१५ चैत्र २०८० बिहीबार
समाज

भवन जीर्ण बन्दा पठनपाठन प्रभावित

रसुवा -  कालिका गाउँपालिका–५ का महेन्द्र तामाङ जीवजीवेस्थित नीलकण्ठ नमुना मावि कक्षा १२ मा पढ्छन्। गाउँबाट आधा घण्टा हिँडेर पुगिने सो विद्यालयमा उनी कक्षा ६ देखि पढ्न थालेका हुन्। चार वर्षअघिसम्म विद्यालयको भौतिक संरचना राम्रो थियो। पढ्न कक्षाकोठाको अभाव थिएन। २०७२ सालको भूकम्पले विद्यालय पूर्ण रूपमा क्षति भएपछि पठनपाठन प्रभावित बन्न पुगेको छ। ‘पहिले विद्यालयमा पढ्ने वातावरण राम्रो थियो,’ तामाङले भने, ‘अहिले अर्को कक्षामा पढाइ हुँदा सुनिने आवाजले पढाइमा समस्या हुन्छ।’

यो विद्यालयमा अहिले चार सय आठजना विद्यार्थी छन्। कक्षा ११ मा यो वर्ष पनि सयजनाको हाराहारीमा विद्यार्थी थपिने अनुमान छ। तर कक्षा ११ अध्ययनका लागि भने कक्षाकोठाको अभाव छ। कक्षाकोठाको अभावमा पढाइ प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक (प्रअ) नारायणप्रसाद देवकोटाले बताए। ‘एउटा कक्षामा पढाइ हुँदा अर्को कक्षाको पढाइ प्रभावित हुन्छ,’ उनले भने, ‘कक्षाकोठाको अभावमा सेक्सन छुट्याउन सकिएको छैन।’

 

अझै कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थी कहाँ राख्ने भन्ने समस्या छ । घाम नचर्किए र पानी नदर्किए चौरमा राखेर पढाउने योजना बनाएको विद्यालयले बताएको छ ।

अझै कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थी कहाँ राख्ने विद्यालयलाई समस्या छ। घाम नचर्किए र पानी नदर्किए चौरमा राखेर पढाउने विद्यालयको योजना छ। घामपानीले दुःख दियो भने पढाइ प्रभावित हुने निश्चित छ। जिल्लाका मावि तह सञ्चालित २३ मध्ये यो विद्यालय विद्यार्थीको चाप हुने विद्यालय हो। गत वर्ष विद्यालयमा पाँच सय १७ विद्यार्थी रहेका थिए।

चीन सरकारले भवन बनाउने आशामा बसेको विद्यालय भूकम्पले ढल्यो। भूकम्पले विद्यालय भवन मात्रै होइन, पढ्ने वातावरण पनि लथालिंग बनाइदियो। भवन भत्किएपछि लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज ल्याकोसको सहयोगमा अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण गरिएको विद्यालयले जनाएको छ। टिएलसी जीर्ण बनेपछि अहिले विद्यालय समस्यामा छ। भवन त निर्माण सुरु भएको छ तर यो पनि दसैंअगाडि पूरा हुन नसक्ने विद्यालयले जनाएको छ।
सम्झौताका नमुना भवन पनि अन्योलमा

२०६८ सालमा चीनसँग सीमा जोडिएका १० जिल्लाका १० नमुना विद्यालय भवन निर्माण गर्न नेपाल र चीनबीच सम्झौता भएको थियो । छात्रावास तथा ३० ओटा कोठा निर्माण गर्ने तयारी थियो। २०६८ सालमा चिनियाँ टोली आएर विद्यालयको नापजाँच र माटो परीक्षणसमेत गरेको थियो । सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि चीन सरकारले विद्यालय भवन निर्माणको काम सुरु गरेको छैन। सम्झौता भइसकेकाले अर्को निकायबाट स्थायी भवन निर्माण गर्न नसकिएको विद्यालयले जनाएको छ। यसका लागि दुई देशबीचको सो सम्झौता भंग गर्नुपर्ने हुन्छ। लामो समयसम्म निर्माणको काम सुरु नभएपछि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट भवन निर्माण प्रक्रिया अघि बढाउन लागिएको थियो। शिक्षाबाट नयाँ भवन निर्माण गर्न लाग्दा अर्थ मन्त्रालयको वैदेशिक शाखाले प्रक्रिया अगाडि बढाउन दिएन। यसका लागि संविधान सभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोली डेलिकेसनका लागि अर्थ मन्त्रालय पुगेको थियो।

अर्धस्थायी भवन निर्माण गरिँदै
गरिएका पहल विफल भएपछि विद्यालयले अर्धस्थायी भवन निर्माण सुरु गरेको छ। गाउँपालिकासँगको समन्वयमा भवन निर्माण सुरु गरिएको हो। अहिले निर्माण भइरहेका भवनमा ६ ओटा कोठा हुनेछन्। यसको लागत ६० लाख रुपैयाँ रहेको छ। यो भवन बन्दा पनि चारओटा कोठा पुग्दैन।

‘अहिले बनाउन लागिएको भवनमा पनि पर्याप्त कक्षाकोठा छैनन्,’ प्रधानाध्यापक देवकोटाले भने, त्यो पनि दसैंअगाडि सकिने अवस्था छैन।’ अर्धस्थायी भवन निर्माणका लागि अनुमति नदिँदा धेरै सास्ती खेप्नु परेको थियो। गाउँपालिकाले भवन निर्माणका लागि समन्वय गर्ने काम गरिरहेको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए। ‘हामीले अर्धस्थायी भवन निर्माणका लागि सहमति दिएका छौं,’ उनले भने, ‘साप्ताहिक रूपमा अनुमगन पनि गरिरहेका छौं।’

भूकम्पपछि दुई विद्यालयको सर्भे
भूकम्पले क्षति पुगेका दुईओटा विद्यालय निर्माणको जिम्मेवारी पाएको चिनियाँ दूतावासले चार वर्षमा सर्भे मात्रै गर्न सकेको छ। तर सर्भे गर्ने क्रममा पनि यो विद्यालय पर्न सकेन। कारण थियो, भूकम्प जानुपूर्व नै सम्झौता हुनु। जिल्लामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे भएको हो। तर यी दुवै विद्यालयको पनि निर्माण प्रक्रिया सुरु भएको छैन।

चीन सरकारले जिम्मेवारी लिएका तीनओटै विद्यालयको पुनर्निर्माण हुन नसकेको शिक्षा विकास तथा कार्यान्वयन इकाइ रसुवाका प्रमुख बालकृष्ण सिम्खडाले बताए। ‘यहाँबाट हामीले केही गर्नसक्ने अवस्था छैन,’ उनले भने, ‘समन्वय गर्ने काम गरिरहेका छौं।’

भूकम्पका कारण जिल्लाका ९७ विद्यालयमध्ये ९१ ओटा विद्यालयमा पूर्ण क्षति भएको थियो। जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) रसुवाले आव २०७३÷७४ मा १९, आव २०७४÷७५ मा १२ र चालू आवमा १९ ओटा विद्यालय निर्माण गरेको छ। यी विद्यालय निर्माणका लागि १८ करोड ५२ लाख १५ हजार पाँच सय ६५ रुपयाँ बजेट आएको थियो। जसमा १३ करोड ५५ लाख २६ हजार तीन सय ३२ रुपयाँ खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) रसुवाले जानकारी दिएको छ।
क्याप्सन

कालिका गाउँपालिका–५ जीवजीवेस्थित नीलकण्ठ नमुना माविको अस्थायी सिकाइ केन्द्र
तस्बिर ः नागरिक

प्रकाशित: २२ असार २०७६ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App