८ वैशाख २०८१ शनिबार
समाज

'चुरे दोहन तुरुन्त रोक्नुपर्छ'

रौतहट - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेसलाई प्राकृतिक विपद्बाट जोगाउन चुरे दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका छन्। प्रदेश २ मा बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा सांसद महतोले चुरे दोहनकै कारण बर्सेनि मधेस बाढीको चपेटामा पर्दैआएको बताए। उनले भने, ‘चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरुन्त बन्द हुनु जरुरी छ।’ चुरे बचाउन स्थायी रूपमा समाधान खोज्नु आवश्यक रहेको भन्दै उनले चुरेमा बस्ती बसाउने र सडक निर्माण रोक्नुपर्ने बताए।

चुरे क्षेत्रे र नदीको व्यापक मात्रामा दोहान र अतिक्रमण भएको हुनाले तराईका उर्वर भूमि मरुभूमिमा परिणत हुने सम्भावना बढेको बताउँदै नेता महतोले माफियाहरूले खोलाबाट १० देखि १५ फिटसम्म मेसिन प्रयोग गरेर खोलाजन्य वस्तु निकालेर दोहन गरेका कारण वर्षायाममा बाढीको समस्या भयाभय बनेको बताउँदै उनले न्यूतम मापदण्ड बनाएर खोलाको सतहमाथि आएको बालुवा गिटी मात्र हिउँदमा निकालेर बाढीको जोखिमलाई न्यून गराउनुपर्ने बताए।

राजपा नेता महतोले बाढी र डुबान नेपाल र भारतको साझा समस्या रहेको बताए। साझा समस्या भएकाले त्यसको समाधान पनि सामूहिक रूपमै गर्नुपर्ने जिकिर गर्दै उनले भने, ‘मधेस बर्सेनि बाढी र डुबानको चपेटामा पर्नु सरकारको लापरबाही हो, बकैया नदीको तटबन्ध बनाइयो त्यसपछि बेवारिसे छाडियो, त्यो भत्किसकेको छ तर, मर्मत संभारको कुनै चासो छैन, भत्किएको तटबन्ध भएर पानी गाउँमा नपसेर कहाँ पस्छ त ? यसको मर्मत संभारको जिम्मेवारी सरकारको होइन ?, के यो काम हाम्रो सरकारले गर्नुपर्ने होइन।’

उनले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकी नै रहेकाले प्रदेश २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको जिकिर गरे। राज्य व्यवस्था समितिका सदस्य महतोले बाढी डुबानको समस्या दुवै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनताको सामूहिक समस्या भएको हुँदा कूटनीतिक पहलबाट समस्याको हल निकाल्नुपर्नेमा जोड दिए। असार २७ र २८ गते आएको बाढीबाट अति प्रभावित बनेका रौतहट जिल्लामा भएको जनधनको क्षतिको वास्तविक अवस्थाको जानकारी, बाढीको समयमा स्थानीय प्रशासनबाट उद्धारको कार्य कसरी गराइयो, पीडित जनतालाई राहतको अवस्था के छ भन्नेबारे वास्तविक तथ्यांक संकलन गर्न आएको उनले बताए।

विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारीमा निकै कमी रहेको उल्लेख गर्दै उद्धारमा प्रयोग हुने डुंगाको चरम अभाव देखिएको, बागमती र लाल बकैयाको बाँध भारतीय सरकारबाट निर्माण भए पनि सोको मर्मत नहुँदा बाढी र डुबानबाट जनताले अनाहकमा ज्यान गुमाउनु परेको तथा ठूलो जनधनको क्षति बेहोर्नु परेको महतोको कथन थियो। जल्ला विपद् व्यवस्थापन समितिको खातामा १७ करोड रकम रहे पनि राहत तथा उद्धारको कार्यमा खर्च नगरी त्यसै थन्किदा बाढी प्रभावित थप पीडामा परेको नेता महतोले बताए। संघिय सरकारबाट राहतको प्याकेज आउला भन्दै कुरेर बसेका बाढीपीडितको अवस्था दयनीय रहेको महतोले बताए।

राज्य व्यवस्था टोलीले धनुषादेखि सुरु गरेको अनुगमन निरीक्षण अभियानअन्तर्गत रौतहट आइपुगेको सो टोलीमा सांसद रामसहाय यादव, विजय सुब्बा र महेश्वर गहतराज सहभागी छन्। निरीक्षण टोलीले बन्जरहा, फतुवा, राजदेवी, भारतीय बाँध सहितका बाढीबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका थिए।

प्रकाशित: ७ श्रावण २०७६ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App