१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘घरबारबिहीनलाई तत्काल बसोबासको व्यवस्था गर्’

बुटवल– सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नाममा बुटवल नगरपालिकाले घरबारबिहीन बनाएका नागरिकलाई तत्काल उचित बसोबासको व्यवस्था गर्न बुटवलमा क्रियाशील ११ वटा दलले नगरपालिकासँग माग गरेका छन्।

नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायतका ११ वटा दलको आज बुटवलमा बसेको संयुक्त बैठकले नगरप्रमुखकै नेतृत्वमा घरबार बिहिन बनाइएका १६ परिवारलाई नगरपालिकाभित्रै प्रतिपरिवार दश धुरका दरले जग्गा उपलब्ध गराइ पुनस्र्थापना गर्न माग गरेका हुन्।

नगरबासीको गाँसबासको सुरक्षा गर्नुपर्ने नगरप्रमुखको दायित्वलाइ बिर्सेर मेयर  शिवराज सुवेदीले वर्षौदेखि बस्दै आएका गरिब र विपन्न नागरिकको बस्तीमा एकाएक डोजर चलाउनु निन्दनीय कार्य भएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन्। 

संविधानको धारा ३५,३६ र ३७ को उल्लंघन गरेको आरोप लगाउँदै उनीहरुले संविधानको पालना गर्न मेयर सुवेदीलाई आग्रह पनि गरेका छन्। कांग्रेस नगरसभापती खेलराज पाण्डे, जनमुक्तिका थर्कबहादुर बाह्रघरे मगर, समाजवादी पार्टी नेपालका अशोक बर्मा, वामदेव भुसाल, राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका निरज प्रताप खाँण, राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापालगायत सहभागी संयुक्त बैठकले नगरपालिकाले घरबास खोसेर सडकमा पुराइएका विपन्न परिवारलाई तत्काल उचित पुनस्र्थापना गर्न माग गरेका हुन्। 

तीन साताअघि बुटवल उपमहानगरले बुटवल १ को जामे मस्जिद अगाडी बस्दै आएका १६ घरपरिवारका गरिब र बिपन्न नागरिकका झुपडी घरमा डोजर लगाएर भत्काइदिएको थियो। घरबार बिहिन भएका पीडितहरुको अहिले सडकको बास भएको छ। २१ दिन देखि उनीहरु रिले अनसनमा बसीरहेका छन्। तर नगरपालिकाले उनीहको मागका सम्बन्धमा कुनै चासो दिएको छैनन्। आफैले सडकको बास बनाएका नागरिकप्रति नगरपालिकाले न्युनतम मानविय व्यवहारसमेत नदेखाएको भन्दै त्यसको सर्वत्र आलोचना भएको छ।

प्रकाशित: १८ असार २०७६ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App