१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

थापा–ठाकुरको ‘याराना’

कहिले कालिञ्चोकको चिसो कथा, कहिले रौतहटको गर्मीलो कहानी। कहिले सिरसिरे बतासको बयान, कहिले लु (तातो हावा)को व्यथा। कागेश्वरी मनोहरा–७ स्थित गोदार गाउँमा दुई ज्येष्ठ नागरिकले आ–आफ्नो क्षेत्रको वर्णन गर्दा मनोहरा फाँट नजिकैको यो काठ क्षेत्र पहाड र तराईको सुन्दर संगमजस्तै लाग्छ।    दोलखा, कालिञ्चोकका ८३ वर्षीय कृष्णबहादुर थापा र रौतहट, देवाहीका ७५ वर्षीय सत्यदेव ठाकुरको आफ्नै लवजका कुराकानीले पनि धेरैको ध्यान खिच्छ। भोजपुरीमा नेपाली लवज मिलाउँदै ठाकुरले बोलेका कुरा र नेपालीमा हिन्दी लवज मिसाउँदै थापाले बोलेका कुरा सुन्दा निकै आकर्षक लाग्छ।

बढ्दो सहरीकरणसँगै काठ क्षेत्रमा तराई तथा पहाडबाट आएका पाहुनाले बसोबास गर्ने क्रम बढेको छ। आपसी घुलमिल र कुराकानीले उनीहरूबीचको सम्बन्ध मधुर बन्दैछ। 

त्योभन्दा आकर्षक छ उनीहरूको जीवन कथा। थापा सात वर्षदेखि काठमाडौंको कागेश्वरी मनोहरा–७ स्थित छोराको घरमा बस्दै आएका छन्। त्यही टोलमा विगत एक वर्षदेखि ठाकुर बस्दै आएका छन्। उनीहरू एक–अर्र्काको घर नजिक पुग्छन् र एक–अर्काको जीवन कथा एक आपसमा सुनाउँदै दिन बिताउँछन्। खेती–किसानीमा व्यस्त रहने थापा जवानीको समयमा एक पटक भारतको सिलुगढी पुगेको सुनाउँछन्। त्यहाँ उनले ३ वर्ष बिताए। ठाकुर पनि विगतमा राजधानी आएका रहेछन्। यहाँ उनले केही समय बिताए। त्यसैले बात मार्ने कुराको उनीहरूमा कमी छैन।

थापासँग पहाडका डाँडामा हलो जोतेको अनुभव छ। ठाकुरसँग तराईको समथर फाँटमा हलो जोतेको कथा छ। दुवैले आ–आफ्नो क्षेत्रमा पसिना बगाएका छन्। तर, यसअघिसम्म न थापाको कुनै तराईवासीसँग यस्तो मित्रता थियो न त ठाकुरले आफ्नो कुरा मिल्ने थापाजस्तो साथी पाएका थिए।सत्यदेवलाई भेटेपछि तराईका मान्छेप्रति विगतमा भएको आफ्नो सोचाईमा परिवर्तन भएको थापा सुनाउँछन्। ‘उहाँले खेतीपाती र समाजको कुरासँगै धर्मका कुरा समेत निकै राम्रोसँग गर्नुहुन्छ,’ उनले भने, ‘उहाँको कुरा सुन्दा मात्र पनि खुसी मिल्छ।’ उनीसँगै सिंगो तराईलाई बुझ्ने अवसर मिलेको उनले बताए। तराईका मानिसको दैनिकी, चाडपर्व, दुःख–व्यथा सबै बुझ्ने मौका मिलेको उनको बुझाइ छ।

थापासँग पहाडका डाँडामा हलो चलाएको  अनुभव छ। ठाकुरसँग तराईको समथर फाँटमा हलो जोतेको कथा छ। दुवैले आ–आफ्नो क्षेत्रमा पसिना बगाएका छन्। तर, यसअघिसम्म न त थापाको कुनै तराईबासीसँग यस्तो मित्रता थियो न त ठाकुरले आफ्नो कुरा मिल्ने थापाजस्ता साथी पाएका थिए।

ठाकुर पनि खुसी छन् थापासँग कुरा गर्न पाएकोमा। ‘उहाँ हामीले बोलेको कुरा ध्यान दिएर सुन्नुहुन्छ,’ उनले भने, ‘वश यतिले पनि निकै खुसी मिल्दो रहेछ।’ दुवैको जीवन संघर्षमा बितेकाले मन पनि मिलेको उनको बुझाइ छ। ‘हामी फरक ठाउँको भए पनि कथा उस्तै रहेछ,’ उनले भने, ‘त्यसैले हामी हरेक बिहान एक–अर्काका कुरा सुन्दै आएका छौ।

उनीहरुको मित्रताले परिवारलाई पनि खुसी दिएको छ। चन्दबहादुरका छोरा कृष्णबहादुर बुबाले एक आपसमा कुरा गरेको देख्दा खुसी मिल्ने सुनाउँछन्। ‘बुबासँग बसे पनि ठाकुर आफ्नै मान्छेजस्तो लाग्छ,’ उनले भने, ‘हामी दुवैलाई उतिकै सम्मान गर्छाैं।’ यस्तै सोचाइ छ, ठाकुरको घरमा पनि। ठाकुरकी धर्मपत्नी धर्कनीयादेवी दुवै जना बसेर कुराकानी गरेको देख्दा खुसी मिल्ने सुनाउँछिन्। ‘नेपाली राम्रोसँग बोल्न त आउँदैन। तर, उहाँहरूको कुरा हामीलाई राम्रो लाग्छ,’ धर्कनियाले भनिन्, ‘उहाँ हाम्रो घरमा आउँदा निकै खुसी लाग्छ।’

उनीहरूको नजिकै अर्को घरको कहानी पनि उस्तै छ। रौतहटबाटै अएका दिनेश ठाकुर विगत ...  वर्षदेखि कमल लामिछानेको घरमा डेरामा बसिरहेका छन्। उनीहरूको त एक–आपसमा राम्रो मिल्ती छँदैछ। त्योभन्दा बढी मिल्ती छ, उनीहरूका छोरीहरू श्रृष्टी लामिछाने र निशु ठाकुरको। छठ आउँदा श्रृष्टी निशुको परिवारसंग रमाउँछिन्। दसंै–तिहारमा निशु श्रृष्टीको परिवारमा घुलमिल हुन्छिन्।

‘छोरीहरू मिलेको देख्दा आफ्नै ठाउँमा बसेको जस्तो लाग्छ,’ दिनेशले भने, ‘हामीले घर छाडेर आए पनि नयाँ ठाउँको समस्या भोग्नु परेको छैन।’ छठको समयमा ठेकुवा र तिहारको समय सेल दुवैको स्वाद दुवै परिवारले चाख्ने गरेको उनले सुनाए।

पछिल्लो समय राजधानीका काठ क्षेत्रमा सद्भावका यस्ता थुप्रै उदाहरण भेटिन्छन्। बढ्दो सहरीकरणसँगै काठ क्षेत्रका घरमा तराई तथा पहाडबााट आएका पाहुनाले बसोबास गर्ने क्रम बढेको छ। उनीहरूबीच आपसी सद्भाव बढ्दो छ।  पशुपतिको गु्ह्येश्वरीस्थित बाग्मती किनारमा छठमा देखिने आपसी मेलले उपत्यकामा फरक समुदायका मानिस कसरी घुलमिल हुँदैछन् भन्ने देखाउँछ। बाग्मती नदीले पहाड र तराई जोडेजस्तै  नदी किनारमा पहाडी तथा मधेसी समुदायका मानिस एकैस्थानमा भेला भएर छठी माताको पूजामा सहभागीतासँगै हजारौं सर्वसाधारणको मन जोडेको छ।

प्रकाशित: २१ असार २०७६ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App