भैरहवा – रोहिणी गाउँपालिकाले चालू आर्थिक वर्षमा रहेका लोकप्रिय कार्यक्रमहरूलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि थप कार्यक्रमसमेत सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष सनोजकुमार यादवका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकामा रहेका सबै वासिन्दाहरूलाई स्वास्थ्य बीमामा उत्प्रेरित गर्ने योजना रहेको बताए।
सबै घरपरिवारको बीमा गराउन गाउँपालिकाले सचेतनामूलक कार्यक्रम आयोजना गर्ने तथा एक घर एक बीमाको नीति ल्याई त्यसमा ५० प्रतिशत अनुदानसमेत प्रदान गर्ने उनले बताए। यसले बिरामी भएको समयमा पर्ने आर्थिक भारबाट गाउँपालिकावासीलाई मुक्ति दिलाउने उनले बताए।
मत्स्य पोखरी व्यवस्थित गरी माछापालक कृषकहरूलाई चालू आर्थिक वर्षमा जस्तै तालिमको व्यवस्था गरी पोखरी निर्माणमा प्रोत्साहित गर्ने गाउँपालिकाले नीति बनाएको छ। यसका लागि माछापालन गर्ने कृषकलाई प्रतिकठ्ठा १० हजार रुपैयाँ रकम उपलब्ध गराइने नीति लिइएको छ।
रोहिणी गाउँपालिकाका चौथो गाउँ सभाबाट आर्थिक वर्ष २०७५/०७६ का लागि स्वीकृत कूल बजेटबाट पाँचौ गाउँसभा उद्घाटन समारोहसम्म आइपुग्दा कूल खर्च १९ करोड २८ लाख ६५ हजार ५७ रुपैयाँ भएको यादवले जानकारी दिए।
रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३७ करोड ५७ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट छुट्याएको छ।
प्रकाशित: १७ असार २०७६ ०७:१९ मंगलबार