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राज्य संयन्त्र चुक्दा मिलेन न्याय

उल्टाखाम (कञ्चनपुर) - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन।

निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै बल्झिँदै गएको उनका आमा–बुबा बताउँछन्। न्याय खोज्दाखोज्दै वर्ष बिते पनि अझै न्याय पाउन नसक्दा पीडा थपिँदै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। ‘निर्मला हत्याको वर्ष दिन भइसक्दा पनि प्रहरीले किन हत्यारा पत्ता लगाउन सकेन,’ उनले नागरिक संवाददातासँग भनिन्, ‘निर्मलाको हत्यारा पत्ता नलाग्दा वर्ष दिनसम्म पनि पीडा आलै छ।’ निर्मलाको यादले रातभर पोलिरहने बताउँदै उनले थपिन्, ‘निर्मलाकै यादमा रुँदारुँदै आँसु पनि सकियो।’ हत्यारा पत्ता लागे आफूले न्याय पाएको महसुस हुने उनी बताउँछिन्।

निर्मला हत्याको एक वर्षसम्म आफूले सरकारसँग न्याय मागेको उनका बुबा यज्ञराज बताउँछन्। ‘मैले सुरुदेखि नै सरकारसँग अरु केही मागिनँ, मात्र न्याय मागें,’ उनले भने, ‘हत्याको एक वर्ष बितिसक्दा पनि न्याय नै पाइएन।’ अपराधी पत्ता लागेर छोरीको कसरी हत्या भयो भन्ने थाहा पाएको भए सन्तुष्टि हुने उनी बताउँछन्। ‘हत्यारा पत्ता लाग्यो, उसलाई जेल सजाय भयो भनेर आत्मसन्तुष्टि हुन्थ्यो,’ यज्ञराजले भने, ‘हत्यारा पत्ता नलाग्दा छोरीको आँसुले पोलेको महसुस हुन्छ।’

आफूले असम्भव कुरा नमागेको बताउँदै उनले भने,‘मैले निर्मलालाई ज्यूँदो बनाइदेऊ भनेर त माग गरेको छैन, हत्यारालाई खोजेर कानुनी दायरामा ल्याइदेऊ भनी एउटै माग गरेको हुँ।’ निर्मला हत्याको अनुसन्धान शून्य रहेको उनी बताउँछन्। ‘सरकारले निर्मलाको हत्यारा पत्ता लगाउने आश अब मरिसक्यो,’ उनले भने, ‘न्यायको भिख मागिरहेको छु, सरकारले न्याय दिन नसक्ने भए हामीलाई पनि मारिदिए हुन्थ्यो।’ हरेक पटक जिल्ला प्रहरी कार्यालय पुग्दा आज यतिजनाको रगत जाँच गरियो, भोलि यतिको भनी प्रहरीले संख्या सुनाउने काममात्रै गरेको उनले बताए।

घटनास्थल अझै अनिश्चित
८० जनाको डिएनए परीक्षण

६ सयभन्दा बढीसँग सोधपुछ
छात्रामा त्रास कायमै

निर्मलाको हत्यारा अहिलेसम्म पत्ता नलाग्नु दुःखद भएको छिमेकी मञ्जु भट्ट बताउँछिन्। उनले भनिन्, ‘कस्ताकस्ता घटना त पत्ता लाग्छन् तर निर्मलाको हत्यारा अहिलेसम्म पत्ता किन लागेन ?’ उनले निर्मलाको हत्यामा ठूलै व्यक्तिको हात हुन सक्ने आशंका गरिन्। ‘निर्मलाको हत्यामा गरिब व्यक्ति संलग्न हुन्थ्यो भने अहिलेसम्म समातिइसक्थ्यो,’ उनले भनिन्, ‘एक वर्ष बितिसक्दा पनि निर्मलाको हत्या अनुसन्धानकै गर्वमा रहनु पनि शंकाको घेरामा छ।’

निर्मला पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डे प्रहरीको प्रभावकारी अनुसन्धान नहुँदा हत्यारा पत्ता लाग्न नसकेको बताउँछन्। अधिकारकर्मी मीना भण्डारीले अहिलेसम्म सरकारकाले अपराधी सार्वजनिक गर्न नसक्नुमा आशंका जन्मेको बताइन्। उनले भनिन्, ‘प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्छ तर उपलब्धि केही देखिँदैन।’ अर्की अधिकारकर्मी हेलेन श्रेष्ठले पीडित पक्ष नै कमजोर भएका कारण निर्मलाको न्यायको आवाज कमजोर भएको बताइन्। ‘न्याय र सत्यभन्दा पनि आर्थिक चलखेलले प्रभाव पार्ने प्रवृत्ति देखिँदा मन निराश हुन्छ,’ उनले भनिन्, ‘पैसाले धारणा बदलिने प्रवृत्ति बढेकाले न्यायका पक्षमा आन्दोलन गर्न र बोल्न पनि मन लाग्न छोड्यो।’

घटनास्थल अझै अनिश्चित

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले सबै कोणबाट अनुसन्धान जारी रहेको र अहिलेसम्म ठोस कुनै कुरा पत्ता लाग्न नसकेको बताएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्लास्थित प्रहरी टोलीले पनि निर्मला हत्याकाण्डको अनुसन्धान जारी राखेका छन्। वास्तविकता पत्ता लाग्न नसक्दा अनुसन्धान टोली पनि निरन्तर फेरिएका छन्। अहिले सिआइबीका प्रहरी उपरीक्षक गणेश चन्द नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ भने जिल्लास्थित प्रहरी टोली पनि अनुसन्धानमै खटिएको छ।

‘निर्मलाको हत्याका बारेमा अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन,’ एसपी आचार्यले भने, ‘हामी सबै कोणबाट अनुसन्धानमै छौं।’ निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भएको हो भन्ने कुरामा पनि प्रहरी अनुसन्धानले निकर्ष निकाल्न सकेको छैन। ‘निर्मलाको बलात्कारपछि हत्या उखुबारीमा नै भएको हो वा बाहिर कुनै ठाउँमा बलात्कारपछि हत्या गरेर त्यहाँ फालिएको हो, अहिलेसम्म खुल्न सकेको छैन,’ उनले भने, ‘निर्मलाको बलात्कार एक व्यक्तिले गरेको हो वा सामूहिक बलात्कार हो भन्ने पनि स्पष्ट हुन सकेको छैन।’ निर्मलाको भेजाइनल स्वाबमा एकजनाको स्पोमा फेला परेकोले बलात्कार एकजनाले गरेको अनुमान गरिए पनि यसैका आधारमा घटनामा एकजनामात्रै संलग्न भनी निष्कर्ष निकाल्न नसकिने प्रहरीको भनाइ छ। ‘एकजनाको स्पोम फेला परे पनि सामूहिक बलात्कार भएको होइन भन्न सकिँदैन’, आचार्यले भने।

८० जनाको डिएनए परीक्षण

निर्मला हत्याको छानबिनका क्रममा प्रहरीले ८० जनाको डिएनए परीक्षण गरेको छ। तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज बिष्टलगायत ८० जनाको डिएनए परीक्षण गरिएको छ। तीमध्ये ७० जनाको डिएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबमा फेला परेको स्पोमको प्रोफाइलसँग मेल नखाएको प्रहरी उपरीक्षक आचार्यले बताए।
६ सय बढीसँग सोधपुछ

निर्मला हत्याकाण्डमा शंकाको घेरामा राखिएका ६ सयजना भन्दा बढीलाई प्रहरीले सोधपुछ गरेको छ। प्रहरीले घटनास्थल वरपर र घटना भएका समय कञ्चनपुरमै रहेका, अहिले बाहिर गएकालाई पनि शंकाकै घेरामा राखेको छ। पहिले सोधपुछ भइसकेकालाई पनि पुनः सोधपुछ भइरहेको आचार्यले बताए। प्रहरीले तीन घरमा खानतलासी समेत गरेको बताएको छ। वैज्ञानिक तथा अन्य तथ्यले पुष्टि नगरेसम्म कसैलाई अभियुक्त भन्न नसकिने बताउँदै आचार्यले थपे, ‘अनुसन्धान साँघुरो हुँदै गएको छ।’

विद्यार्थीमा त्रास कायमै

निर्मला अध्ययन गर्ने सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीमा अझै त्रास कायम छ। त्रासले पठनपाठनमा समेत प्रभाव परिरहेको विद्यार्थी तथा शिक्षक बताउँछन्। निर्मलाकी साथी लक्ष्मी बडूले एक वर्षसम्म हत्यारा पत्ता लाग्न नसक्दा आफूहरूमा त्रास नहटेको बताइन्। उनले भनिन्, ‘निर्मलाको हत्यारा पत्ता नलाग्दा विद्यालय आउजाउ गर्नै डर लाग्छ।’ लक्ष्मीको घर निर्मलाको हत्या भएको उखुबारीनजिकै हो।

अर्की साथी कविता पाण्डे पनि निर्मलाको घटनाका बारेमा विभिन्न मानिस आएर सोधपुछ गर्ने गर्नाले मनमा त्रास कायमै रहेको बताउँछिन्। विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेले निर्मला हत्याका बारेमा विद्यार्थीलाई पटकपटक सोधपुछ गरिँदा पनि मनोवैज्ञानिक असर परेको बताए। उनले भने, ‘अहिले पनि विद्यार्थीमा डरको वातावरण कायमै छ।’ निर्मलाको शव फेला परेको स्थलबाट विद्यालय आउजाउ गर्ने धेरै विद्यार्थी भएकाले उनीहरूमा पनि त्रास रहेको उनले बताए। उनका अनुसार निर्मलाको हत्यापछि विद्यार्थीमा पढाइप्रतिको रुचि घटेको छ।

यसरी भएको थियो घटना

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिइन्। उनले प्रहरीलाई गुहारिन्। गाउँलेले पनि प्रहरीलाई खोजी गरिदिन आग्रह गरे। दुर्गादेवीले प्रहरी चौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजिदिन अनुनय गरिन् तर प्रहरीले आनाकानी ग¥यो। ‘प्रहरीले त्यही साँझ छोरीको खोजी गरिदिएको भए सास नभेटिए पनि शंका मेटिन्थ्यो’, उनले भनिन्।

प्रहरीको पहिलो दिनकै व्यवहारबाट असन्तुष्ट स्थानीयले निर्मलाको शव फेला परेको साउन ११ गतेदेखि दोषीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शन सुरु गरे। प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बुझेका आफन्तले निर्मलाको शव बुझ्न मानेनन्।

राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाको शव बुझेर आफन्तले दाहसंस्कार गरे। निर्मला हराएको रोशनीको घरबाट अनुसन्धान सुुरु गर्न उनका बुबालगायत आफन्तले गरेको आग्रह प्रहरीले मानेन।

साउन ११ गतेदेखि सुरु भएर एक साता रोकिएको प्रदर्शन साउनको तेस्रो साताबाट जारी रह्यो। मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९ धर्मभक्त टोलका दिलिपसिंह बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गरेपछि स्थानीय थप आक्रोशित भए। प्रहरीले निर्मलाका बुवालाई समेत उखुबारीमा लगी दिलिपको कमिजको टुक्रा भन्दै जमिनबाट कपडाको टुक्रा टिपेर देखाए। दिलिपको घरमा नास्पाती किन्ने निहुँमा गएका प्रहरीले दिलिपको कमिजको गोजी च्यातेर उखुबारीमा फालेको भन्दै स्थानीय थप आक्रोशित भए। भदौ ५ गतेदेखि स्थानीय आन्दोलित भए। आन्दोलन चर्कंदै जाँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भयो, कयौं घाइते भए।

भदौ ७ गते सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन ग-यो। समितिको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको भन्दै प्रहरीलाई दोषी देखाइयो।

प्रहरीले एआइजी धिरु बस्न्यातको संयोजकत्वमा प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानबिन टोली गठन ग-यो। उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठीलगायत ६ जना प्रहरीलाई निलम्बन गरियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठजना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलिपका दाजु खड्क बिष्टले भाइलाई यातना दिएको भन्दै चारजना प्रहरीविरुद्ध उजुरी दिए। ती सबै धरौटीमा छाडिए।

निर्मलाका आमाबुवासहित आफन्त कात्तिक २५ देखि फागुन १० गतेसम्म जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसेका थिए। धर्नाकै क्रममा बुवा यज्ञराजलाई मानसिक समस्या देखिएको थियो।

प्रकाशित: १० श्रावण २०७६ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App