१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

मप विश्वविद्यालय सिनेटः रजिष्ट्रारको विषय अजेण्डमै परेन

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय । तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं विश्वविद्यालय सभा (सिनेट बैठक) आइतबार प्रधानमन्त्री निवास काठमाडौंको बालुवाटारमा बस्दैछ। वार्षिक बजेट, लेखा परीक्षण प्रतिवेदन, योजना, कार्यक्रम, नीति–नियम बनाउनका लागि बस्न लागेको बैठकमा रजिष्ट्रारको टुंगो लगाउने विषयले भने प्रवेश पाएको छैन्। विश्वविद्यालयका तत्कालीन रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल निलम्विन भएको सात महिना पुग्यो। त्यसयता विश्वविद्यालय निमित्त रजिष्ट्रारको भरमा चलिरहेको छ।

सिनेट बैठकमा बजेट स्वीकृति, नीति नियम संशोधन र विविध गरेर तीन वटा अजेण्डा पेश हुँदैछन्। तत्कालीन रजिष्ट्रार मल्ललाई २०७५ मंसिर १९ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय कुलपतिको कार्यालयले कामकाज नगर्न पत्र पठाएको थियो। यससँगै उनीमाथि लागेका आरोपहरुको विषयमा छानविन गर्नका लागि विश्वविद्यालयका सिनेट सदस्य तथा राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। 

‘आइतबार बस्ने सिनेट बैठकमा रजिष्ट्रारको विषय अजेण्डामा समावेश छैन्’ निमित्त रजिष्ट्रार यामबहादुर कार्कीले भने, ‘सर्वोच्च अदालतमा मुद्धा प्रक्रियामै रहेकाले यसलाई समावेश नगरिएको हो।’ मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐनको दफा ३० को उपदफा ३ मा छानविन समितिले बुझाएको प्रतिवेदन कुलपतिले सिनेटमा पेश गर्नुपर्ने उल्लेख छ। उपदफा ४ मा सिनेटमा पेश भएको त्यस्तो प्रतिवेदनमाथि छलफलका क्रममा पदबाट हटाउने निर्णय गरिएमा कुलपतिले त्यस्तो व्यक्तिलाई हटाउन सक्ने व्यवस्था छ। सिनेट नियम संशोधनको अजेण्डा लगिएपनि रजिष्ट्रारको विषयमा भने उल्लेख छैन।

विश्वविद्यालयले सिनेट बैठकमा दुई जना नगरपालिकाका प्रमुखलाई समावेश गराउनुपर्ने उल्लेख भएपनि सिनेट सदस्यरहेका वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र बर्दियाको गुलरीया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवलाई बोलाइएको छैन। ‘तीन वर्षका लागि हामीलाई मनोनित गरिएको हो,’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सुवेदीले भने, ‘अघिल्ला दुईवटा सिनेटमा भाग लिएका थियौं, यो पटक निम्तो आएन्।’ निमित्त रजिष्ट्रार कार्कीले दुबै नगरप्रमुखको पदावधि सकिएकाले नबोलाइएको दावी गरे।

प्रकाशित: २ श्रावण २०७६ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App