१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीले बेहाल

महोत्तरी जलेश्वर–४ स्थित एक विद्यालयमा बाढीपीडित सामूहिक खाना खाँदै । तस्बिरः नागरिक

सारश्वर (सिरहा)– तीन महिनाअघि रोजगारीका लागि परदेश (पञ्जाब) पुगेका कल्याणपुर नगरपालिका–३ इटारीपर्साहीका रामभरोस कापडी सबै ठिकठाक भइदिएको भए कात्तिक महिनामा घर फर्किन्थे। तर उनी चार महिना पहिला सोमबार नै घर फर्किएका छन्। उनी यसरी अपर्झट घर फर्किनुको काण हो, कमला नदीमा आएको बाढीले मच्चाएको विनाश, जसको चपेटमा उनको छाप्रो पनि परेको छ।

आर्थिक रूपमा विपन्न कापडी परदेशको कमाइबाट परिवार धान्दै आएका छन्। ६ महिना पञ्जाबमा खटिएको आम्दानीले वर्षभरि परिवारको गुजारा चल्दै आएको छ। वर्षौं परदेशमा कमाएको आम्दानी बचत गरेर ठड्याएको कच्ची छाप्रो पनि शनिबार कमलानदीको बाढीले निलेपछि परिवारको बिचल्ली भएको कापडीले बताए।

कापडीको काँधमा चार छोरीको बिहे खर्च जुटाउने दायित्व पनि छ, त्यसमाथि फेरि घर बनाउनुपर्ने बोझ थपिएको छ। ‘घर भएपछि धेरैथोकको भर हुँदो रहेछ,’ सोमबार सारश्वरमा भेटिएका, पञ्जाबबाट घर फर्किंदै गरेका कापडीले भने, ‘अब न घर रह्यो न भर।’ पञ्जाबबाट अचानक घर फर्किनुपर्दा आम्दानी थोरै भएको उल्लेख गर्दै उनले भने, ‘यति थोरै पैसाले के छानो हाल्नु, के घर टाल्नु !’

घरमा भएको अन्नपात, लत्ताकपडा सबै बाढीले बगायो। घरपरिवार राहतमा पाएको नुन–च्युरा खाएर तीन दिनदेखि जसोतसो बाँचिरहेका छन्,’ उनले आँखा ओसिलो पार्दै भने, ‘अब कहाँबाट घर बनाउनु, कसरी छाक टार्नु।’

कापडीभन्दा कम दुखान्त छैन परमेश्वर मण्डलको। उनी पनि पञ्जाबमा कृषि मजदुरीको काम गर्छन्। वर्षौदेखि उनी पञ्जाबमै रोजगारी गर्दै परिवार पाल्दै आएका छन्। पाँच छोरी र एक छोरालाई पत्नी रामसुनैरको भरमा छोडेर उनी परदेशिएका हुन्। सुकुमबासी उनले कमाएर केही दिनपछि घर आउने र छोरी नियासको विवाह गरिदिने सोच बनाएका थिए। तर बाढीले उनको योजना भताभङ्ग बनाइदियो। ‘घरमा विपत पसेपछि पञ्जाबमा मनै थामिएन,’ मण्डलले भने, ‘खबर सुन्नेबित्तिकै रेल चढिहाले।’

शनिबार रेल चढेका उनी सोमबार भारतीय सहर जयनगर पुगेका थिए। जयनगर बजार पनि कमला नदीको बाढी पसेर जलमग्न भएकाले सवारी आवगमन अवरुद्ध छ, जसकारण उनी पैदलै घरतर्फ हिँडे। आउँदा जताततै डुबान देखेर उनी चकित परे। घरमा बालबच्चा, परिवार कसरी बाँचिरहेका होलान् भने चिन्ताले उनी होलिँदै, भिज्दै घर आइपुगे। ‘जयनगरदेखि सारश्वरसम्म कतै सुखा बाटो भेटिएन, बाढीमा हेलिँदै यहाँसम्म आइपुगें,’ पानी–हिलोमा हिँड्दा खुट्टा सुनिएका उनले नागरिकसँग भने, ‘५० वर्षको उमेरमा यतिको कष्टकर यात्रा अहिलेसम्म गरेको थिइनँ।’

शनिबार कमला नदीमा आएको बाढीले तटबन्ध भत्काउँदा कल्याणपुर नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिकाका धेरै वडाहरू डुबे। प्रारम्भिक अनुमानअनुसार पाँच हजारभन्दा बढी घर डुबानमा परेका छन्। सिरहा नगरपालिकामा दुई सय ३१ घर, कल्याणपुर नगरपालिकामा ५० घर, कर्जन्हा नगरपालिकामा ६० घर लहान नगरपालिकामा ६, मिर्चैयामा ६, धनगढीमाईमा एक गरी एक हजार ५२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सिरहा, कल्याणपुर, कर्जन्हाबाट दुईहजार एक सय ९३ जना बाढीपीडितलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। उद्धार गरिएका बाढीपीडितलाई, सारश्वरनाथ मावि, गम्हरियास्थित विद्यालय, बन्दीपुरस्थित फूलकुमारी मावि, मिर्चैयास्थित मोहन माविलगायत सुरक्षित स्थानमा राखिएको छ भने कर्जन्हा, सिरहा र कल्याणपुर नगरपालिका र सम्बन्धित वडा कार्यालयको समन्वयमा खानाको व्यवस्था गरिएको छ।

बाडीपीडितहरूलाई तत्काल राहतका सामग्री आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। स्थानीय स्तरमा समन्वय गरी राहत त पु¥याइरहेका छौं तर आवश्यकता अनुरूपको राहत अझै पर्याप्त नरहेको उनले बताए। प्रदेश सरकार र संघीय सरकारबाट त्रिपाल पठाइएको छ। प्राप्त हुनासाथ वितरणका कार्य तदारुकताका साथ अघि बढ्ने उनले बताए।

सुकुमबासीलाई बाढी पिरलो

कमलानदीको पूर्वी सिँचाइ नहर प्रणाली र कमला नदीको बीचमा लहरै छाप्रोहरू छन्। पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टि गहिरो सार्वजनिक जग्गामा रहेको एउटा छाप्रोमा उद्ध्व राईको सातजनाको परिवार बस्दै आएका छन्। २०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट विस्थापित भएर पूर्व–पश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमला नदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उनी परिवारसहित सडकमा आएका छन्।

यस सुकुमबासी बस्तीका लागि प्रत्येक वर्षायाम पीडादायक बन्ने गर्छ। यसपटक त घर छोडेर सडकमा बास बस्नुप¥यो। ‘घरमा रहेका खाद्यान्न, लत्ताकपडा कमलामाईको भेलले निल्यो,’ उद्ध्वले नागरिकसँग भने, ‘भाँडाकुँडा जसोतसो जोगायौं। पकाउने भाँडा त छ अन्न छैन।’ पाँचजना बालबच्चासहित खुला आकासमुनिको बास असुरक्षित त छँदै छ, आकाशबाट निरन्तर परिरहेको पानीले जीवनयापनको समस्या पनि थपिएको छ।

राई मात्र होइन ५५ वर्षीया दसनी सदायको पीडा पनि कम्ती कष्टकर छैन। पोहोरको जस्तै बाढी होला, पश्चिमबाट आएर पूर्वतर्फ बगेर गइहाल्छ भन्ने सोचेर बाढी आएरको हेरेर छाप्रोमा नै बसिरहेकी दसनीले सोचेभन्दा फरक भयो शनिबारको घटना। ‘देखते–देखते खरके घर कमलामाईमे बिला गेलै (हेर्दाहेर्दै फुसको छाप्रो कमलामाईले निल्यो)’ दसनीले भनिन्, ‘ने घर रहलै ने अनाज (न घर रह्यो न खाद्यान्न)।’

यही बस्तीकी विमला राई परिवारको घर बाढीको डुबाएकाले भएका सबै खाद्यान्न बाढीको लेदो–पानीमा सरावरी भए। ‘एकातिर घर कामलाग्ने अवस्थामा छैन,’ राईले भनिन्, ‘अर्कोतिर खान–लाउन बिजोग छ।’

राई र सदाय त कमलानदीको बाढीबाट पिरोलिने प्रतिनिधि पात्रमात्र हुन्। कमलानदीको बाढीको पीडाबाट बस्तीका ५० घरका दुई सयजनाभन्दा बढी प्रभावित भएका छन्। २० जनाभन्दा बढीको घर कामै नलाग्ने गरी भत्किएको छ। ४० भन्दा बढी परिवार विस्थापित छन्। यस बस्तीका अधिकतर मानिस २०४१ सालमा बाढी–पहिरोका कारण विस्थापित भएर खोटाङबाट यहाँ आएका हुन्।

सुकुमबासी बस्तीका बाढीपीडितलाई कर्जन्हा नगरपालिका–३ सुन्दरपुर (बन्दीपुर) का वडाका अध्यक्ष कप्लेश्वर यादवले ओत लाग्न प्लास्टिकको पाल दिएका छन्। ‘हामीले बाढीपीडित सबैका लागि फूलकुमारी माविमा खाना खुवाउने व्यवस्था मिलाएका छौं,’ कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले भने।

यसैगरी, अविरल वर्षाका कारण आएको बाढीमा पर्साका नौ सय ९१ घर डुबानमा परेका छन्। घरमा पानी पसेपछि दुई हजार पाँच सय १३ परिवार अन्यत्र विस्थापित भएका छन् भने एकजना बालक बेपत्ता छन्। ‘विस्थापित हुनेमा नौ सय ६० पुरुष, आठ सय ९३ महिला र छ सय ६० बालबालिका रहेका छन्,’ पर्साका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टराईले भने, ‘नौ सय ९१ घरमा बाढीको पानी पसेको तथ्यांक आएको छ।’
(रितेश त्रिपाठी/वीरगन्ज, महेशकुमार दास/महोत्तरी)

प्रकाशित: ३१ असार २०७६ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App