४ वैशाख २०८१ मंगलबार
समाज

दर्जनौं बस्ती जोखिममा

गढीमाई नगरपालिका ३ लक्ष्मीपुरनजिक बाग्मतीको बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा जोखिममा परेको बस्ती। तस्बिर: मदन/नागरिक

रौतहट - असार अन्तिम साता बाग्मती र लालबकैया नदीमा आएको बाढीले बगाएको तटबन्ध मर्मत नहुँदा रौतहटका दर्जनौं बस्तीका लाखौं नागरिक डरैडरमा बाँच्न बाँच्न बाध्य छन्। जिल्लाका दुई ठूला नदी बाग्मती र लालबकैयामा आएको बाढीले भत्काएको तटबन्ध अहिलेसम्म मर्मत नहुँदा सदरमुकाम गौरसहित करिब आधा दर्जन स्थानीय तहका दर्जनौं गाउँ बाढीको जोखिममा छन्।

गत असार २७ गते बाग्मती र लालबकैया नदीमा आएको बाढी विभिन्न ११ स्थानमा तटबन्ध भत्काएर बस्तीमा पसेको थियो। बाढीमा डुबेर १६ जनाको ज्यान गएको थियो। बेपत्ता दुईजना अवस्था अझै पत्ता लागेको छैन। बाढीले करिब ७० हजार घर प्रभावित भएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाको कार्यालयले जनाएको छ।

पछिल्लोपटक जिल्लाका विभिन्न स्थानीय तहले नदीबाट बालुवा, गिटी झिक्न ठेक्का लगाएका थिए। स्थानीय तहबाट ठेक्का पाएका कम्पनीले नदीमा जथाभावी मेसिन प्रयोग गरेर उत्खनन गरेका कारण बाढीले तटबन्धमा क्षति पु¥याएको हो। वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार नहुँदा र खोला दोहन थपिँदा बाढी बस्तीमा पसेको स्थानीय बताउँछन्।

वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार नहुँदा र खोला दोहन थपिँदा बाढी बस्तीमा पसेको स्थानीय बताउँछन्।

गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा एक सय मिटर र राजदेवी नगरपालिकाको ब्रह्मपुरीनजिक करिब ६० मिटर तटबन्ध भत्काएपछि जोखिम निकै बढेको छ। गढीमाई, माधवनारायण र गौर नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिकाका हजारौं नागरिक तटबन्ध मर्मत नहुँदा बाढीको जोखिममा रहेको दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुणकुमार साहले बताए। ‘अझै दुई महिना बाढीको खतरा छ’, साहले भने, ‘असार अन्तिममै ठूलो बाढी आएर तटबन्ध भत्काएपछि खोलाको मुख खुलेकाले अब आउने बाढी सीधै गाउँमा पस्छ। यसबाट हजारौं मानिस उच्च जोखिममा जीवन यापन गर्न बाध्य छन्।’

बाढीले लालबकैया नदीको कटहरियामा २ सय ५५ मिटर, देवाहीमा एक सय ३५ मिटर, बुनियादमा ३३ मिटर, लक्ष्मीनियामा ४० मिटर, करुनियामा ४५ मिटर, राजपुरमा ५५ मिटर र लग्मिपुरमा ४५ मिटर बाँध भत्काएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवले बताए। बाढीले भत्काएको संरचना मर्मत गर्न गत वर्ष भारतले १४ करोड रुपैयाँ उपलब्ध गराएको थियो। सो रकमले २०७४ सालमा बाढीले भत्काएको तटबन्ध मर्मत गरेको श्रीवास्तवले बताए। यसपालि बाढीले भत्काएको र नदीले कटान गरेको ठाउँमा मर्मत सम्भारको काम भइरहेको उनले जानकारी दिए। बाढीले बगाएको बाँध मर्मत गर्न सरकार र भारतीय पक्षसँग कुरा गरिरहेको उनले बताए। ती नदीमा भारतीय सहयोगमै तटबन्ध निर्माण गरिएको हो।

आयोजना प्रमुख श्रीवास्तवले भने, ‘भारतीय पक्षले केही स्थानमा मर्मतका लागि सहमति जनाएको छ। तर अन्य स्थानका जनतालाई पनि जोखिमपूर्ण अवस्थाबाट बचाउन केन्द्र सरकारले भारत सरकारसँग अविलम्ब कुरा गर्नुपर्छ।’

प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढीबाट लालबकैया र बाग्मती नदीमा भत्केको संरचना निर्माण गर्न नदी नियन्त्रण आयोजनाका कार्यालय प्रमुखलाई निर्देशन दिएको बताए।

बाढी घटे पनि कटान तीव्र

बाग्मती र लालबकैया नदीमा बाढी घटे पनि किनारको जमिन कटान तीव्र बनेको छ। बाग्मती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरीलगायतका स्थानमा कटान गरिरहेको छ। नदीले खेतीयोग्य जमिन कटान गरेको सम्बन्धित स्थानीय तहका प्रमुखले बताएका छन्। ब्रह्मपुरीका समाजसेवी नविन सिंहका अनुसार बाग्मती नदीमा पानीको सतह घटेपछि खेतीयोग्य जमिन कटान गरेर करिब सय मिटर तटबन्ध नै कटान गरेको बताए। राजदेवी नगरपालिकाको सहयोगमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा कटान नियन्त्रणको काम भइरहेको उनले जानकारी दिए।

लालबकैयाको कटानले देवाही, करुनिया, जिगडवा बेलबिछवा, बैरिया बलुवा र बन्जरहा बस्ती जोखिममा छन्। नदीले तटबन्ध कटान गरी बस्तीमा बाढी पसेर बगाउन थालेपछि नेपाल सरकारले उक्त गाविसलाई सुरक्षित राख्न ठोस उपाय निकाल्न नसक्दा सर्वसाधारण डराएर बाँच्न बाध्य भएको देवाही गाविसका विनोद पटेलले बताए। उनका अनुसार बाढीले देवाहीनजिक लालबकैयाले सवा सय मिटर बाँध कटान गर्दा सात गाविस डुबानमा पर्ने खतरा निम्तिएको छ।

खुर्गा भगवती ५ का वडाध्यक्ष धर्मनाथ चौधरीले खोलामा तटबन्ध बनाउन तत्काल सरकारले ध्यान दिनुपर्ने बताए। राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले पटकपटक तटबन्ध मर्मत गर्दा पनि गुणस्तरीय हुन नसकेको बताउँदै समस्याको दीर्घकालीन समाधान आवश्यक भएकोमा जोड दिए।

प्रकाशित: ८ श्रावण २०७६ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App