१६ चैत्र २०८० शुक्रबार
समाज

प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन्। उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो। गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन। माक्स लगाएर हिँड्नुपर्दैन। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे। अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन्।’ प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए।

प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुवाँ र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नपर्ने अवस्था छैन्। तर, यथार्थ भने ठीक उल्टो छ। प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ। सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन्। जोरपाटी, बौद्ध, चाबहिल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, थानकोटलगायत सडकमा हिँड्दा वायु र धुलो–धुवाँजन्य प्रदूषणबाट बच्न माक्स लगाएर हिँड्नपर्छ। प्रधानमन्त्रीले वास्तविकताभन्दा टाढा गएर भाषण गरेको भन्दै सर्वसाधारण एकै स्वरमा भन्छन, ‘माक्सबिना त सडकमा हिँड्नै सकिँदैन।’

माक्स लगाएर बौद्धस्थित सडकमा हिँडिरहेका कपनका गोपाल तामाङले अचाक्ली धुवाँ–धुलोका कारण जनस्वास्थ्यमा असर परेको बताए। उनले धुलो–धुवाँबाट हल्का बच्न माक्स लगाएर हिँड्नुबाहेक विकल्प नभएको बताए। उनले भने, ‘बौद्ध–जोरपाटी सडकमा धुलोले मान्छे देखिँदैन। माक्सबिना घरबाहिर निस्कनै सकिँदैन। धुलोबाट बच्न दैनिक माक्स लगाउँछु। माक्सबिना हिँड्न त सडक धुवाँ–धुलोमुक्त हुनुपर्छ नि।’

धेरै चहलपहल हुने सुन्धारामा मास्क लगाएर हिँडिरहेका चाबहिलका भुवन दाहालले उपत्यकामा धुवाँ र धुलोका कारण माक्स र चश्माबिनाको यात्रा कल्पना पनि गर्न नसकिने बताए।

उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। ‘प्रधानमन्त्रीले अहिले सडकमा सर्वसाधारण माक्सबिना हिड्छन् भन्नुभएको छ। उहाँको यो भनाइ लज्जास्पद छ,’ बाटोमा माक्स लगाएर हिँडिरहेका अन्य मानिसलाई देखाउँदै उनले भने, ‘सडममा हेर्नुस्, कहाँ माक्सबिना सर्वसाधारण हिँडेका छन्। सबैले माक्स लगाएका छन्।’ उनका अनुसार बौद्ध–जोरपाटी सडकमा धुलोले गर्दा दिनमै अन्धकारमा हिँडेजस्तो हुन्छ। बिग्रेको सडक अहिलेसम्म पिच हुन सकेको छैन। धुलोबाट बच्न सर्वसाधारण माक्स लगाउन बाध्य छन्।

माक्स लगाइरहेको अवस्थामा चाबहिल चोकमा भेटिएका कपनकै सुगम भुजेलले सडकको धुलोले स्वास्थ्यमा असर पु¥याउने भएकाले बच्न माक्स लगाएर हिँड्ने गरेको बताए। ‘धुवाँ–धुलोले फोक्सोमा असर गर्छ। स्वास्प्रश्वासमा समस्या आउँछ,’ उनले भने, ‘रोगबाट बच्न माक्स लगाउँछु। सडकमा हिँड्ने सबैले नाक–मुख छेक्न माक्स लगाएको देख्छु। माक्स नलगाईकन हिँड्न त सहर स्वाच्छ र हरियाली हुनुप¥यो नि। प्रधानमन्त्री यथार्थभन्दा बाहिर गएर बोल्नुभयो।’

उपत्यकामा माक्सबिना हिँड्न सरकारले सबै सडक पिच गर्नुपर्ने, सडकमा जम्मा हुने धुलो दैनिक तह लगाउनुपर्ने र धुवाँ फाल्ने थोत्रा गाडी चल्न रोक लगाउनुपर्ने उनले बताए। उपत्यकामा जताततै धुलो र धुवाँ छ। ‘प्रधानमन्त्रीले गलत कुरा गर्न सुहाउँदैन,’ उनले भने।

धेरै चहलपहल हुने सुन्धारामा मास्क लगाएर हिँडिरहेका चाबहिलका भुवन दाहालले उपत्यकामा धुवाँ र धुलोका कारण माक्स र चश्माबिनाको यात्रा कल्पना पनि गर्न नसकिने बताए। उनका अनुसार प्रधानमन्त्रीले भनेझै माक्स नलगाईकन सडकमा हिँड्न सकिँदैन। ‘काठमाडौं सहर नाम मात्रैको हो। जताततै फोहोर, धुवाँ र धुलो छ,’ उनले भने, ‘यसैले माक्सबिना बाहिर हिँड्न सकिँदैन। माथिल्लो पदमा बस्ने गाडीमा हिँड्छन् र उनीहरूले जे पनि भन्छन्।

भाषण जस्तै काम पनि गर्नु नि।’ उनका अनुसार पुराना गाडीले फाल्ने धुवाँले पनि वातावरण प्रदूषित भएको छ। त्यसैले सरकारले प्रदूषण मापदण्ड पूरा गरेका सवारीसाधन मात्रै चल्न दिनुपर्छ। वातावरण स्वाच्छ राख्न हरियाली बढाउनुपर्छ।
वातावरण विभागका अनुसार उपत्यकामा दिउँसोभन्दा बिहानपख अत्यधिक वायु प्रदूषण छ। विभागका सूचना अधिकारी शंखरप्रसाद पौडेलले पहिलेको तुलनामा अहिले सडक संरचना बनेकाले माक्स लगाउने घटेको दाबी गरे। उनका अनुसार माक्स लगाउने सर्वसाधारण घटे पनि प्रधानमन्त्रीले भने जस्तो सडकमा माक्सबिनै हिँड्न सक्ने अवस्थाचहिँ छैन।

‘उपत्यकाका धेरैजसो सडकलगायत संरचना बनिसकेकाले वायुप्रदूषण घटेको छ,’ उनले भने, ‘पहिले बाइकमा पछाडि बस्नेलेसमेत माक्स लगाउँथे, अहिले धेरैले लगाउँदैनन्। प्रधानमन्त्रीले पनि प्रदूषण घटेको आधारमा बोल्नुभएको हो।’ उनका अनुसार फोहोर, सवारीसाधनको धुवाँ र धुलोले वायुप्रदूषण हुन्छ। धुलोबाट बच्न मेडिकल माक्स (सेतो मास्क) उपयुक्त मानिन्छ। व्याट्री सिस्टमलगायत मंहगो खालको माक्स अझ धेरै उपयुक्त मानिन्छ। लुगाको माक्स भने राम्रो हुँदैन। विभागले रत्पपार्क, पुल्चोक, शंखपार्क, भैसीपाटीलगायत स्थानमा वायुको गुणस्तर नाप्ने यन्त्र जडान गरेको छ।

प्रकाशित: १८ असार २०७६ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App