१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पल्सर स्पोर्टसः युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

काठमाडाैं- पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल भएका छन्।

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम स्पर्धामा युकेशले नेपाललाई रजत पदक दिलाएका थिए। उनी एशियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँचमध्येका प्रमुख खेलाडी थिए। वर्षको उत्कृष्ट पुरुष विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, जुडोका इन्द्रबहादुर राई र गल्फका शुक्रबहादुर राई मनोनयनमा परेका थिए।

त्यस्तै वर्षको उत्कृष्ट महिला घोषित हुने फुटबलकी सावित्राले भारतमा भएको अन्तराष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन्। त्यतिबेला नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो। नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन उनको भूमिका महत्वपूर्ण थियो। उनको विधामा भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी नीमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ मनोनयनमा परेका थिए।

वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि एथलेटिक्सका अजितकुमार यादवले पाए । हङकङमा भएको तेस्रो एशियन युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा यादवले नेपाललाई  कीर्तिमानी स्वर्णपदक दिलाएका थिए।

युवा खेलाडीमा अजितसँगै ब्याडमिन्टनमा प्रिन्स दाहाल, फुटबलकी मञ्जलीकुमारी योञ्जन, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका थिए।

वर्ष २०७५ को उत्कृष्ट प्रशिक्षकको अवार्ड प्याराग्लाइडिङका योगेश भट्टराईले जित्नुभयो । विगत २० वर्षपछि नेपाललाई एशियाली खेलकूद प्रतियोगितामा रजत पदक दिलाउँदा उहाँले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनीसँगै फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्ट मनोनयनमा परेका थिए।

त्यस्तै पिपुल्स च्वाइसको अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितिन्। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा रेश्माको भूमिका महत्वपूर्ण थियो। उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्री भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयमा परेका थिए।

टिम अफ दि इयरको उपाधि प्याराग्लाइडिङको टिमले जित्यो भने पारा एथलिटको अवार्ड दृष्टिविहीन क्रिकेटर मन केसी चौधरीले जिते। त्यस्तै स्पेशल अवार्ड फुटबलका रोहित चन्दले जित्दा लाइफ टाइम एचिभमेन्टको अवार्ड एथलेटिक्सका हरिबाहदुर रोकायले जिते।

त्यसैगरी अन्तराष्ट्रिय खेलकूद पत्रकार महासङ्घ (एआईपीएस) का महासचिव अम्जद अजिज मल्लिक इन्टरनेशनल एशियन स्पोट्र्स जर्नालस्ट अवार्ड’ बाट सम्मानित थिए।

वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डको विजेताले ट्रफिसहित बजाजको पल्सर मोटरसाइकल प्राप्त गरे। त्यस्तै अन्य विधाका विजेताले भने ट्रफी र जनही रु ५० हजार प्राप्त गरे।

विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए। रासस

प्रकाशित: १७ असार २०७६ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App