सोलुखुम्बु – लगातारको वर्षासँगै सोलुखुम्बुको सल्लेरीमा पुरानो घर भत्किँदा लाखौंको क्षति भएको छ । बिहीबार स्थानीय दावा फिन्जो शेर्पाको घर भत्किँदा सञ्चालित सुमन भाँडा पसलका सामान पुरिएको छ । भग्नावशेषले सामग्री पुरेकाले क्षतिको विवरण तत्काल निकाल्न कठिन भएको प्रहरीले जनाएको छ ।
घर भत्किन सुरु भएपछि सुरक्षाका लागि आएका सशस्त्र प्रहरीका सहायक हवलदार प्रकाश नेपाली घाइते भएका छन् । तल्लो भागमा रहेका सहायक हवलदार नेपाली घर भत्किँदा अताल्लिएर भाग्ने क्रममा लडेर घाइते भएका हुन् । लडेपछि बेहोस बनेका नेपालीको खुट्टाको हड्डी चर्किएको चिकित्सकले बताएका छन् । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।
प्रकाशित: २७ असार २०७६ ०२:१२ शुक्रबार